|

काठमाडाैं : घरेलु मैदानमा नेपालले शनिबारदेखि त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज खेल्दै छ। कीर्तिपुरस्थित टियु मैदानमा नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। ११ वैशाखसम्म खेल हुने छ।

यद्यपि लामो समयपछि घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय सिरिजमा घरेलु दर्शकको उपस्थिति भने अझै पनि अन्योलनै देखिएको छ। 

सरकारले कोरोना अतिप्रभावित जिल्लाका रुपमा काठमाडौंलाई राखेकाले भीडभाड हुने गतिविधि नगर्न भनेको छ। तर स्पष्ट रुपमा निर्देशन नदिँदा शनिबार नेपाल र नेदरल्यान्डसबीच खेलमा दर्शकको उपस्थिति संशयमै छ।

क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले प्रतियोगितामा कोरोनाको अवस्थालाई ध्यानमा राख्दै सीमित दर्शकलाई मैदान प्रवेश दिइन सक्ने जनाए। यद्यपि सरकारी निकायबाट कुनै निर्देशन नआएको र आएमा त्यसलाई पालना गरिने स्पष्ट पारे।

पहिलो खेल नेपाल र नेदरल्यान्ड्सबीच हुने छ। जुन घरेलु मैदानमा हुने टी–२० सिरिजको पहिलो खेलका रुपमा रहने छ। समग्र टी–२० त्रिकोणात्मक सिरिजमा भने नेपालको यो तेस्रो प्रतियोगिताका हो।

नेपालले पहिलो त्रिकोणात्मक सिरिज २०१८ मा इंग्ल्यान्डको लर्डस मैदानमा मेरीलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सँग खेलेको थियो। जहाँ एमसीसीलाई ९ विकेटले हराए पनि नेदरल्यान्ड्सँगको खेल वर्षाको कारण स्थगित भएको थियो। त्यस्तै गत वर्ष सिंगापुर र जिम्बावे विरुद्ध त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो। 

२०१८ मा ओडिआई मान्यता पाएसँगै टी–२० अन्तर्राष्ट्रिय मान्यता पनि पाएको नेपालले त्यसपछि सीमित मात्र प्रतियोगिता खेल्न पाएको छ। २०१९ मा आइसिसीले सबै आफ्ना सदस्य राष्ट्रलाई टी–२० आईको मान्यता  दिएपछि अहिले हुने खेलहरु अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछन्। नेपालले पहिलो टी–२० सिरिज २०१८ मा खेलेको थियो। जहाँ यूएईलाई २–१ ले पराजित गर्न नेपाल सफल रह्यो। 

पारसले प्रतियोगिता गुमाउने

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा भरपर्दा ब्याटस‍्म्यान पारस खड्काले त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्। आइतबार भएको अभ्यासमा बल क्याच गर्ने प्रयासमा उनले दायाँ पाखुरामा चोट बोकेका छन्।

पारसलाई चिकित्सकले २ देखि ३ साता आराम र थेरापी गर्न सल्लाह दिएका छन्। उनले आफूले प्रतियोगिता गुमाए पनि नेपाली टिमले प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे। नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो। डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.