|

मकवानपुर : बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएकोमा विपक्षी दलले आपत्ति जनाएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव आउने डरले बिजनेस हुँदाहुँदै पनि चालु अधिवेशन रातारात अन्त्य गरिएको विपक्षी दलको दाबी छ। माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकार संसदबाट भागेर आफ्नो सत्ता टिकाउन लागिपरेको बताए।

‘विगतमा अविश्वासको प्रस्ताव आउँदा पनि प्रकृया नै नपुर्‍याइ भागेर टार्ने काम गरियो‚’ जम्मकट्टेलले भने, ‘अहिले पनि अविश्वासको प्रस्ताव आउला भन्ने डरले संघको सिको गर्दै अधिवेशन अन्त्य गरिएको छ।’  सरकार विशेषगरी प्रदेशसभा र जनताप्रति जवाफदेही हुनुपर्नेमा त्यसो नगरी एकदलीय तानाशाही हुन खोजेको उनको आरोप छ। 

मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव आउने डरले अधिवेशन अन्त्य गरिए पनि आफ्नो दलले त्यस्तो कुनै तयारी भने नभएको नेता जम्मकट्टेल बताउँछन्। ‘प्रदेशसभा र जनताप्रति जवाफदेही नहुने यो सरकार कामै नभएकाले बदल्नु त पर्छ नै तर अहिले हामीले त्यसको तयारी गरेका थिएनौं‚’ उनी भन्छन्, ‘प्रदेशसभामा विपक्षीहरू अहिले एकजुट भएको भयले सरकार डरैडरमा भागिरहेको छ।’

यस्तै‚ प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकार विपक्षीको प्रश्नदेखि डराएर सत्ता जोगाउन भागिरहेको टिप्पणी गरेको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङ सत्तापक्ष दल एमालेका बीचमा द्वन्द्व हुनु र विपक्षी दल एक ठाउँमा उभिइ सरकारले नीति विपरितका गरिरहेको काममा प्रश्न उठाएपछि मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव आउँला भनेर तर्सिएको बताउँछन्। ‘सत्तापक्ष एमालेकाबीच द्वन्द्व भइरहेका बेला विपक्षीहरुसँग वार्तामा बसी आफूमाथि आएका प्रश्नको जवाफ दिनुपर्नेमा अब विपक्षी मिलेर सरकार परिवर्तन गर्न लागे भन्ने त्रासले सरकार भागेको हो।’ तामाङ भन्छन्। 

आफ्ना कार्यकर्तालाई मदन भण्डारी फाउन्डेसनका नाममा आर्थिक कार्यविधि नै नभई पचास लाख प्रदान गर्नु, पूर्वाधार नै विकास नगरी गैर प्रकृयागत रुपमा विद्युतीय बस सन्चालनको तयारी गर्नु, सुरुङमार्ग निर्माणका लागि टेन्डर आव्हान गर्नु जस्ता कार्य नियम विपरितका काममा सरकार अघि बढेपछि आफूहरूसहित सबै विपक्षी पार्टीबाट उचित जवाफ खोजिरहेका बेला सरकार प्रश्नको जवाफ दिन नसकी भागेर टार्न खोजेको तामाङको तर्क छ।  

सरकारमाथि विभिन्न प्रश्न उठेपछि सत्ता जोगाउन सर्वदलीय बैठक बोलाएका बेला विपक्षीले बहिस्कार गरेपछि मुख्यमन्त्री पौडेल अविश्वासको प्रस्ताव आउन थालेको भयले त्रसित बनेको नेता तामाङ बताउँछन्। 

प्रदेशसभाको विवेकशील साझा पाटीले पनि हठात अधिवेशन गरिएकोप्रति आफ्नो असहमति रहेको जनाएको छ। प्रदेशसभाका सदस्य रमेश पौडेलले थाहाखबरसँगको कुराकानीमा सदनमा उठाइएका सवालबारे जवाफ दिनुपर्नेमा हठात् रुपमा अधिवेशन अन्त्य गरिएकोप्रति आफ्नो पार्टीको विरोध रहेको बताए। ‘विपक्षीहरु एकमत भएर सदनमा जुन विषयबारे सरकारसंग जवाफ मागिएको थियो त्यसलाई सम्बोधन गर्नुपर्नेमा अधिवेशन अन्त्य गरिएकोमा हाम्रो विरोध छ।’ पौडेलले भने, ‘प्रदेशसभामा दलले उठाएका मुद्दालाई वेवास्ता गरी उहाँहरु एक्लै हिड्न खोजेको देखियो।’    

साविक नेकपा हुँदा मुख्यमन्त्री पौडेलमाथि दर्ता भएको अविश्वासको प्रस्ताव एमाले र माओवादी केन्द्रको एकता सर्वोच्च अदालतले बदर गरिदिएपछि अहिले बागमतीमा एमालेको एकल बहुमतको सरकार छ। 

एमालेमा पनि माधव नेपाल पक्षको पनि मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आएको छ। सरकारप्रति असन्तुष्टि जनाएपनि एउटै पार्टी भएकाले सरकारमाथि अविश्वास गर्ने र सरकार बदल्नुपर्ने पक्षमा आफूहरुको धारणा नरहेको एमाले माधव पक्षको भनाइ छ। विपक्षी एक भएर सरकारविरुद्ध लागिपरेको बेला अचानक अधिवेशन अन्त्य गरिनु अविश्वासको प्रस्ताव आउला भन्ने डर नै भएको माधव पक्षको पनि बुझाइ छ। 

बागमती प्रदेशमा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, विवेकशील साझा, नेमकिपा, राप्रपाले सरकार मनपरी ढङ्गले चलेको भन्दै सरकारविरुद्ध सदनमा आवाज उठाउँदै आएका थिए। 
मंगलबार राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गरिएपछि दुई वटा विधेयक पेश नै हुन नपाई रोकिएको छ। हिउँदे अधिवेशनमै पास गर्नुपर्ने कार्यसूचीमा रहेको बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले पेश गरेको सडक सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको पर्यटन सम्बन्धी विधेयक छलफलमै नपुगी रोकिएको हो। महालेखा परीक्षणको प्रतिवेदन, लोक सेवा आयोगको प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पनि पेस हुन नभई अधिवेशन अन्त्य भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.