|

काठमाडौं : भारतमा जारी १४ औँ सिजनको आइपिएलअन्तर्गत १० औं खेलमा कोलकाता नाइट राइडर्समाथि रोयल च्यालेन्जर्स बैंग्लोर ३८ रनले विजयी भएको छ।

आफ्नो तेस्रो खेलमा बैंग्लोरले कोलकतालाई दुई सय ५ रनको विशाल लक्ष्य दिएको थियो। तर कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो। 

उसका लागि शुभमन गिलले २१, नीतिश राणाले १८, राहुल त्रिपाठीले २५, कप्तान इयोन मोर्गनले २९, आन्द्रे रसेलले ३१, शाकिबअल हसनले २६ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा काइल जेमिसनले ३, हर्षल पटेल र युजवेन्द्र चहलले दुई–दुई विकेट लिँदा वाशिङ्टन सुन्दरको नाममा एक विकेट रह्यो। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर दुई सय ४ रन बनाएको थियो। उसका लागि ग्लेन म्याक्सवेल र एबिडि भिलियर्सले अर्धशतकीय पारी खेले। 

म्याक्सवेलले ४९ बलमा ९ चौका ३ छक्कासहित ७८ रन बनाउँदा डिभिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट ७६ रनको पारी खेले। यस्तै, देवदत्त पाडिक्कलले २५, काइल जेमिसनले अविजित ११ रन जोड्दा कप्तान विराट कोहली ५ र रजत पाटीदर १ रनमा आउट भए।

बलिङमा वरुण चक्रवर्तीले २ तथा प्याट कमिन्स र प्रसिद्ध कृष्णाले एक–एक विकेट लिए। जितसँगै बेंग्लोर तीन खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.