|
फाइल फोटो

रूकुम पूर्व : रूकुम पश्चिममा पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नु पूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ। उनीहरू कहाँ विवाहका लागि लगन हेराउन जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको हो। उनीहरूले जन्ममिति प्रमाणित भएको कागजात हेरेर मात्र लगन जुराउन पाउनेछन्।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र अनिवार्य गर्ने निर्णय गरेका हुन्। विवाहको ब्यानर लेख्ने, निमन्त्रणा कार्ड छाप्नेहरूका लागि उक्त नियम लागू हुनेछ। उनीहरूले विवाह गर्ने केटा र केटीको जन्मदर्ताको कागज हेरेर मात्र ब्यानर वा कार्ड छाप्न पाउनेछन्। पुरोहित, पुजारी, पास्टर, छापाखाना सञ्चालकलगायतसँग सामूहिक छलफल गरी उनीहरूलाई बालविवाहविरुद्ध प्रतिबद्ध गराइएको जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए।

‘बालविवाह, बहुविवाह र सामाजिक अपराध रोक्न पुरोहित, पास्टर र छापाखाना सञ्चालकको भूमिका पनि महत्त्वपूर्ण छ,’ उनले भने, ‘उहाँहरूले विवाहपूर्वका कामका लागि जन्मदर्ता वा नागरिकता अनिवार्य हेर्ने प्रतिवद्धता गर्नुभएको छ।’ उनका अनुसार पुरोहित, पुजारी, पास्टर र अन्य सरोकारवालाले बालविवाह, बहुविवाह रोकथामका लागि विभिन्न पाँच बुँदे सहमति गरेका छन्।

पुरोहित झक्कुप्रसाद उपाध्यायले विवाहका लागि गरिने सम्पूर्ण काम कानुनविपरीत नहुने गरी सहमति गरिएको बताए। ‘बालविवाहविरुद्धको अभियानमा सबैले साझा सहमति गरेका छौं,’ उनले भने, ‘हाम्रो सानो प्रयासले पनि बालविवाह रोक्न भूमिका खेल्नेछ।’ आगामी दिनमा विवाहका लागि लगन हेर्नुपूर्व महिला र पुरुषको जन्मदर्ता हेरी कानुनबमोजिम उमेर पुगे/नपुगेको यकिन गरिने उनले बताए।

प्रहरीले सरोकारवालासँग छलफल गरी बालविवाह न्यूनीकरण गर्न जिल्लाव्यापी अभियान चलाउने निर्णय गरेको छ। अभियानअनुसार बालविवाह, बहुविवाहजस्ता फौजदारी कसुरहरू भए सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.