|

काठमाडौं : सरकारले संसद्‌ हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकबाट यस्तो निर्णय गरिएको हो।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको नेपाल सरकारका प्रवक्ता एवम्  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो।

प्रतिनिधिसभाको अधिवेशन शुरू भएको डेढ महिनासम्म पनि संसदले कुनै बिजनेश (काम) अघि बढाउन नसकेपछि हाउस अन्त्य गर्न सरकारमाथि दवाव बढेको थियो। 

कार्यपालिका र व्यवस्थापिकाबीच समन्वय हुन नसक्दा प्रतिनिधिसभा कामविहीन बनेको थियो। प्रधानमन्त्री र सभामुखबीच सार्वजनिक मञ्चहरूमै आरोप-प्रत्यारोप चलिरहेको थियो। 

यसबीचमा सरकारको नीति तथा कार्यक्रम र बजेटको चटारो समेत शुरू भइसकेको छ। सभामुखले सरकारद्वारा प्रस्तावित विधेयक, प्रस्ताव र अध्यादेशहरू अघि नबढाएको आरोप खपेका थिए।

फागुन ११ गते सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक अदालतकै आदेश बमोजिम फागुन २३ गते बसेको थियो। पहिलो बैठकमै विपक्षी दलले अध्यादेशहरू पेश गर्नबाट रोकेपछि संसदले काम गर्न सकेको थिएन। 

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले बहिस्कार गरेका थिए। 

संविधान बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्छ। संसदको हिउँदे अधिवेशन औचित्यहीन भएपछि बर्खे अधिवेशनका लागि ग्याप राखेर अन्त्य गर्नु उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.