वर्षाले प्रभावित मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरी

|

काठमाडाैं : नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगिताको पाँचौ खेलमा बुधबार मलेसियाले नेदरल्याण्ड्ससँग डिएल पद्धतिमा बराबरी खेल्दै अंक बाँडेपछि नेपालले एक खेल अगावै फाइनलको यात्रा तय गरेको हो। अंक तालिकामा नेदरल्याण्ड्स पहिलो स्थानमा छ।

उसले ४ खेलमा २ जित र १ बराबरीसँगै ५ अंक बटुलेको छ। यो नतिजाले मलेसिया भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ। मलेसियाले ३ खेलमा २ हार र १ बराबरीसँगै १ अंक मात्र बटुलेको छ।

मलेसियाले अझै नेपालसँग खेल्न बाँकी रहेको छ। त्यो खेलमा मलेसियाले बाजी मारे पनि उसको मात्र ३ अंक पुग्ने हुँदा नेपालले यो खेल अगावै फाइनलमा स्थान बनाएको हो।

नेपालले ३ खेलमा २ मा जित र १ मा हारसँगै ४ अंक जोडेको छ। नेट रनरेटमा पनि नेपाल बलियो छ। बिहीबार मलेसियासँग हुने प्रतिस्पर्धामा हार, जित या बराबरीले नेपाललाई खासै फरक नपर्ने देखिएको छ। 

बुधबार वर्षाले प्रभावित खेलको सुरुमा नेदरल्याण्ड्सले ब्याटिङ गर्दा खेललाई १३ ओभरमा छोट्याइएको थियो। नेदरल्याण्ड्सले १२ दशमलव ५ ओभरमा ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएको थियो।

त्यसपछि खेललाई १३ ओभरमा छोट्याउँदा नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। डिएल पद्धतिको आधारमा सुरुमा मलेसियालाई जितका लागि १ सय २० रनको लक्ष्य दिइए पनि पछि १० ओभरमा खेल झारेर ९२ रनको लक्ष्य दिइएको थियो।

सुरुमा १ सय २० रनको लक्ष्य सहित मैदानमा उत्रिएको मलेसियाले ६ ओभरमा बिना कुनै विकेटको क्षतिमा ५६ रन बनाउँदा फेरी पानी पर्न थालेपछि  खेललाई १०) ओभरमा झारेर लक्ष्य पनि ९२ रनको दिइएको थियो।

मलेसियाका सहिद अजिजले ३० रनको योगदान दिँदा अनवर अरुद्दिन २३ रनमा नेदरल्याण्ड्सका बलर सेवास्तियन ब्रतको बलमा सिकार भए। भिरनदीप सिंहले  १४ रन जोड्दा अमिनुद्दिन राम्लेले ९ रन मात्र बनाउन सके। 

यसअघि, त्रिवि क्रिकेट मैदानमा १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले।

कप्तान पिटर सेलारले ३७ रन जोडेका थिए। एन्टोनियस स्टाल १० रनमा अविजित रहदा टोबिआस भिसी र बास डी लिडी रनको खाता नखोली आउट भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.