|

जुम्ला : सिञ्जा चुलेलगाउँका दुई युवाले काठको कार बनाएर गुडाएका छन्। उनीहरूले स्थानीय स्रोत साधनबाट कार बनाएर गुडाएका हुन्। सिञ्जा गाउँपालिका वडा नम्बर २ चुलेगाउँ निवासी प्रसान्त विक र अज विकले बनाएको  काठको गाडी  सिजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले  उद्घाटनसमेत गरे।

गाउँपालिका अध्यक्ष रावल, वडाध्यक्ष नवीन  शर्मासहित सरोकारवाला निकायहरुको सहभागितामा गाउँमै बनाएको गाडी गुडाएपछि स्थानीय दंग भएका छन्।

२० वर्षीय प्रशान्त र १९ वर्षका अजले स्थानीय काठ र फलामसहित बाहिरी आवरण सिसाबाट कार निर्माण गरेका प्रशान्तका दाजु रतन वडले बताए। त्यस्तै,   गाडीमा सोलारका १२ भोल्टवाला डबल ब्याट्री जडान गरिएको छ। काठबाट बनाइएका  गाडीको छतमा सोलारका पातासमेत जडान गरिएको छ। आफूहरूले अवसर पाए आफैँ गाडी बनाउन सक्ने र मोटरसाइकलसमेत बनाउन सक्ने प्रशान्तले बताए।

एक्कासि स्थानीयस्तरको स्रोत साधनले बनाएको कार ती किशोरले गुडाएपछि स्थानीय दंग भएका छन्।  स्थानीय तीर्थ वड भन्छन्, 'हामीले यो सोचेका थिएनौँ। प्रशान्तले नाग्म गमगडी राजमार्गमा एक सय मिटर सो गाडी गुडाएका थिए। अघिल्लो दिन एक किलोमिटर गुडेको थियो।' भित्र ३,४ जना व्यक्ति बस्न मिल्ने प्रशान्तका दाजु रतनले वडले  बताए।

नयाँ वर्षका दिन गाउँलेका अगाडि स्थानीयस्तरमै बनाएको कार गुडाईपछि  गाउँ नै हर्षमय बनेको  हो। धेरै मानिसहरु सो गाडी हेर्न सडकमा आएका थिए। गाउँपालिका अध्यक्ष देवलसिंह रावलले किशोरहरूले गरेको मिहिनेत र सृजनालाई गाउँपालिकाले मर्न नदिने भन्दै थप तालिमका लागि सहयोग गर्ने बताए।

वडाध्यक्ष नवीन शर्माले उनीहरुको सृजनाअनुसारको काम र सीपका लागि गाउँपालिका र वडापालिकाले प्रथामिकता दिने प्रतिबद्धता गरे।

एक लाख खर्च

काठको गाडी बनाउन करिब एक लाख खर्च लागेको प्रशान्तले बताए। सडकमा गाडी गुडिरहेको देखेपछि यो कसरी बन्छ भन्ने विषयमा जिज्ञासा पलाउथ्यो। त्यसको अभ्यास दुई तीन वर्ष अघिदेखि गर्दै आएका उनले बताए।

पहिले आफूले एक दुई किलोमिटर टाढाबाट रिमोटबाट ढोका खोल्ने, जौ काटने मेशिनसमेत बनाएको भन्दै त्यसपछि गाडी बनाउने विषयमा सोच आएको र अहिले घर परिवारको सहयोगमा एक लाख खर्चमा गाडि बनाएर गुडाएको प्रशान्तले बताए।

प्रशान्तले साथीको रुपमा अजलाई लिएको र कार बनाउन सम्भव भएको बताएका छन्। त्यस्तै गाउँपालिकाले त्यो  गाडी खस संग्रहालयमा राख्नेसमेत बताएको छ। यसरी गाउँमै गाडी बनाएर गुडाएपछि स्थानीयले उद्धाटनको दिनमा आर्थिक सहयोगसमेत गरेका छन्।

भूमि व्यवस्थापन आयोगका विज्ञ तथा स्थानीय सुमन आचार्यले १० हजार सहयोग गर्ने घोषणा गरेको प्रशान्तले बताए। त्यस्तै, १८ हजार नगद रकमसमेत पुरस्कार स्वरूप उठेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.