|

काठमाडौं : बैदेशिक रोजगारीमा जानेहरुबाट अत्यधिक रकम लगि नक्कली पिसिआर रिपोर्ट बनाउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का संचालक र कर्मचारी गरी आठ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।  

सुरिया हेल्थकेयर प्रा.लि.का संचालक डा.सि.पी. श्रीकुमार र मेरिट मल्टी केयरका संचालक प्रकाश रायमाझी भन्ने चित्र रायमाझीले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोके भन्दा अत्यधिक रकम लिई स्वाबको नमुना समेत नलिई दिने गरेको खुलेको महाशाखाले जनाएको छ।

नमुनासमेत नलिई एक–दुई घण्टा मै नक्कली रिपोर्ट दिने गरेको महाशाखाले जनाएको छ। प्रहरीले दुवै संस्थाबाट कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रा.लि.को सेवा हाल लाई बन्द गरिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आए अनुसार मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ऐजेन्टहरुले सेवाग्राहीसंग पिसिआर परीक्षण शूल्क प्रतिव्यक्ति ९ हजार लिई सुरिया हेल्थकेयर प्रा.लि.सँगको मिलेमतोमा विना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको खुलेको महाशाखाले जनाएको छ।

पक्राउ पर्ने अन्यमा सप्तरी राजबिराज नगरपालिका–१३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला–१ का ५० वर्षीय प्रदिप कुमार गिरी र २२ वर्षीय बादल मिरिङछिङ, महोत्तरी सोनाम–६ घर भई हाल सिनामंगल बस्ने २५ वर्षीय अमन कुमार यादव, मोरङ बिराटनगर–३ घर भई अनामनगर बस्ने ३२ वर्षीय वजेश पोख्रेल, दोलखा बैतेश्वरी–५ घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुरा–१ घर भई हाल ललितपुर धापाखेल बस्ने ४४ वर्षीय डा.खेलानन्द प्रसाद सिंह छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.