|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका-४, चानुवा क्षेत्रमा गत शनिबार विद्युत हाइभोल्टेज प्रवाहका कारण जनधन क्षति भएको घटनाबारे विद्युत प्राधिकरणले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।

विद्युत प्राधिकरण प्रदेश नं. १ कार्यालयमार्फत घटनाबारे छानबिन प्रकृया अघि सारिने प्राधिकरणले जनाएको छ। छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मका प्रतिनिधि सामेल हुने विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दीपक सापकोटाले जानकारी दिए।

प्राधिकरणले विज्ञप्ति समेत सार्वजनिक गर्दै असिना पानीसहित चट्याङ पर्दा हाइभोल्टेजका चानुवा क्षेत्रका विद्युत संरचनामा क्षति पुगेको जनाएको छ। स्थानीय बाघखोरमा रहेको ट्रान्समिटरबाट प्रवाह गरिएको विद्युतमा हाइभोल्टेज प्रवाह भएको र त्यसबाट जनधन क्षति भएकोप्रति मर्माहत भएको प्राधिकरणले उल्लेख गरेको छ। 

 

मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइने केन्द्र प्रमुख सापकोटाले बताए। मृत्यु भएकाका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति र १५ हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराइने भएको छ।

यस्तै, घाइते सम्पूर्णको उपचार प्राधिकरणले गर्ने जनाएको छ। घटनामा मृतक तथा घाइतेका आफन्तले क्षतिबारे माग दावी गर्नुपर्ने प्रावधान रहेकोले उक्त प्रकृयापछि क्षतिपूर्ति उपलब्ध गराइने सापकोटाले बताए।

घटनामा महालक्ष्मी नगरपालिका-४, भुटडाँका ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु र अन्य १५ स्थानीयबासी घाइते भएका थिए। अधिकांश घरका मोबाइल, टिभीलगायत विद्युतीय सामाग्री क्षति पुगेको छ।

घाइते अधिकांशको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो। ९ र ६ वर्षीय दुई बालबालिका बाहेक अन्य घर फर्किएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.