|

गोरखा : गोरखाका धार्मिकस्थलहरूमा वैशाख मसान्तसम्म नित्य पूजाबाहेकका पूजाआजामा गर्न रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै वैशाख मसान्तसम्म जिल्लामा रहेका सम्पूर्ण मठ, मन्दिर, चर्च, मस्जिद बन्द गर्ने जनाएको हो।

‘कोभिड १९ विपद व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ‚’ प्रमुख जिल्ला अधिकारी शालीग्राम पौडेलले भने‚ ‘नित्य पूजा गर्दा पनि तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ।’

यस्तै‚ कोभिड १९ विपद व्यवस्थापन समितिको बैठकले होटल तथा रेष्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउन निर्णय गरेको छ। खुला रहेको बेला पनि कामदारले मास्क, सेनिटाइजर, भाइजर र पन्जा अनिवार्य लगाउनुपर्नेछ।

मास्क नलगाउनेलाई होटल तथा रेष्टुरेन्ट प्रवेशमा पनि रोक लगाउनुपर्ने र ग्राहक मास्क नलगाई आए व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउन सक्ने बैठकले निर्णय गरेको छ। दुई सेवाग्राहीबीच कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने प्रशासनले जनाएको छ।

सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने

यस्तै‚ सार्वजनिक सवारी साधन दैनिक निसंक्रमित गरेर मात्रै चलाउनुपर्ने निर्देशन दिइएको छ। यस्तै‚ यात्रुहरूले मास्क अनिवार्य लगाउनुपर्ने निर्णय भएको छ।

सवारी साधनमा सिटभन्दा बढी यात्रु राख्न नपाइने, सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, सवारी चालक र सहचालकले अनिवार्य भाइजर लगाउनुपर्ने निर्देशन दिइएको छ।

त्यस्तै, कुनै यात्रुले मास्क नलगाई आएमा चालकले अधिकत १० रुपैयाँ लिई मास्क उपलब्ध दिनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.