|

महोत्तरी : श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन्। चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन्।

चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन्। आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन्। यसअघि शुक्रबार नै व्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन्।

पर्वको तेस्रो दिन आइतबार  सूर्य उपाशनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। यसलाई मिथिलामा ‘सझुका अरख’ भन्ने गरिएको छ। त्यसैगरी सप्तमीका दिन अर्थात् सोमबार बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ। यसलाई मिथिलामा ‘भोरका अरख’ भनिन्छ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ। पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अघ्र्य दिने पवित्र जलासय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिलाक्षेत्रका बुद्धिजीवी बताउँछन्। पर्वमा सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीको भनाइ छ।

मिथिलामा शारदीय र बासन्ती गरी वर्षमा दुई पटक छठपर्व मनाउने परम्परा छ। कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने बासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन्। तराईमा शारदीय छठजति बासन्ती छठ मनाउने चलन भने छैन। यद्यपि पछिल्ला केही दशकयता बासन्ती छठको रमझम पनि बढ्दै गएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन्।

सूर्य उपासनाको यो पर्वले हर मनोकाङ्क्षा पूरा गर्ने विश्वास गरिन्छ। खासमा सूर्यको उपासनाले चर्मरोग नहुने र भएमा चाँडै निको हुने मैथिल जनविश्वास रहेको छ। बासन्ती छठ बासन्ती नवरात्रभित्रै पर्ने भएको हुँदा देवी र सूर्य उपासनाको पर्व सँगसँगै पर्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.