‘कारबाही सहन तयार भएर नै निर्णय गरियो’

|

काठमाडौं : ढल्नै लागेको कर्णाली प्रदेश सरकार बल्ल–बल्ल जोगियो। एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्र नेतृत्वको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाए।

एमालेको चार सांसद मुख्यमन्त्रीलाई मत मात्रै दिएनन् ‘फ्लोर क्रस’ गरेर राजनीतिको गेम चेञ्जर नै बने। गेम चेञ्जर बनेका एमालेका सांसद हुन्, प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा। उनीहरू चार जनाको सहयोगमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत हासिल गरे। पार्टीको ह्वीप उल्लंघन गर्दै चार सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो।

‘फ्लोर क्रस’ गर्ने सांसदले शाही नेतृत्वको सरकार त जोगाए तर, पार्टीको कारबाही भने भोग्न पर्ने छ। ‘फ्लोर क्रस’ गर्ने सांसदले पार्टी नेतृत्वलाई शिक्षा दिन कठोर निर्णय लिन बाध्य भएको बताएका छन्।

प्रकाश ज्वालाले पार्टी नेतृत्वले गरेको उपेक्षित व्यवहारको परीणामस्वरुप यस्तो कठोर निर्णय लिन बाध्य भएको प्रतिक्रिया दिए। थाहा खबरसँग कुराकानी गर्दै सांसद ज्वालाले पार्टी एकलौटी चलाउने, पार्टी नै कब्जा गर्ने, नेताहरूलाई कारबाही गर्ने कार्यले अनेकथरी परीणाम देखिएको बताउँदै त्यही कारण यस्तो निर्णय गरेको उल्लेख गरे। उनले पार्टी भित्रमा देखिएका समस्या समाधान नगर्दा यस्ताखालका घटना वा समस्या व्यहोर्नु पर्छ भन्ने शिक्षा पार्टी नेतृत्वलाई दिन कठोर निर्णय गरेको पनि बताए।

‘पार्टीलाई एकताबद्ध नगर्दा, पार्टी भित्रका समस्या व्यवस्थापन नगर्दा, यस्ता खालका घटना बेहोर्नु पर्छ भन्ने एउटा शिक्षा दिन र नेतृत्वलाई प्रभाव होस् भन्नका लागि यो कठोर निर्णय गर्न बाध्य भयौं।’ ज्वालाले भने,‘यो रहरले होईन् बाध्यताले गरेको हो।’ केन्द्रका नेताहरूसँगको सल्लाहअनुसार यो नै निर्णय गरेको उनले बताए।

ज्वालाले पार्टीको कारबाही भोग्नसमेत तयार रहेको सुनाए। ‘कारबाहीको के अर्थ भयो र ? कारबाही भोग्न तयार भएर नै हामीले यो निर्णय गरेका हौं।’ उनले भने। कर्णाली प्रदेशसभाका ३९ सांसदमध्ये २२ जनाले शाहीलाई विश्वासको मत दिए। जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र एमालेका चार जनाले शाहीको पक्षमा मतदान गरे।

कांग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो। तर, आश्चर्यजनक ढंगले एमालेका चार सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिए। यसअघि ज्वाला र बुढा शाही नेतृत्वको सरकारमा मन्त्रीसमेत थिए। ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए। उनीहरूले केही दिनअघि मात्र राजीनामा दिएका थिए। 

‘राजनीतिक अपराध गरियो’

यता एमाले कर्णाली प्रदेश संसदीय दलले पार्टीका जिम्मेवार नेताहरूले नै राजनीतिक अपराध गरेको बताएको छ। दलका नेता यामलाल कँडेलले जिम्मेवार नेताबाटै यस्तो क्रियाकलाप हुने आफूले नसोचेको बताए। ‘यो गलत हर्कत भएको छ। राजनीतिक अपराध गरिएको छ’ उनले भने,‘अब विधानअनुसार हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.