|

म्याग्दी : म्याग्दीको उत्तरी हिमाली क्षेत्र हुँदै मुस्ताङको लेते पुग्ने धवलागिरि आइसफल पदमार्ग सञ्चालनको तयारी छ। सडकका कारण पदमार्ग विस्थापित भएपछि पर्यटकलाई लक्षित गरेर यो पदमार्ग सञ्चालनमा ल्याउन लागिएको हो।

यो पदमार्गबाट म्याग्दी र मुस्ताङका दुई दर्जनभन्दा बढी हिमाली रोमाञ्चक दृश्यको अवलोकन गर्न पाइनुका साथै जैविक विविधता र प्राकृतिक सुन्दरताका भएका स्थलहरूसम्म पुग्न सकिने छ। बेनी–जोमसोम सडक सञ्चालन भएपछि पैदल मुस्ताङ पुग्ने सातवटा पदमार्ग विस्थापित भैसकेका छन्।

संसारको सातौं अग्लो धवलागिरि हिमाल (८ हजार १६७ मिटर) हुँदै मुस्ताङको लेते पुग्न सकिने धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आधारभूतस्तरको पूर्वाधार निर्माणसँगै पर्यटक भित्र्याउन सम्भाव्यता अध्ययन गरिएको बताए।    

‘रघुगंगाको अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पैदलमार्ग बनाइएको हो‚’ उनले भने, ‘पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट चिमखोलाका बासिन्दा जंगलको ओढारमा बास बसेर पदमार्ग बनाएका हुन्।’   कुइने मंगलेको छहरीबाट आधार शिविर क्षेत्रको अक्करे भीरमा पहाड खन्ने, जंगल र पाखामा ढुंगाको सिँढी चिरेर पदमार्ग निर्माण गरिएको छ।

ट्रेकिङ व्यवसायी एसोसिएसन (टान) र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ मा भगवतीबाट लेते जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो। पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायत निकायबाट विनियोजन भएको बजेटबाट भगवतीको रूइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसेधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्रयाक निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले बताए। धवलागिरि हिमालबाट हिउँ खसेको नजिकैबाट हेर्न सकिने भएकाले यसलाई आइसफल पदमार्ग नामकरण गरिएको हो।

धवलागिरि आइसफल पदमार्ग सञ्चालन भएमा स्थानीयवासीको आयआर्जन वृद्धि, रोजगारी सिर्जना, जीवनस्तरमा सुधारका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउँछन्। पदमार्गमा आधारभूत पूर्वाधारसँगै खाने–बस्ने सुविधाका लागि निजी क्षेत्रको लगानी भित्र्याउन र प्रवर्द्धनात्मक गतिविधिमा जोड दिएको उनले बताए।

कोरोना महामारीका कारण अहिले विदेशी पर्यटकहरुको आवागमन ठप्प भए पनि स्थिति नियन्त्रणमा आएपछि यो पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत अवलोकन गर्न पाउनु यस पदमार्गमा थप आकर्षण रहेको पुनले बताए।

कालीगण्डकी नदीको किनार हुँदै म्याग्दीको बेनी भएर मुस्ताङ जाने परम्परागत पदमार्ग सडक विस्तारसंगै मासिएपछि म्याग्दी र मुस्ताङलाई पदमार्ग बाटै जोड्न धौलागिरि आइसफललाई बैकल्पिक मार्गको रुपमा पहिचान गरिएको हो। यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ। तर यस पदमार्गमा पुर्वाधार निर्माण तीव्रता पाए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.