|

पर्वत : जिल्ला अस्पतालमा पर्वतमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएको छ। यसअघि सामान्यतः दैनिक करिब ७०/८० जना आउने गरेको अस्पतालमा पछल्लो समय २०० को हाराहारीमा बिरामी परीक्षणका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले बताउँछन्।

‘सबैभन्दा बढी एकै दिनमा करिब २०० जना स्वास्थ्य जाँच गरिएको छ‚' उपाध्ययले भने‚ 'पहिले भाइरल प्रकृतिको रोग लागेको बेलामा मात्र यतिका चाप हुन्थ्यो।’ उनका अनुसार स्वास्थ्य बिमा गरेपछि उपचारमा खर्च लाग्दैन भन्ने भएपछि सामान्य अवस्थामा पनि स्वास्थ्य परीक्षण गराउनेहरूको संख्या बढेको उनको बुझाइ छ। नागरिकहरु स्वास्थ्यप्रति सचेत बनेकामा खुसी लागेको उपाध्ययले बताए।

अस्पतालको तथ्यांकअनुसार परीक्षणमा आएका बिरामीमध्ये कम्तीमा पनि २० प्रतिशत स्वास्थ्य बिमा गराएका छन्। पर्वतमा २०७७ जेठदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो। हालसम्म करिब १० हजारजनाले स्वास्थ्य बिमा गरिसकेका छन्। गत साउनदेखि हालसम्म तीन हजार ३४८ जनाले बिमा गराइसकेका छन्।

स्वास्थ्य बिमाका गर्न एकै परिवारका बढीमा पाँचजना सदस्यका लागि वार्षिक तीन हजार ५०० रुपैयाँ दस्तुर तिर्नुपर्छ। पाँचजनाभन्दा बढी भए प्रतिव्यक्ति थप ७०० रुपैयाँ थप्नुपर्छ। बिमा गरेकाहरूको स्वास्थ्यमा समस्या आएमा बढीमा एक लाख रुपैयाँसम्मको उपचार र औषधि निःशुल्क हुन्छ। ज्येष्ठ नागरिकलाई भने बिमा निःशुल्क गरिएको छ।

अस्पतालका डा. डिबी. क्षेत्रीका अनुसार हालसम्म बिमा गरिएकामध्ये हर्नियाका आठजना र हाइड्रोसिलका दुईजनाको शल्यक्रिया गरिएको छ। यस्तै‚ ५३ जना गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालिएको छ। स्वास्थ्य बिमापछि शल्यक्रिया लगायत रगत जाँच, भिडियो एक्स-रे, इको, मुटुको एक्स-रे, टाँका लगायतका कामसहित एक हजार १३३ प्रकारका औषधिहरू पाउने भएका कारण यसमा नागरिकको आकर्षण बढेको र सोही कारण अस्पतालमा स्वास्थ्य जाँच गराउनेहरू बढेको उनको भनाइ छ।

‘सामान्य बिरामी हुँदा समेत महँगो औषधि खानुपर्ने अवस्था छ। स्वास्थ्य बिमा गरेमा सामान्य खालका शल्यक्रिया सहित त्यति धेरै प्रकारका औषधिहरूको लागि पैसा तिर्नुपर्दैन।’ डा. क्षेत्री भन्छन्, ‘बिरामी हुँदा औषधि, ल्याब टेस्ट लगायतका सेवा बिना पैसा पाइन्छ भनेपछि सामान्य स्वास्थ्य समस्या देखिँदा पनि स्वास्थ्य जाँच गर्न आउनेहरू बढ्नुभएको छ। यसले आयु बढाउँछ किनकि स्वास्थ्यमा आउन लागेको वा आएको समस्याको बारेमा समयमा नै अवगत हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.