कर्णालीमा एमालेको 'फ्लोर क्रस'ले सुदूरपश्चिममा राहत!

|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको चर्चाबीच चार पार्टीहरूले केन्द्रकै निर्णय कुरिरहेका छन्।

पछिल्लो ३ महिनायता सुदूरपश्चिम सरकार फेरबदलसँगै नयाँ गठबन्धन सरकार बन्ने कसरत सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीचको नयाँ गठबन्धनको सरकार बन्नेबारे छलफल सुरु भएको स्रोतले जनाएको छ। 

कांग्रेस

एमालेभित्रको खिचातानीले प्रतिपक्षी कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य थालिसकेको छ। कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, ‘देश तरलतामा उभिएको छ। नेकपालाई जनताले केन्द्र र प्रदेशमा २ तिहाइ दिएका थिए। तर उहाँहरूको अकर्मण्यताका कारणले देश धराशयी अवस्थामा छ। अब यस अवस्थामा नेपाली कांग्रेसको भूमिका आवश्यक परे यो ३ वर्षमा गर्न नसकेको काम हामीले गर्न सक्छौं।’ 

नेता रावलले नयाँ सरकार गठन वैशाख महिनाभित्रै हुनेसमेत दाबी गरेका छन्। उनले वैशाख महिनाभित्रै अर्को सरकार गठनको काम हुने र उहाँहरूको पनि केन्द्रदेखि प्रदेशसम्मको आ–आफ्नै माग रहेकाले आफूहरू छलफलमै रहेको बताए। 

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आफूहरू प्रदेशमा बढ्ने रावलको भनाइ छ।

माओवादी केन्द्र

सुदूरपश्चिम प्रदेश सरकारमा रहेको माओवादी केन्द्र प्रदेश सरकार सुरक्षित रहेको दाबी गर्छ। माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले नयाँ सरकारबारे हालसम्म कुनै छलफल नभएको बताए। तथापि माओवादीले पनी केन्द्रकै निर्णय कुरिरहेको बुझिएको छ। 

जसपा

प्रदेश सरकारको प्रतिपक्षी दल जसपाले भने नयाँ सत्ता समीकरणबारे कुनै दलसँग छलफल नभएको दाबी गरेको छ। आफूहरूको माग मुद्दाबारे केन्द्रीय सरकारसँग छलफल जारी रहेकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीले बताए। 

एमाले 

एमाले नेता तथा प्रदेशसभा सदस्य पठानसिंह बोहोराले सुदूरपश्चिम प्रदेश सरकारको विषयमा केन्द्रकै निर्णय कुरेर बसेको बताए। उनले भने, ‘यसका लागि हामी केन्द्रीय कमिटीको निर्देशन पर्खिएर बसेका छौं। अहिलेसम्म सरकारलाई दिएको समर्थन जारी नै छ। माथिबाट निर्णय आएपछि त्यहीअनुसार अघि बढ्छौँ।’

यस्तै नेकपा एमालेका अर्का सांसद रतन थापाले आफ्नै पार्टीका सांसदहरू एकढिक्का नभइसकेकोले अविश्वास प्रस्ताव ल्याउन हतार गर्न नहुँने बताए। ‘अहिले हाम्रा २५ जना प्रदेशसभा सदस्य एक ढिक्का भइनसकेको अवस्था छ,’ उनले भने, ‘वैशाख ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्छ। माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने वा यही सरकारलाई समर्थन कायम राख्ने भन्नेबारे ८ गतेपछि मात्र थाहा हुन्छ।’ 

मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउन पहल गरिने उनले बताए। त्यो अवस्थामा जसपासँग सहकार्य हुन सक्छ, जसपासँग नभए कांग्रेससँग पनि सहकार्य हुने उनको भनाइ छ। 

कर्णालीको ‘फ्लोर क्रस’ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राहत

नेकपा एमालेका सांसदहरूले ‘फ्लोर क्रस’ गर्दै कर्णाली प्रदेश सरकारलाई जोगाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि राहत महसुस गरेका छन्।

सुदूरपश्चिममा एमालेले समर्थन फिर्ता लिए मुख्यमन्त्री भट्टको पद धरापमा पर्ने देखिएकोमा कर्णालीमा भएको ‘फ्लोर क्रस’ जस्तै सुदूरपश्चिममा पनि एमालेले साथ दिने संकेत देखाएपछि प्रदेश सरकार जोगिनेमा मुख्यमन्त्री भट्ट ढुक्क देखिएका हुन्। 

आइतबार धनगढीमा आयोजित पत्रकार महासंघ कैलालीको पदस्थापना कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम सरकार संकट नरहेको दाबी गरेका छन्। उनले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताए। सरकार फेरबदलका विषयमा छलफल नै नभएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.