|

पर्सा : गत वर्ष कोरोनाको हटस्पट बनेको वीरगन्ज क्षेत्रमा फेरि सोही अवस्था दोहोरिने सम्भावना बढेको छ। पछिल्ला केही दिनदेखि कोरोना परीक्षण गराउन आएकामध्ये आधामा संक्रमण पुष्टि भएको छ।

छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहरको प्रकोप ह्वात्तै बढिरहेका बेला नेपालको प्रमुख नाका वीरगन्ज क्षेत्रमा पनि कोरोनाका संक्रमित दिनहुँ बढिरहेका छन्। यसले जोखिमको खतरा संकेत गरेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोज रोशन दास बताउँछन्। पछिल्लो २४ घण्टामा वीरगञ्जको नारायणी अस्पतालमा ९० जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरू ६ देखि ८२ वर्ष उमेर समूहका रहेको दासले जानकारी दिए।

संक्रमितमध्ये युवा बढी

नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो पटक गरिएको परीक्षणमा भेटिएका संक्रमितमध्ये २६ पुरुष र १९ महिला रहेका छन्। जसमा ३९ जना पर्साका र ६ जना बाराका हुन्। संक्रमितहरूको सिटी भ्यालु १४ दशमलब ६ देखि ३५ सम्म छ। तथापि‚ बढी संक्रमित युवाहरू हुनुले अझ खतरा बढेर गएको डा. दासको भनाइ छ। 

लकडाउन गर्न चिकित्सकको सुझाव

संक्रमितहरूमा कडा खालको निमोनिया र झाडापखालाको लक्षण छ। यस्तो बेला सेकसम्म भीडभाडमा नजाने, फेसमास्क प्रयोग गर्ने र स्थानीय प्रशासनले पनि लकडाउन वा सेमी लकडाउन लगाई करिब दुई हप्ता जति परीक्षणको दायरा बढाउन सके अवस्थाबाट बच्न सकिने डा. दासको सुझाव छ।

बिरामीहरु गम्भीर प्रकारका हुनु अहिलेको प्रमुख चुनौती रहेको डा. दास बताउँछन्। नारायणी अस्पतालमा भर्ना बिरामीमध्ये १३ जनालाई असिक्सजन दिएर राखिएको र दुई/तीन जनालाई हाइफ्लो अक्सिजनमा राख्नु पर्ने अवस्था आएको उनले बताए।

जिप्रकामा बैठक बस्दै

दैनिक जसो नयाँ संक्रमित थपिने क्रम अप्रत्यासित हुन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्ला र आसपासको क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाउन नयाँ रणनीति बनाउने भएको छ।

रणनीतिक बनाउन केन्द्रको बैठक बसिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.