|

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ देखि मुलुकभर एकसाथ घटना दर्ता अभियान सञ्चालन थालेको छ। यो अभियान वैशाख १६ गतेसम्म जारी रहनेछ।

यस वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन थालिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिएका छन्‌।

​सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्म जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने तथा अन्य घटना दर्ता पनि उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्य राखेको छ।

यी सबै अभियान सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ। उपत्यकामा पनि काठमाडौं महानगरपालिका लगायत अन्य नगरपालिकाहरूले घटना दर्ता निम्ति माइकिङ गरिरहेका छन्।

के हो घटना दर्ता ?

जन्म, मृत्यु, बसाईंसराई, विवाह र सम्बन्ध विच्छेद दर्तालाई घटना दर्ता भनिन्छ।

यस कारण आवश्यक छ घटना दर्ता

महानगरपालिकाको नाता तथा पञ्जीकरण शाखा प्रमुख कृष्णराज विष्टका अनुसार कानूनी रूपमा घटना दर्ताले धेरै महत्व राख्छ।

उनले भने, ‘जन्मदर्ता नगरेसम्म कुनै बच्चाको पहिचान हुँदैन, नागरिकता लिन लगायत काम गर्न पनि आवश्यक पर्छ, मृत्युदर्ता नगर्दा ती व्यक्तिको नाममा भएको चलअचल सम्पत्तिहरू कसैले नामसारी गर्न सक्दैन, त्यसैले घटना दर्ता अनिवार्य आवश्यक छ।’

उनका अनुसार दर्ता नगरेसम्म विवाहको कुनै कानूनी आधार नै रहँदैन। कानूनी आधारमा श्रीमान-श्रीमती हो भन्नलाई यो दर्ता गर्न आवश्यक छ। ‘सम्बन्ध विच्छेद अदालतले गर्छ, सोही फैसलाको आधारमा स्थानीय निकायले दर्ता गरी प्रमाणपत्र दिन्छ।’ 

बसाईंसराई कुनै व्यक्ति अर्को ठाउँमा जाने प्रकृया हो। जुन ठाउँबाट सरेर आउने हो, तहाँको स्थानीय तहले सरेर ती व्यक्ति गएको भनी प्रमाणपत्र दिन्छ। त्यसपछि मात्र पहिला पाएका ती सेवा सरेको ठाउँबाट पाउन सकिन्छ। 

‘सरकारले नै स्थानीय तहलाई जिम्मा दिएकाले वडा वडाले गर्छ,’उनले भने, ‘महानगरपालिकामा मात्र वर्षभर १५ देखि २० हजारवटा  घटना दर्ता हुनेगर्छ।’ नेपाली नागरिकता भएका व्यक्तिमा दर्ता गर्न झमेला नहुने उनले बताए।

‘विदेशी नागरिकताको हकमा भने केही समस्या हुन्छ,’ बिष्टले भने, ‘त्यसैले नेपाली हकमा सजिलो छ, घटना दर्ता गराउनु नै पर्छ, कानूनी रूपले यी सबै प्रकृया आवश्यक छ, सबैले दर्ता गर्न आग्रह गर्छौं।’

सरकारले वि.सं. २०३४ सालदेखि नियमित व्यक्तिगत घटना दर्ता गर्दै आएको छ। अहिले घटना दर्तालाई डिजिटलाइजेसन गर्न लागिएको विभागले जनाएको छ।

नेपालमा हरेक वर्ष वैशाख १ गते घटना दर्ता दिवस मनाइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.