|

कालिकोट : कालिकोट जिल्लाका राजनिति दलले विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गछौँ भन्दै विद्यालयमा कुनै पनि राजनीति गतिविधि नगर्ने प्रतिबद्धताका साथ हस्ताक्षर गरेका थिए। पछिल्लो समय दलहरूका कार्यकर्ताले आफैंले गरेका प्रतिबद्धता उल्लंघन गर्न थालेका छन्।

२०७३ असारमा दलले विद्यालय शान्ति क्षेत्र गर्छाैं भन्दै हस्ताक्षर गरेका थिए। प्रतिबद्धतामा दलले विषेश गरी विद्यालयमा आफ्ना पार्टी र भ्रातृ संगठनका कुनै पनि राजनीतिक गतिविधि नगर्ने उल्लेख छ।

दलका प्रमुखले गरेको हस्ताक्षरको मसी सुक्न नपाउदै विद्यालयलाई दलीय भेलाको अखडा बनाएपछि त्यसको विरोधसमेत भयो। लगत्तै विद्यार्थी संगठनले शनिबार पारेर वा विद्यालय बन्दको दिनमा कार्यक्रमस्थल विद्यालयलाई बनाउन थाले। पछिल्लो समय भने विद्यालयलाई राजनीतिक दल र तिनका कार्यकर्ताले अड्डा नै बनाउन थालेका छन्।  

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि विशेषगरी माओवादी प्रभावित जिल्लाका विद्यालयलाई उनीहरूले प्रशिक्षणस्थलको रूपको प्रयोग गर्न थालेका छन्। उनीहरूले आमसभा गर्ने मुख्य केन्द्र नै विद्यालयलाई बनाउन थालेका छन्। विद्यार्थीलाई आोफ्नो पार्टीका समर्थक बनाउन उनीहरू संगठन विस्तारमा लागिपरेका छन्।  

सशस्त्र द्वन्द्वका बेला कालिकोट माओवादीको केन्द्र नै बनेको थियो। विभिन्न धाकधम्की यातना, अपहरण, कुटपिट बन्धक बनाउने माओवादीको दैनिकी नै थियो।अन्य दलको सुराकीमै माओवादीको समय बितेको थियो। 

शान्ति प्रक्रियामा आएपछि यो अवस्थाको अन्त्य भएको थियो। तर फेरि पनि विद्यालय र विद्यार्थीमाझ आफ्नो स्वार्थ सिद्ध गर्न पार्टीहरू, त्यसमा पनि माओवादीले जिल्लामा रहेका विद्यालयका ससाना विद्यार्थीमा आफ्नो राजनीतिक विचार लाद्न थालेका देखिन्छन्। जसको उदाहरण महावै गाउँपालिकामा रहेको देव मावि एक हो।  

माओवादी कार्यकर्ताले ससाना कलिला बालबालिकालाई 'लालसलाम' गर्न लगाएको फोटो यतिबेला सार्वजनिक भएको छ।  शैक्षिक जागरणको हवला दिँदै माओवादी कार्यकर्ताले विद्यालयमै गएर बालबालिकालाई आफ्नो पार्टीको आन्दोलनबारे र संघीय सरकारविरुद्ध लाग्न उर्दी नै जारी गर्न थालेको छ। 

जसप्रति केही विद्यार्थीले प्रतिवाद गरेका पनि गरेका थिए। विद्यालय चलिरहेका बेला कक्षा कोठामै गएर पार्टीको झण्डा राख्ने र संगठनबारे पढाउन थालेका छन्।

जिल्लामा मा‌ओवादीको यो क्रियाकलापविरुद्ध सबैले खुलेर विरोध गरेका छन। देव माविका प्रअ देउलासिहं ठकुरीले आफू बिरामी भएर सुर्खेतमा आएको मौका छोपी माओवादीले विद्यालयमा नियमविपरीत गतिविधि गरेको प्रतिक्रिया दिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नमुना विद्यालय घोषणा गरेको देव माविमा माओवादीले आफ्नो पकेट क्षेत्र बनाउन पनि यो हर्कत गरेको जिल्लास्थित सरोकाराबाला बताउँछन्। 

मुख्यमन्त्री माओवादीकै भएकाले पनि कब्जा गर्ने मनशाय उनीहरुमा भएको र यो शिक्षा क्षेत्रमाथिको हमला भएको अभियान्ताहरू बताउँछन्। माओवादीसँगै एमालेले पनि विद्यालयमा नियमविपरीत आफ्ना गतिविधि बढाएको भेटिएको छ। एमालेले पनि विद्यालयमा आफ्नो संगठन बनाउन थालेका भेटिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.