|

पर्वत : पर्यटकलाई लक्षित गरेर बनाइएका पुलबाहेक अन्यमा शुल्क लिने गरेको पाइँदैन। तर‚ पर्वतको कुस्मा नगरपालिका-१ पाङको अदुवाबारी र बाग्लुङको बाग्लुङ नगरपालिका-१ लाई जोड्ने कालीगण्डकी नदीमाथि बनाइएको पुल तर्दा भने शुल्क तिर्नुपर्छ।

विश्वकै लामो झोलुङ्गे पुल भनी दाबी गरिएको ५६७ मिटर लम्बाइ रहेको उक्त पुल तर्न बाग्लुङ नगरपालिकाले शुल्क तोकेको छ। पर्वत र बाग्लुङ जिल्ला जोड्ने भए पनि बाग्लुङ नगरपालिकाले कुस्मा नगरपालिकासँग सल्लाह नै नगरी एकलौटी शुल्क तोकेको हो।

नगरपालिकाले मंगलबारदेखि लागु हुने गरी पूर्वाधार उपयोग शीर्षकमा कर तोकेको हो। जसअनुसार साधारण शुल्क प्रतिव्यक्ति २०, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीका लागि प्रतिव्यक्ति १० र विदेशी नागरिकका लागि ५० रुपैयाँ तोकिएको छ।

बाग्लुङ नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई आधार मानेर उक्त निर्णय गरेको हो। धार्मिक गन्तव्यका रूपमा रहेको बाग्लुङ कालिका मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थी तथा पर्यटकहरूको चहलपहल बढी हुने गरेको अवस्थामा कर लगाइको हो।

बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने कर लगाउने निर्णय पर्यटक लक्षित रहेको बताउँछन्। नेपालमै रहेका कतिपय ठूला प्रोजेक्टहरूमा कर लगाउने चलन रहेको उदाहरण दिँदै उनले करका रूपमा उठाइएको रकमले पुलमा थप व्यवस्थापनका काम गर्ने बताए।

‘पुल हामीमा हस्तान्तरण भएर आइसकेपछि यसको मर्मत र व्यवस्थापनको काम हामीले नै गर्नुपर्छ। नगरपालिकाकै खर्चमा पुलमा बत्ती जडान गरेका छौँ। अब पार्क र पार्किङ बनाउनु छ। करबाट उठेको रकम त्यसैमा खर्च हुन्छ। पुलको मर्मत पनि गर्नुपर्ने हुन्छ‚’ उनले भने, ‘स्थानीय जनताको ढाड सेक्नका लागि हामीले यो गरेका होइनौँ। बाहिरबाट आएका पर्यटकहरूले अलिकति शुल्क तिरेर पुलको आनन्द लिँदा फरक पर्दैन। पुलसँग जोडिएका दुई नगरपालिकाका नागरिकलाई त पैसा लाग्दैन नि त।’

पुलमा घुम्न आउनेहरू एकै पटक ठूलो संख्यामा प्रवेश गर्दा घुइँचो भएको र यसले पुलको आयु छोटाउन सक्ने भएका कारण पनि कर लगाइएको नगरप्रमुख पौडेलको दाबी छ। कानुनी रूपमा पनि ठूला पूर्वाधारहरूमा कर लगाउन पाइने उदाहरणअनुसार पुललाई झनै आकर्षक बनाउनका लागि यो निर्णय भएको र यसको विरोध गर्नुपर्ने अवस्था नरहेको उनले बताए।

पर्वतको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वतसँग जोडिएको पुल भए पनि बाग्लुङ नगरपालिकाले निर्णय आफूहरुसँग कुनै सहकार्य नगरेको बताए। कर उठाउने निर्णय भएपछि आफूकहाँ गुनासो आएको बताउँदै उनले यसबारे बाग्लुङ नगरपालिकासँग कुरा गर्ने बताए।

 ‘सार्वजनिक पुल हो। बाग्लुङको मात्र हुँदैन। पर्वतसँग जोडिएका कारण कुस्मा नगरपालिकासँग पनि सल्लाह गरेर निर्णय गर्नुपर्ने हो तर हामीलाई कुनै खबरै भएन। समाचार आएपछि थाहा भएको हो‚’ उनले भने, ‘यसबारे पाङ क्षेत्रसहित अन्यले पनि गुनासो गर्नुभएको छ। म छिट्टै नै यसबारे कुरा गर्नेछु।’

सामाजिक सञ्जालमा समेत पुलमा कर लगाइनु हास्यास्पद भएको भन्दै नगरपालिकाको आलोचना भएको छ। नागरिकको सहजताका लागि निर्माण गरिएका पुलहरूमा नै कर लगाएर नागरिकलाई नै मारमा पार्नु गलत रहेको नागरिकको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.