|

मकवानपुर : मकवानपुरको हेटौंडामा रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टको शौचालयमा एकाबिहानै बाकस जस्तो शंकास्पद वस्तु फेला पर्‍यो। हेटौंडा ४ मा रहेको क्याम्पसको पुरुष शौचालय गएका विद्यार्थीले शंकास्पद वस्तु देखेपछि क्याम्पसमा हल्लाखल्ला भयो।

‘शौचालयमा बाकसमा बम राखिएको हुनुपर्छ।’ विद्यार्थी तथा क्याम्पस प्रशासनबीच यो कुरा पुगेसँगै त्रास उत्पन्न भयो। पढ्न गएका विद्यार्थी मनमा त्रास लिएर फर्किए। पुरुणबहादुर जोशीको क्याम्पसमा बम फेला पर्‍यो भनेर अपुष्ट खबर हेटौंडाभर फैलियो। अपुष्ट सूचना भएकाले सन्चारमाध्यममा खबर प्रकाशन गरिहाल्ने हतारो एकतिर छँदै छ भने अर्कातिर फोन गरेर सोधखोज पनि भइरह्यो।

शौचालयभित्र बाकस जस्तो देखिने तार निस्किएको शंकास्पद वस्तु फेला परेपछि क्याम्पसले मकवानपुर प्रहरीलाई खबर गर्‍यो। मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रबक्ता जयश्वर रिमालका अनुसार ७ बजेर ४५ मिनेटतिर क्याम्पसमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको खबर प्रहरीकोमा पुग्यो। त्यसपछि सेनाको डिस्पोजल टोलीलाई क्याम्पसमा बोलाइयो। तर, सो वस्तु कुनै बम नभई शंकास्पद बाकस मात्र भएको पुष्टि भयो।

एकाबिहानै शान्त रहने हेटौंडालाई शैक्षिक संस्थामा बम फेला परेको सूचना फैलाउँदै अशान्त पार्ने काम भयो। पढ्न गएका विद्यार्थीको मनमा त्रास मात्र भएन कि पढाई नै रोकेर क्याम्पस बन्द गरियो। विद्यालयका प्रिन्सिपल जोशी क्याम्पसबाहिर भएकाले समयमा क्याम्पसमा आतंक फैलाउन कसले यो गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको क्याम्पस प्रशासनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.