रुन्चे भाषण गरेर र अदालत धाएर मात्रै केही हुँदैन

|

काठमाडौं : नेपालको सम्पूर्ण कम्युनिष्ट आन्दोलनको उथलपुथल यतिखेर नेपाली समाजले खेप्दै छ। कम्युनिस्ट आन्दोलनको उठान हेरियो। सत्ताको क्रियाकलाप हेरियो। दुई तिहाइको आरोहण पनि हेरियो। नेपालको कम्युनिष्ट आन्दोलनको ७ दशकको आन्दोलनको विसर्जन र विघटन बडो दयनीय किसिमले यसको इतिहास मेटिँदैछ। 

प्रधानमन्त्री केपी शर्मा ओली, एमालेभित्र पार्टीगत समानान्तर कमिटी, माओवादी केन्द्र, जनमोर्चा यी दलहरूको अन्‍नतरद्वन्द्व, पार्टीभित्र रहेका व्यक्तिहरुको महत्वाकांक्षा, स्वार्थ, मन्त्री बन्न दौडधूप, यी सारा विषयहरु छताछुल्ल भएर एउटा प्रहसन भएको छ। 

नेपाली समाजमा देखिएको यो छताछुल्ल पन कहाँ गएर टुङ्गिने हो भन्ने कुरा एक वाक्यमा भन्न सकिन्छ। नेपालको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थी धारतर्फ जाँदैछ।पूर्णत दक्षिणपन्थी धार भनेको धार्मिक सांस्कृतिक विचारमा टेक्न खोज्दैछ। 

प्रधानमन्त्रीको सोच मूलत: दक्षिणपन्थी सोचबाट आफ्नो पार्टीलाई आफैंले रुपान्तरण गर्नको लागि उद्यमशिलता देखाइरहनु भएको छ। नेपालको यो परिस्थितिमा विदेशी चलखेल नहुने कुरै छैन। संसारमा जब घरभित्र झगडा सुरु हुन्छ। छिमेकीले नखेल्ने भन्ने नै हुदैन। घर झगडामा व्यस्त हुनुभयो भने छिमेकीले आफ्नो शक्ति प्रयोग गर्न सक्छ। 

माधव समुहको दृश्य मंचन भइरहेको छ। पार्टीभित्रको अन्तर संघर्ष केन्द्रमा देखिने गरेको थियो। अहिले प्रदेशमा पनि देखिएका छन्। कम्युनिष्ट पार्टीको माध्यमबाट यो एकदमै खतरनाक संस्कृति मेची महाकाली दौडिँदैछ। 

प्रचण्ड संसदीय राजनीतिको कच्चा खेलाडी!

राजनीतिमा आइसकेपछि पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनितिक हावालाई बुझ्न सक्नुभएन। उहाँले गल्ति नै गल्ति गर्नुभयो। पार्टी एकिकरण ओली र प्रचण्डको 'इन्ट्रेस्टमा' मा भयो। त्यसपछिको संसदीय अभ्यासका बारेमा उहाँले बुझ्नुभएन। प्रधानमन्त्रीलाई हटाउने जुन विधि, प्रक्रिया र सिद्धान्त अवलम्वन गरियो। त्यो नेपालमा काम लाग्ने थिएन।

​संसदीय दलको नेता परिवर्तन गरेर  हटाउने संविधानका हिसाबले ठिक थियो। जुन ढंगले स्थायी समिति बैठक, सचिवालय बैठक गरेर हटाउन खोज्नुभयो। यो गलत हो। यसरी पनि प्रधानमन्त्री हट्न सक्छ त? यो कुनै विधि नै भएन्। संसद पुन:स्थापना भएको बेलामा ओली (निरंकुश, तानाशाही, अनुत्तरदायी छन् भन्ने मलाई पनि लाग्छ) लाई हटाउने जुन विधि कांग्रेस, माओवादी, माधव समूह, जसपाले संसद पुन:स्थापनाको पक्षमा थिए।

त्यो बिचमा कम्युनिष्ट पार्टी फुटेको पनि थिएन। यो बिचमा ओली कमजोर बनिसकेका थिए। नैतिक तथा राजनीतिक रुपले अल्पमतमा परिसकेका थिए। नागरिक समाजदेखि संचारमाध्यमले पनि प्रधानमन्त्री असंवैधानिक भए भनिरहेका थिए। तर, ओली इतर समूहले स्थायी कमिटी र सचिवालय बैठक डाकेर समय खेर  फाले खासगरी प्रचण्ड नेपाल समूहले।

संसदीय खेल कसरी खेलिन्छ भन्ने ज्ञान नै प्रचण्डलाई थाहा रहेनछ। उहाँ कच्चा खेलाडी हुनुहुँदो रहेछ। उहाँले त बुझ्नुभएन। तर, तीन दशकदेखि संसदीय राजनीतिमा रहेका माधव नेपाल, झलनाथ खनालले पनि बुझ्नुभएन। प्रचण्डले ओली हटाउन राजनीतिक खेल खेल्ने हो नी ! संसदीय दलको नेता परिवर्तन गर्ने बाटो सिधा बाटो थियो। 

नैतिकताको राजीनामा कुर्नु नै गल्ती

माधव र प्रचण्डजीहरू अति नै भलाद्मी हुनु भयो। या संसदीय राजनीति नै बुझ्नुभएन। नेतृत्वमा बसेका व्यक्तिसँग स्वत: विकल्पहरु हुन्छन्। ति विकल्पहरूसँग खेल्न सक्ने कुराहरू कति संवैधानिक हुन्छन् कति असंवैधानिक हुन्छन्। कतिपय राजनितिक हुन्छन्, कतिपय प्राविधिक हुन्छन्। 

जुन स्प्रिडमा संसद पुन:स्थापनाको लागि काम भए। त्यहि अनुसार स्थापना भएपछि प्रचण्ड-नेपालले केहि पनि योजना बनाएनन्। प्रचण्ड-नेपाल समूहले संसद पुन:स्थापना भएपछि के गर्ने भन्नेबारे कुनै पनि योजना, छलफल र बहस गरेर एउटा निर्णय नै गरेका रहेन छन्। त्यसमा बाधक अन्य दल थिए वा थिएनन् भन्दा पनि ती बाधक भए भनेर भन्ने छुट कसैलाई पनि छैन। 

प्रधानमन्त्री ओली निरंकुश हुन्, माओवादीले समर्थन फिर्ता लिएको भए ओली अल्पमतमा पर्थे। त्यतिखेर पार्टी फुटेको थिएन। समानान्तर कमिटी गठन गर्दै हिँड्नु पनि पर्दैन थियो। पार्टीको बहुमत प्रचण्ड-नेपालसँग थियो। 

प्रचण्डहरूले के  सोच्नुभयो भने प्रधानमन्त्री ओलीले नैतिकताको हिसाबले राजीनामा दिने कुरामा उहाँहरू विश्वस्त हुनुहुन्थ्यो। यो राजनीतिक न्यारेटिभ उहाँहरुले निर्माण गरेको देखियो। प्रधानमन्त्रीको राजीनामा कुरेर बस्नुभयो। ओलीबाट नैतिकताको राजीनामाको अपेक्षा गरेर बस्न हुँदैन थियो। किनभने त्यसअघि नै थुप्रै उदाहरणहरु निर्माण भइसकेका छन्। 

नेपालको राजनीतिमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ताको नैतिकताको राजनीति  गर्ने, पदप्रति आसक्ति नहुने, त्यस्तो व्यक्ति नै कहाँ छन् र? स्वच्छ राजनीतिलाई संस्थागत गर्छु भन्ने कुराको आवाज सुनिन छोडिसकेको छ। 

नेपालको संविधान तुहियो भन्न मात्र बाँकी छ

काठमाडौंमा खेलिने खेलहरु अहिले प्रदेशमा खेलिन थालिए। एउटा यस्तो संस्कार र  संस्कृति विकास गर्दैछन् राजनीतिमा,जहाँ सम्पुर्ण विचारधाराहरू, मुलुक रुपान्तरणका कुराहरु, मन्त्री पद दिने कुर्सी जोगाउने देशव्यापी लहर चलेको छ। यो  लुम्बिनी प्रदेश होस् या कर्णाली प्रदेशमा पनि देखियो। काठमाडौमा त चलेकै छ। 

माओवादी युद्ध लडेर आएका रामबहादुर थापा 'बादल'हरु एक ठाउँमा उभिएकाहरू अहिले मन्त्री बनिरहेका छन्। जो  सांसद त्यागेर मन्त्री भएका छन्। मूलत देशको संविधान सकिँदैछ। नेपालको लोकतन्त्रमाथि प्रहार भइरहेको छ। संघीयता, धर्मनिरपेक्षता माथि प्रहार भइरहेको छ। यो प्रहार गर्नका लागि खुला राजनीति, बहस, छलफल, चिन्तनबाट अगाडि बढेको भए त्यसमा केहि विचारणीय हुन सक्थ्यो होला तर, अँध्यारो कोठामा बसेर कम्युनिष्टको आवरणमा, भारतलाई रिझाउनकै लागि ताण्डव खेल खेलिँदैछ। मलाई लाग्छ यो खतरनाक खेल हुँदैछ।

राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको नीजि सचिवालय जस्तो

संसद पुन:स्थापना भएपछिको समय र आजको समय हेरौं। अब प्रधानमन्त्रीको रवाफ चाहिँ हेरे पुगिहाल्छ नि! राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको नीजि सचिवालयको जस्तो  देखिएको छ। यसरी भन्दा चोट पुग्न सक्छ। तर, यथार्थ यहि देखिँदैछ। होइन भन्ने आधार दिएको खण्डमा सम्मान दिउँला। प्रधानमन्त्रीले जहिले देखि संसद विघटन गरिदिनु भएको थियो त्यहि दिन देखि आफूलाई यस्तो ठाउँमा उभ्याउनु भएको छ। शक्ति आर्जन गरेको देखिँदैछ। किनभने उहाँसँग ठुलो पार्टी र संसदीय दल आफूसँग छ भन्ने विश्वास छ। तर टेस्ट भएको छैन। 

न संसदमा अविश्वासको प्रस्ताव आउन सक्यो। न संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिएका छन्। न कुनै सांसदले हामी कुन कित्तामा छाैं आउनुस् भनेर  च्यालेन्ज नै गरेको छ। यहाँ सांसद लाचार देखिएका छन्। नेपालको संविधान तुहियो भन्न मात्र बाँकी रहेको छ। 

पार्टीभित्रै मारामार 

पछिल्लो समय पार्टीभित्र नै अन्तरसङ्घर्ष रहेको छ। जसपा भित्र जसपा, एमाले भित्र एमाले, नेपाली कांग्रेस भित्र कांग्रेसकै लडाईं छ। महन्थ ठाकुर अहिले ओली निकट देखिनुभएको छ। उपेन्द्र यादव र बाबुराम भट्टराई विपरित हुनुहुन्छ। 

एमालेभित्र एक एमाले ओलीजी हुनुहुन्छ। अर्को माधव नेपाल समुह हुनुभयो। कांग्रेस भित्र शेर बहादुर देउवा एकातिर र रामचन्द्र पौडेल अर्को तर्फ छन्। यसको फाइदा प्रधानमन्त्रीले लिइरहेका छन्। सबै पार्टीलाई विखण्डनतिर लगेर आफ्नो पार्टी  स्वयम् विभाजनतर्फ लगेपछि सत्तामा जो हुन्छ। तत्कालका लागि  फाइदा ओलीलाई भइरहेको छ। 

अबको निकास के हो

प्रचण्डले अबको निकासका लागि पहल गर्नुपर्ने हुन्छ। उहाँले राजनीतिक लडाईं लड्नुपर्छ। उहाँले समर्थन फिर्ता लिन सक्नुपर्छ। त्यसपछिको परिणाम नि राजनितिक नै हुन्छ। उहाँले लिने राजनितिक निर्णय हो। जुन दिन प्रचण्डले राजनितिक खेल खेल्नुहुन्छ त्यो दिन राजपा, कांग्रेस पनि लयमा आउँछन्। कि सरकारको नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ कि निर्वाचनमा जान सक्नुपर्छ। अदालत मात्र धाएर केही हुनेवाला छैन। 

राजनीतिक खेल खेल्न सक्नुपर्छ। प्रचण्डको रुन्चे भाषणले केहि हुँदैन। नेताले पछाडि फर्केर हेर्न थाल्यो भने इतिहासको पाठ्यक्रममा बस्छ। नेताले अगाडि हेर्नुपर्छ। अबको निकास भनेको कि सरकार परिवर्तन कि निर्वाचन नै हो। 

राजनीतिक विश्लेषक आचार्यसँग गरिएको कुराकानीमा आधारित 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.