|

सम्राटराज खनाल

महोत्तरी : मनरा सिस्वा नगरपालिका–७ सरपलो धोवी टोल बस्ने ७५ वर्षीय सोनावती देवीलाई चैत २९ आफ्नै बुहारी गिना बैठाले कुटपिट गरिन्। तर यो घटना बल्ल मात्र सार्वजनिक भएको छ।

केही दिनअघि मात्रै स्थानीयले सोनावतीलाई कुटपिट गरेका भनी उनका छोरा र बुहारीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गरे। 

चैत २९ गते गिनाले सासू सोनावती देवीलाई कुटपिट गरिरहेको देखेर स्थानीय विवाद सुल्झाउन पुगेका थिए। तर उल्टै गिनाका श्रीमान उपेन्द्रले आफ्नी आमालाई बोक्सी आरोपमा स्थानीयले कुटेका भन्दै प्रहरीमा जाहेरी दिएका थिए। 

यो भिडियो कसैले खिचेका थिए। विस्तारै सामाजिक सञ्जालमा फैलियो पनि उक्त फुटेजअनुसार गिनाले नै सासूलाई सडकमै लछारपछार गर्दै कुटपिट गरिरहेको प्रस्ट देखिन्छ। गिनासँगै उनका श्रीमान उपेन्द्रसमेत होहल्ला गरिरहेका उक्त भिडियोमा देखिन्छ। तर, विवाद सुल्झाउन पुगेका रामसुलिन्दर बैठा, जिवु भन्ने जिबोदेवी, रामजिनिस बैठा र कुन्ती देवीमाथि उपेन्द्रले मुद्दा दर्ता गराए।

मुद्दाको बदलामा मुद्दा 

गत पुस २ गते मनरा सिस्वा नगरपालिका–७ सरपलो धोवी टोलकी जिबोदेवीकी १३ वर्षीय छोरी अपहरणमा परिन्। उनी चार पाँच दिनपछि मनरा सिस्वा नगरपालिकाका उपमेयर रमिता प्रधानको शौचालयबाट फेला परिन्। 

उक्त बालिकालाई शरीर बन्धक बनाई अपहरण गरेको अभियोगमा स्थानीय आन्दोलित भएका थिए। त्यसपछि महोत्तरी प्रहरीले अनुसन्धान गरी उपमेयरका श्रीमान् विनोद गामी र परीक्षण साह, गिना बैठासहित तीन जनाको संलग्नता रहेको भन्दै अपहरण मुद्दा दर्ता गरेको थियो।  

उक्त मुद्दा फिर्ता गराउन आफूलाई केही व्यक्तिले प्रलोभन, धाकधम्की तथा दबाब दिँदै आएका जिबोदेवी बताउँछिन्। तर उनले कसले प्रलोभन दियो, धम्की दियो भन्नेबारे भने खुलाइनन्। जिबोका अनुसार उनले मुद्दा फिर्ता लिइनन्। भन्छिन्, मुद्दा दर्ता भएका पाँच महिनामा हामीलाई बारम्बार प्रलोभन तथा धाकधम्की दिइरहेका थिए। तर छोरीको न्यायका लागि कुनै लोभ प्रलोभनमा परेनौं। न त कुनै धाकधम्की वास्ता गर्यौं।'

त्यसपछि पूर्वनियोजित योजनाअनुसार आफूहरूविरुद्ध उपमेयरको योजनामा जिल्ला प्रहरीमा झुटा मुद्दा दर्ता भएका उनको भनाइ छ।

गिनाले आफ्नै वृद्ध सासुलाई निर्घात कुटिरहेको देखेर स्थानीयसँगै आफू पनि सुल्झाउन त्यहाँ पुगेको बताइन्। छिमेकीको नाताले छिमेकीको घरमा झैंझगडा हुँदा पुग्नु पनि स्वाभाविकै भएको उनको भनाइ छ। यही माैका छोपेर आफूविरुद्ध गिनाको परिवारले रिस साँधेको जिबोको भनाइ छ। जिबो भन्छिन्, 'उनीहरूको बदला लिने योजनाबारे मैले थाहै पाइनँ।' 

प्रहरीकै सेटिङ! 

शरीर बन्धक बनाई जिबोकी छोरी अपहरण मुद्दा दर्ता भएको पाँच महिना बितिसक्दा पनि महोत्तरी प्रहरीले आरोपित उपमेयर प्रधानका श्रीमान् विनोदसहित परीक्षण साह र गिना बैठालाई पक्राउ भने गरेको छैन। 

प्रहरीसँग सेटिङ भएकै करण उनीहरू खुलेआम घुम्दै पीडितमाथि दबाब दिँदै हिँडेका स्थानीय बताउने गर्छन्। सोही योजनाअनुरुप गिनाका श्रीमान‍्नले जिबोमाथि मुद्दा दर्ता गरेका स्थानीय बताउँछन्। महोत्तरी प्रहरीले अपहरणका दोषीलाई कानुनी दायरामा ल्याउन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख ईश्वर कार्कीले बोक्सी आरोप मुद्दामा अनुसन्धान भइरहेको प्रतिक्रिया दिँदै भने, 'अपहरण मुद्दामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउँछाैं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.