स्वदेशका सांस्कृतिक मञ्‍चमै दिइँदैन प्राथमिकता

|

काठमाडौंः​ सुदूर तथा मध्यपश्चिम क्षेत्रका पाखा-पखेरामा गुञ्जिने ठाडी भाका एक प्रमुख संस्कृति हो। लामो स्वर तानेर गाइने हुनाले 'ठाडी' नाम दिइएको यो भाकालाई देउडाको एक विधा मानिन्छ। भीर, पाखा, गोठालो जाँदा गाइने हुनाले यसलाई 'गोठाले गीत' पनि भनिन्छ। समाजको अगाडि गाउन लाज मान्ने भएकाले  यस गीतमा बाजा बजाइँदैन। यद्यपी; यसको आफ्नै पहिचान, अस्तित्व र महत्व छ।  

रोउ भन्या रमिता हुन्या, कसो गरि हाँसु
घर बग्या, वन बग्या, बम्बै बग्या आँसु,
रौं भन्या रमिता हुन्या, कसो गरि हाँसु।
मैलानी पुलिसले लियो, हाड छाला र मासु
घर बग्या, वन बग्या, बम्बै बग्या आँसु
घर बग्यो घरिबारी, बम्बै बग्या आँसु।

ठाडी भाकामा यो गीत गायक राजाराम भाटले २०६० सालतिर गाएका हुन्। सुदूर तथा मध्यपश्चिका मानिसहरूको जिब्रोमा यो गीत अहिले पनि झुण्डिएको छ, कण्ठस्थ छ। गीतको पहिलो हरफले भने झैं-घरमा पनि आँसु बगे, वनमा पनि!

त्यसपछि बम्बईमा पनि आँशु बगे। गीतको भावले जताततै दुःख र पीडा छ, आँसु बगेका छन् भन्ने बताउँछ। त्यो भावलाई अर्को लाइनमा 'रौं भन्या रमिता हुन्या, कसोगरि हाँसु!' भन्नुको अर्थ 'रोएपछि दुनियाँलाई रमिता हुन्छ, कसरी रुन सकुँ' भन्ने वेदना पोखिएको छ।

यहि गीतमा 'मैलानी पुलिसले लियो, हाड छाला र मासु' भन्ने कुरालाई भारतमा काम गर्दा प्रहरीको कुटाइबाट हाड, छाला, र मासु पीडाग्रस्त भएको छ भन्ने दुःख पोखिएको छ। यहि हरफको अर्को लाइनमा घरमा घरबारी बगेको र बम्बईमा मा आँसु बगेका पीडालाई गायक भाटले शब्दमा उतारेका छन्। यो गीत भारतमा काम गर्दै आएका हरेकले आफ्ना पीडा समेटिएको गीत ठान्छन् उनी।

गायक भाटले यस्ता थुप्रै गीतमा आवाज भरेका छन्।

ठाडी भाकामा एकताका एकलौटी राज गरेका राजारामले विगत ८-१० वर्षयता यस्तो भाकामा गीत रेकर्ड गराएका छैनन्। उनले किन लामो समयसम्म ठाडी भाकालाई परै राखे त?

अहिले ठाडी भाका सुन्ने श्रोताको संख्या पहिले जस्तो छैन। एउटा गीत रेकर्ड गर्न ठूलो रकम आवश्यक पर्छ। तर, ठाडी भाका सुन्ने श्रोता संख्या घटिरहेको छ। त्यसैले आफूले यो भाकालाई निरन्तरता दिन नसकेको उनले सुनाए।

ठाडी भाकामात्रै गाएर कलाकार स्थापित हुने समय नभएको र आर्थिक संकट टार्न सकिने अवस्था नरहेकाले ठाडी भाका गाउने गायकले यसलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ।

राजारामले भने, 'सांस्कृतिक कार्यक्रम, मेला, महोत्सवमा ठाडी भाका गाउने कलाकारलाई स्थान नदिइनु र लगानीका लागि जोखिम र नयाँ पुस्ताले चासो राख्न छोडेपछि यस्ता गीत रेकर्ड हुन छाडे।'

०००

ठाडी भाका गायकले शान्त र एकान्त ठाउँमा बसेर गाउँछन्। यसमा गायक एकल वा  युगल हुनसक्छन्। वनजंगल जाँदा गीत गाएर आफ्नो मनको विरह पोख्नु यसको विशेषता हो।

डिजे, पप र र्‍यापको जमानाले यो भाका ओझेल परेको छ। लोक कविहरूले सुन्दै रच्दै, पुस्तान्तरण गर्दै आएको ठाडी भाकालाई संगीतको साथ चाहिँदैन। ठाडी गाउँदै आएका कलाकारले नै यसलाई छाड्न थालेपछि नयाँ पिंढीले यसबारे त्यति चासो नदिएका हुनसक्ने पनि उनले सुनाए।

देउडा गायिका शोभा थापा पनि यसको संरक्षण गर्नुपर्नेमा जोड दिन्छिन्।

खासगरी मुलुकमा​ पछिल्लो समय भइरहेका विभिन्न सांस्कृतिक कार्यक्रम, मेला, महोत्सवमा ठाडी भाका गाउने कलाकारलाई स्थान नदिइनु र सञ्चार माध्यममा पनि यसले प्राथमिकता नपाउँदा महत्व घट्दै गएको उनलाई लागेको छ।

काठमाडौंस्थित विशेष फिल्मस् रेकर्डिङ स्टुडियोकी सञ्चालकसमेत रहेकी गायिका थापा कलाकारलाई ठाडी गाउन सुझाउँछिन्। देउडाकै विधाभित्र पर्ने ठाडी समग्र आफ्नो संस्कृति र कलाको संरक्षण गर्न पनि यसले ठूलो अर्थ राख्ने उनको भनाई छ।

यता युवा पुस्ता माझ रुचाइएकी गायिका रेखा जोशी पनि ठाडि भाका पहिलेको तुलनामा अहिले केही ओझेलमा परेको स्वीकार गर्छिन्। गायिका जोशीको बुझाइमा अहिले ठाडी भाका प्राय विदेशमा रहेका नेपाली केही रुचाउने गरेका छन्।

पछिल्लो समय ठाडी भाकाको संरक्षणमा पहल नभएको उनले बताइन्। 'यो परापूर्व कालदेखि चलिआएको नेपालको एक संस्कृति हो, तर अहिले संरक्षण गर्नुपर्ने भइसकेको छ', उनले सुनाइन्।

उनको आवाजमा हजारौं देउडा गीत छन्। उनले ठाडी भाका पनि उत्तिकै गाउँदै आएकी छिन्। आफ्ना पीडा र वेदना समेटिनेगरी परदेशमा रहेका नेपालीले ठाडी भाका रेकर्डका लागि आफूलाई माग गर्ने गरेको उनी सुनाउँछिन्। 'अहिलेको अवस्थामा कस्तो छ भने युवा पिंढी डिजे र पपमा रमाउन खोजिरहेका हुन्छन्, विशेषगरि हाम्रा बाआमाको पिंढीले ठाडी भाका एकदमै सुन्छन् र मन पराउँछन्,' उनले भनिन्।

पुराना पुस्ताका गायकले ठाडी भाका गाउन छाडेको उनले सुनाइन्। 'ठूलो लगानी लगाएर गीत रेकर्ड गरेपनि त्यसको व्यवस्थापनको पाटो सहज नभएकाले गीत नगाएको हुनसक्ने उनी तर्क गर्छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.