पार्टी फुटाउने उद्देश्यले झुटा आरोप लगाए‍र स्पष्टीकरण सोधिएको निष्कर्ष

|
फाइल फोटो

काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ। ओलीले ३२ जना सांसदलाई स्पष्टीकरण सोधेपछि आकस्मिक बसेको बैठकले जवाफ दिने तर पार्टीभित्र संघर्षरत रहने निर्णय गरेको रामकुमारी झाँक्रीले बताइन्। 

‘पार्टी एकताको पक्षमा छौँ। नवौँ नेकपा एमालेको महाधिवेशनबाट आएका हौँ। पार्टी एकता भंग भएपछि ०७५ जेठ २ गतेको अवस्थामा फिर्ता हुनुपर्छ। उहाँको (ओली) विधानविपरीत गतिविधि फिर्ता हुनुपर्छ, हामी एमालेका नेता सांसद हौँ। पार्टी छाडेका छैनौँ। छाड्ने मनस्थितिमा पनि छैनौँ। स्पष्टीकरण दिन्छौँ। व्यक्तिगत हिसाबले रुपमा आएको हुनाले व्यक्तिगत रुपमै दिन्छौँ।’

एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षसमेत निकालेको छ। आगामी १० गते कारबाही गरे कानुनी रुपमा अदालतसम्म जान सक्ने उनले बताइन्। 

‘हामीले राजनीतिक लडाईं लडिरहेका छौँ। विधि, पद्धतिको पक्षमा छौँ। स्पष्टीकरण दिनलायक छैन। तर, हामी कानुनतः लड्ने भएकाले जवाफ फर्काउँछौँ’, उनले भनिन्, ‘हामीले संघर्ष गरेर यहाँसम्म पार्टी ल्याएका हौँ। हामी कहाँ छाडेर जान्छौँ। यही रहेर संघर्ष गछौँ।’

ओली पार्टी विभाजनको पक्षमा लागेका पनि उनले आरोप लगाए। जनताको बहुदलीय जनवादविरुद्ध ओली आफैं लागेका समेन झाँक्रीको भनाइ थियो। 

त्यस्तै फुटाउने उद्देश्यले आफूहरूमाथि झुटा आरोप लगाइएको पनि झाँक्रीले बताइन्। अध्यक्ष ओलीले २८ फागुनमा एकलौटी निर्णय गरेर पार्टीलाई विभाजनतर्फ लगेको भन्दै नेताहरुले त्यसको सामना गर्ने पनि उनले बताइन्। 

ओलीले आज पार्टीका २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधिएका नेताहरुले एमालेको नाम र निर्वाचन चिह्न 'सूर्य'को दुरुपयोग गरी पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्न गतिविधि सञ्चालन गरेको र नयाँ राजनीतिक दल गठन गर्नुअघि संगठनात्मक आधार खडा गर्न भेला गर्दै हिँडेको अध्यक्ष ओलीको आरोप थियो।

यसअघि ६ महिनाका लागि निलम्बन गरिएका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बनपछि पनि पुनः त्यही गतिविधि किन दोहोर्‍याएको भनी ओलीले सोधेका थिए। साथै कर्णाली प्रदेशमा 'फ्लोर क्रस' गर्न निर्देशन दिएकाले पार्टी वा संसदीय दल परित्याग किन नगर्ने भनेरसमेत ओलीले सोधेका थिए। 

वैशाख ९ गतेको कार्यक्रम स्थगित

यसैबीच यो समूहले वैशाख ९ गतेका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ। बढ्दो कोरोना संक्रमण तथा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्धका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

भट्टराईले जारी गरेको विज्ञप्तिमा वैशाख ९ गतेका लागि प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको जनाइएको छ। यस्तै कोरोना संक्रमण नफैलिएका जिल्लामा भने कार्यक्रमहरू यथावत् रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.