पहिले 'जानकी' नाम प्रस्ताव गरेको माओवादी पनि 'मधेश' कै पक्षमा

|

सम्राट खनाल

धनुषा : प्रदेश २ को स्थायी राजधानी नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा सचिवालयमा दुई फरक प्रस्ताव दर्ता भएको छ।

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सभा सदस्यहरूले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्‌।

प्रदेश सभा सदस्यहरूले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुईवटा प्रस्ताव दर्ता गराएका प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएका छन्‌।

प्रदेशको नामाकरणका लागि जसपाका तर्फबाट प्रदेश सभा सदस्य शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका तर्फबाट प्रदेश सभा सदस्य भरतप्रसाद साह, राजधानीका लागि जसपाका प्रदेश सभा सदस्य परमेश्वर साह तथा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरतप्रसाद साहले प्रस्ताव दर्ता गराएका हुन्‌।

​दुवै दलका प्रदेश सभा सदस्यहरूले प्रदेशको नाम ‘मधेस’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएको सचिव यादवले बताए।

जसपाको तर्फबाट राजधानी ‘जनकपुरधाम’ राख्ने परमेश्वर साहको प्रस्तावमा प्रदेश सभा सदस्यहरू चमेलीदेवी दास, सञ्चमाया मोक्तान र मीराकुमारी साहले समर्थन जनाएका छन्। नामाकरण ‘मधेस’ राख्ने शैलेन्द्रकुमार यादवको प्रस्तावमा प्रदेश सभा सदस्यहरू रानीकुमारी तिवारी र बबिता कुमारीले समर्थन जनाएका छन्।

माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामाकरण ‘मधेस’ राख्ने प्रस्ताव संसदीय दलका नेता भरतप्रसाद साहले दर्ता गराएका हुन्‌। सो प्रस्तावमा प्रदेश सभा सदस्यहरू जगतप्रसाद यादव र दिलीपकुमार साहले समर्थन जनाएका छन्।

यसअघि वि.सं. २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानी तोक्न गरिएको प्रयास असफल भएको थियो। त्यतिबेला दलहरूबीच राजधानी र प्रदेशको नाममा विवाद भएको थियो। प्रदेश सभामा नामसम्बन्धी ४ वटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो। तर, नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरूमध्ये कुनैका पक्षमा पनि दुई तिहाई मत आउन सकेको थिएन।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको छ। सरकारमाथि आलोचना बढिरहेका बेला प्रदेश सभा सचिवालयले बैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो। सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन्।

यसअघि तत्कालीन संघीय समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेका थिए। नेपाली कांग्रेसले मिथिला-भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेश सभा सदस्य राजेश्वर साहले मध्य-मधेस नाम प्रस्ताव दर्ता गराएका थिए।

तत्कालीन नेकपाले भने जानकी प्रदेश नाम प्रस्ताव गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.