|

एजेन्सी : भारतमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या डेढ करोड नाघेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९ जना सङ्क्रमित भएका छन्। 

भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ७३ हजार ८१० जना सङ्क्रमित भएका छन्। सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सोमबार जनाइएको छ। पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको छ। 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जनाएका छन्। पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। अहिलेसम्म भारतमा १२ करोड ३८ लाख भन्दा धेरै व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिनै रहेको छ।

भारतमा अहिले 'कोभिसिल्ड', 'कोभ्याक्सिन' र 'स्पुतनिक भी' गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको 'स्पुतनिक भी' भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा आइतबार मात्रै १३ लाख ५६ हजार १३३ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । अप्रिल १९ सम्म कूल २६ करोड ७८ लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ । 

भारतको राजधानी दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ। दिल्लीमा आइतबार एकै दिन २५ हजार ५ सय जना सङ्क्रमित भएका छन् भने १ सय ६१ जनाको मृत्यु भएको छ । 
 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.