|

दाङ : कोरोना महामारीबाट बढी प्रभावित जिल्लामध्ये दाङ पनि एक हो।

अहिले महामारीको दोस्रो लहर फैलिँदा पनि यो जिल्ला बढी प्रभावित भएको छ। तुलसीपुर उपमहानगरपालिकाभित्र शनिबारसम्म ५२ जना संक्रमित भेटिएका छन्‌।

​तर, संक्रमण बढिरहँदा पनि तुलसीपुर बजारका विभिन्न बैंकहरूमा सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकहरू सयाैंको संख्यामा आएका छन्‌। ​

स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा र कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा संक्रमण दर बढे विकराल अवस्था सृजना हुने भन्दै चिन्ता गरिरहेका छन्‌। तर, संक्रमणबाट बढी जोखिममा रहेका जेष्ठ नागरिकहरू भने भत्ता लिन बिहानैदेखि बैंकमा भीडभाड गरिरहेका छन्‌। यसकारण जिल्लाको अवस्था निकै जोखिमपूर्ण भएको यहाँका स्वास्थ्य सरोकारवालाहरूले बताइरहेका छन्‌।

​तुलसीपुर-८ का स्थानीय टिकाराम सापकोटाले कोरोना महामारीको बेला यसरी बजारमा भीडभाड गर्न नहुने बताए। उनले यसरी जेष्ठ नागरिकहरूलाई बैंकहरूबाट भन्दा वडाबाट पैसा दिने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन्‌।

​'गत वर्ष पनि यस्तै अवस्था थियो, यस पटकपनि बैंकमा जेष्ठ नागरिकको उस्तै भीड लागिरहेको छ,' उनले भने, 'प्रत्येक वडाहरूले आ–आफ्ना जेष्ठ नागरिकहरूलाई तपाईंहरूको पैसा बैंकमा आएको छ, त्यो पैसा जहिले निकाल्दा पनि हुन्छ भनेर जनचेतना जगाउनुपर्छ।'

तुलसीपुर उमहानगरपालिका-८, अश्वाराका ७८ वर्षीय दिलबहादुर कुँवरले ४ महिनाको भत्ता निकाल्न बिहान ७ बजे नै बैंकमा आएको बताए। उनले पछिल्लो समय कोरोनाको त्रास भएपनि औषधि गर्न पैसा नहुँदा निकाल्न आएको, तर बैंकमा लाइन लगाउनुभन्दा वडाबाट दिँदा सबैलाई सहज हुने बताए।

‘४ महिनाको भत्ता अहिले आएको छ,’ उनले भने, ‘आफू बिरामी मान्छे, औषधि गर्न भएपनि पैसा निकाल्नु नै पर्‍यो। तर, अहिले कोरोनाको त्रास छ। आफूले मात्रै माक्स लगाएर भएन, बैंकमा लाइन बस्नुपर्छ। भीडभाड धेरै हुन्छ। जोखिम नै छ।’

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-८, कटकुइयाकी एक सय वर्षीया वीरमाया डाँगीले पनि भत्ता रकम निकाल्न बैंकमा आएको बताइन्। उनले अहिलेसम्म आफूलाई कोरोना रोग के हो भन्नेबारे थाहा नपाएको बताइन्। उनले भनिन्, ‘मासिक ३ हजार रुपैयाँका दरले भत्ता पाइन्छ, अहिले ४ महिनाको रकम आएको छ, रकम लिन अटो चढेर बिहानै आइपुगेको हुँ।’

तुलसीपुर उपमहानगरपालिकाले भने पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएपछि सहज रहन सचेतनामूलक प्रचारप्रसार गरिरहेको जनाएको छ।

बजारमा भीडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड पालना निम्ति आग्रह गरिएको र बेवास्ता गरे कडा कदम चाल्ने उपमहानगरका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए। ​हिजोआज बैंकहरूमा एकसाथ पैसा निकाल्न आउँदा बढी भीडभाड हुने गरेको उनको तर्क छ।

‘हामीले जेष्ठ नागरिकहरूलाई तपाईंहरूको खातामा आएको पैसा जहिले निकाले पनि हुन्छ भन्दै आएका छौँ,’ उनले भने, ‘तर, उहाँहरू खातामा आएको रकम पछि पाइँदैन कि भन्ने भ्रममा पर्नुहुन्छ। त्यसकारण पनि एकै पटक आउँदा धेरै भीडभाड हुने गर्दछ। अब जसलाई अति आवश्यक छ, उहाँहरूलाई मात्र पैसा निकाल्न जान आग्रह गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.