कन्सुलर विभागले बिहान ८ बजेदेखि सेवा दिँदै

|

काठमाडौं : तिव्ररुपमा फैलिरहेको कोरोना संक्रमणको प्रत्यक्ष प्रभाव सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीमा पनि परेको। सेवाग्राहीले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउने र बढी भिडभाड गर्न थालेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरे पनि त्यसअनुसार कार्यान्वय भएको छैन। केही दिनयता बढी भिडभाड र सेवाग्राहीले सेवा लिने सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

राहदानी विभागले सयौंको संख्यामा सेवाग्राहीले जनस्वास्थ्यको मापदण्ड पालना नगरेकोले निश्चित कोटा तोकेर सेवाग्राहीलाई सेवा प्रदान गर्न लागेको छ। विभागका निर्देशक राजेन्द्र पाण्डेले मन्त्रालयमा निश्चित कोटा तोकेर सेवा दिनको लागि निर्णय गर्न परिपत्र गर्न लागेको जानकारी दिए। एक पटकमा २५ जनालाई भित्र प्रवेश गर्न दिइने पाण्डेले बताए।

कन्सुलर विभागका केही कर्मचारीमा कोरोना देखिएकाले कोटा प्रणाली लागू गर्न लागेको पनि उनले सुनाए। सामाजिक दूरी पालना नगर्ने र निश्चित कोटा लागू नगरे राहदानी विभाग कोरोनाको हटस्पट हुने पाण्डेको दाबी छ। सेवाग्राहीले मास्क प्रयोग, स्यानिटाइजर र सामाजिक दूरी अनिवार्य पालना गर्न नमानेकाले केही निर्देशन जारी गर्न लागेको उनले प्रस्ट पारे।

‘सुरक्षाकर्मीको प्रयोग गरेर सेवाग्राहीलाई निश्चित संख्यामा भित्र प्रवेश गर्न दिने व्यवस्था मिलाइन्छ’ उनले भने,‘महामारीबाट सबैलाई सुरक्षित राख्न यस्तो व्यवस्था गर्न लागेका छौं।’ 

यसैगरी कन्सुलर विभागका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवाग्राहीलाई सेवा उपलब्ध गराइँदै आएको समय परिवर्तन गर्न लागिएको कन्सुलर विभागले जनाएको छ। कार्यालयमा सेवाग्राहीको बढी भिडभाड हुन थालेको छ।

बिहान ८ बजेदेखि सेवाग्राहीलाई सेवा प्रदान गर्ने तयारी भइरहेको छ। आइतबार ८ बजे देखि सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रदान गर्न लागेको विभागका एक कर्मचारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.