|

सल्यान : कर्णाली प्रदेशको ‘मिनी रारा’ भनेर पनि चिनिने कुभिन्डे तालमा नीलो पानी, वरिपरि मिलेका पहाड र हरियो जंगल देखिन्छ।

उत्तर-दक्षिण फैलिएको यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्लाकै एक उत्कृष्ट पर्यटकीय स्थल हो। यो तालको रङ्ग वर्षा, हिउँद र गर्मी याममा मौसमैपिच्छे ​ फरक-फरक हुने गर्छ। 

रमाइलो त के भने वर्षामा बाढी पस्दा पनि कुभिन्डे तालको पानी कहिल्यै धमिलो हुँदैन। वरिपरि घना जंगल भएपनि तालमा एउटा पनि पात खसेको नभेटिने स्थानीयहरू बताउँछन्‌। अहिले टाढा-टाढाबाट पर्यटकहरू आएर तालमा डुङ्गा खियाउँदै रमाउने गर्ने गरेका छन्‌। 

किम्बदन्ती अनुसार अहिले कुभिन्डे ताल भएको स्थानमा पहिले ठूलो गाँउ थियो। गाउँमा एकदिन साधु भेष बदलेर बासको खोजीमा गाउँ पसे। उनले धेरै घरमा बास माग्दा पनि पाउन सकेनन्।

निराश हुँदै एक जना वृद्धको घरमा पुगे। बासको लागि आफू आएको कुरा उनले सुनाए। वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नको लागि केही प्रबन्ध हुन नसक्ने बताएपनि साधुले त्यही घरमा बस्ने अनुमति मागे।

वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट विहान साधुले ती वृद्ध महिलालाई अहिलेको कुभिन्डे ताल तर्फको पहाड देखाउँदै भनेछन्‌, 'त्यो पहाडसम्म जाउँ। हिँडदा पछि फर्किएर नहेर्नु!'

महिला पहाडतर्फ लागिन्‌। तर, पहाडको चुचुरोमा पुगेपछि ती महिलाले पछाडि फर्किए गाउँतिर हेरिन्‌, जो नगर्न साधुले उनलाई सुझाएका थिए। महिलाले हेरेपछि गाउँ नै तालमा परिणत भयो भन्ने किम्बदन्ती चलिआएको छ।

कुभिन्डे ताल प्राकृतिक रूपले निकै सुन्दर मानिन्छ। तालको वरपर हरियाली रुख विरुवाहरू, सुन्दर बस्ती र त्यहाँ नेपालीपन कायम जनजीवनले जो कोहीलाई पनि आनन्दित तुल्याउँछ।

तालको किनारमा बराहको मन्दिर छ। सल्यान जिल्लाको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोट जिल्लाबाट समेत मानिसहरू पुग्ने गर्दछन्‌।

​प्राकृतिक सुन्दरताले भरिएको यस स्थानलाई पर्यटकीय गन्तव्यमा सूचीकृत गरिएसँगै कुभिन्डे तालमा अवलोकन गर्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि आएको वनगाड कुभिन्डे नगरपालिका-८ का वडाध्यक्ष कुल बहादुर पुरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.