कोही अनलाइन जान्दैनन्, काेही विश्वासै गर्दैनन्

|

काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपनि वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या बढदै गएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि पुस १७ गतेदेखि अनलाइनबाट श्रम स्वीकृति लिने व्यवस्था गर्‍यो। 

वैदेशिक रोजगार विभागले अनलाइनबाटै विदेशमा रहेका कामदारलाई, नयाँ श्रम लिने र पुनः श्रम नवीकरण गर्न मिल्ने गरी उक्त सेवा कार्यान्वयनमा ल्याइसकेको छ।

विभागले अनलाइनबाटै श्रम स्वीकृति लिने व्यवस्था गरेपनि श्रम स्वीकृति लिन कार्यालयमा आउनेको संख्यामा कमी आएको छैन। अनलाइनबाट श्रम स्वीकृती गराउनेको संख्या अहिले केही बढ्दै गए पनि केही दिन यता विभागमा आइ श्रम स्वीकृति लिनेको भीड उस्तै छ। प्रविधिप्रति सेवाग्राहीलाई विश्वास नभएकाले र देशमा कोरोना कहर बढदै जाँदा लकडाउन हुने आशंकामा विभागमै श्रम गर्न आउनेको संख्या बढदै गएको हो।

अनलाइनबाट श्रम स्वीकृति लिन नजान्दा विभागमा

रौतहट चन्द्रनिगाहपुरका श्याम मण्डल वैदेशिक रोजगार कार्यालय ताहाचलमा बिहानै १० बजे आइपुगे। रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका उनी श्रम स्वीकृति बाँकी रहेकोले बिहानै पुगेका हुन्।

'अनलाइनबाट श्रम स्वीकृति लिन पाइने सुविधा थाहा पाए पनि प्रयोग गर्न नजान्दा बिहानै आइपुगेको हुँ,' मण्डलले भने,' अनलाइनबाट श्रम स्वीकृति लिन सक्ने भए यहाँ दिनभर कुरेर बस्दिन थिएँ। ' उनी वैदेशिक रोजगार कार्यालयको परिसरमा बसेको ४ घण्टा भइसकेको थियो।

कोभिड संक्रमितको संख्या बढन थालेपछि लकडाउन हुने त्रास बढ्न थालेकोले पनि छिटो-छिटो श्रम गरी विदेश जाने तयारीमा रहेकाले पनि श्रम गर्न आएको मण्डलले सुनाए। पिसिआर नेगेटिभ रिपोर्ट देखाएर सहजै साउदी छिर्न पाइने भएकाले धेरै कामदारहरूको साउदी अरबमा पछिल्लो समय आकर्षण बढदै गएको छ।

मण्डल साउदीमा सवारी चालकका रुपमा जान लागेका हुन्। व्यक्तिगत भिसाका कारण उनी आफै श्रम गर्न आएका हुन्। अनलाइनबाट फारम भर्न सक्ने भए यहाँ सम्म दुःख गरेर आउन नपर्ने उनी बताउँछन्।

चितवनका रमेश कटुवाल कतारका लागि श्रम स्वीकृतिलिन आएका छन्। उनको पनि मण्डलकै जस्तै समस्या छ। अनलाइनबाट श्रम स्वीकृतिलिन सक्ने व्यवस्था भएपनि आफैले गर्न नसक्दा विभागको कार्यालयमा आफैं उपस्थित हुनु परेको उनी बताउँछन्। विभागमै आएर श्रम स्वीकृतिलिँदा बिग्रेला भन्ने झन्झट नहुने उनको भनाइ छ।

'अनलाइनबाट श्रम स्वीकृतिलिँदा फारममा आँखा स्क्यान र औंठाको छाप लिएर गर्नुपर्ने हुन्छ, सम्पूर्ण कुराहरू बुझिएको हुँदैन त्यसैले यहाँसम्म आएको हुँ,' कटुवालले भने,' अनलाइनबाट श्रम स्वीकृतिलिने व्यवस्था सहज भएपनि आफूले गर्न नसक्दा यहाँसम्म धाउनुपरेको छ।'

कतारस्थित ल्याण्डमार्क सुपर मार्केटमा 'सेल्स म्यान ' को भिसा पाएकाले रमेश उतै जान लागेका हुन्। नेपालमा जस्तै कतारलाई कोरोनाले गाँजेको छ। उता गएर होटलमा क्वारेन्टाइनमा बस्ने उनले सुनाए। नेपालमा दिनप्रतिदिन कोरोनाको त्रास बढेकाले श्रम गरेर गइहाल्न विभाग आएको उनले प्रस्ट पारे।

लकडाउनकाे त्रासले श्रम स्वीकृति लिने चटारो

वैदेशिक रोजगार श्रम कार्यालय आइटी विभागका कर्मचारी अर्जुन यादवका अनुसार पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएकाले लकडाउन हुने त्रासले कार्यालयमै आइ श्रम स्वीकृति लिनेको संख्या बढदै गएको छ। १० दिन अघिसम्म अनलाइनबाट श्रम स्वीकृति लिनेको संख्या बढिरहेको उनले बताए। 

'कोरोना संक्रमितको संख्या बढेपछि हिजो आज श्रम स्वीकृति लिनेको संख्या बढिरहेको छ,'यादव भन्छन्,' नेपालमा लकडाउन हुने त्रासमा कामदारहरू श्रम स्वीकृति छिटो बनाएर उड्न चाहेका छन्।' उनका अनुसार अहिले दैनिक करिब ४ सयको हाराहारीमा श्रम गर्न आइरहेका छन्।

उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सकेका छन्। बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन्।

विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै ताहाचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ। श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ। फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्नुपर्नेछ।

विभागले श्रमिकको उमेर अनुसार राजश्व तोकेर लिने गरेको छ। श्रम स्वीकृति लिएको राजश्व १५ सय रुपैयाँ लाग्छ। त्यसपछि उमेरअनुसार बढ्दै जान्छ। १८ वर्ष देखि ३५ वर्षसम्म ३७ सय ८ रुपैयाँ, ३६ देखि ५० वर्षसम्म ४ हजार ९ सय ३१ रुपैयाँ र ५१ वर्षदेखि ६४ वर्षसम्मका श्रमिकलाई ९ हजार ४ सय ६३ रुपैयाँ शुल्क तिर्नुपर्छ। 

उनका अनुसार अहिले व्यक्तिगत श्रम गराउन आउनेको संख्या बढी छ। कतार र साउदीमा सहजै कामदार जान पाउने भएकाले श्रमिकहरु त्यस मुलुकका लागि श्रम स्वीकृति लिन आउनेको संख्या बढी रहेको छ।

युएई, कुवेत, साउदी र बहराइन तथा अन्य मुलुकबाट छुट्टीमा आइरहेका मानिसहरु पुनः श्रम गर्न आउने गरेका छन्। कोरोना महामारी सुरु भएयता २ लाख ४३ हजार भन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.