|

काठमाडाैं : सर्वोच्च अदालतले एमाले र माओवादी भिन्नभिन्नै बनाइदिएपछि पूर्वप्रधानमन्त्री माधव नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रत्यक्ष भेटघाट आज भयो।

२३ फागुनको सर्वोच्चको फैसलाअनुसार पुनर्स्थापित एमालेको ओली र नेपाल समूहका नेताहरुबीच २ चैतमा पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो। त्यसयता नेपाल–ओली सम्भवतः भेट भएको थिएन। २३ फागुनको छलफलमा नेपाल समूहले २८ फागुनमा आफ्नो पक्षका नेताहरुलाई मात्र राखेर गरेको निर्णय खारेज गर्न गरेको आग्रह ओलीले अस्वीकार गरेका थिए।

आज अकस्मात् प्रधानमन्त्री ओलीले माधव नेपालसँग भेट गरे। नक्सालस्थित होटल मेरियटमा भएको भेटघाट करिब दुई घण्टा छलफलमा बित्यो। भेटमा एमाले महासचिव तथा अर्थमन्त्री विष्णु पाैडेल पनि सहभागी भएका थिए। 

पूर्वसूचना नदिई हठात् भएको भेटघाटबारे सञ्चारमाध्यमलाई दुवै नेताले प्रतिक्रिया दिन मानेनन्।  

नेपाल समूहका नेता योगेश भट्टराईले आजै बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसमक्ष पार्टी एकता जोगाउन भन्दै ‘बिन्ती चढाएका’ थिए। उनले ओलीलाई पार्टी अध्यक्ष भएको नेताले विगतका तीतामीठा बिर्सिन र अब पार्टी एक ढिक्का बनाउन ओलीलाई आग्रह गरेका थिए। उनले शीर्ष नेताहरुबाटै संवाद बढाउन आफ्ना समूहका नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतसँग कुरा गर्न भनेका थिए।

भट्टराईकै आग्रह वा ओलीको पार्टी एकढिक्का बनाउने 'एक्कासिको सोच'ले आज यो भेटघाट सम्भव भयो। 

हिजो अर्थात् मंगलबार अध्यक्ष ओलीले केन्द्रका २७ सहित ३२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका थिए। उक्त पत्रमा तपाईंहरूलाई के कति कारणले कारबाही नगर्ने? भन्ने प्रश्नसहितको पत्र थियो। 

आज सर्वोच्च अदालतमा माधव समूहले ओलीले गर्ने कारबाही रोक्न भन्दै रिट बुझाएका थिए। तर रिट दर्ता भने भएन। नेपाल समूहले ओलीले गरेका एकलौटी निर्णय खारेजीको माग गर्दै पार्टी माओवादी केन्द्रसँग एकता हुनुपूर्वकै अवस्थाबाट अघि बढ्नुपर्ने बताएको थियो। 

आजको मेरियट भेटघाटको चाँजो मिलाएका अर्थमन्त्री पौडेल र आर्थिक सल्लाहकार मोती दुगडले समेत यसबारे केही खुलाएनन्। दुई शीर्ष नेताको भेटघाट सकिन लाग्दा होटल परिसर पुगेका दुगडले आफू अचानक आएको सञ्चारमाध्यमसँग प्रतिक्रिया दिए। उनले यत्ति भने, दुवै नेता प्रफुल्ल मुद्रामा हुनुहुन्थ्यो मैले राम्रै संकेत देखेको छु।

बैठकपछि भएका कुनै पनि प्रकारका निर्णय सार्वजनिक नगरिए पनि यो बैठकले नेपाली राजनीतिमा थप नयाँ तरंग ल्याएको प्रस्टै छ। भेट पूर्वयोजनाअनुसार थियो वा अकस्मात‍्को हो भनी हामीले एमाले नेता सुरेन्द्र पाण्डेलाई सोधेका थियाैं। तर उनले यसबारे आफूलाई कुनै प्रकारको जानकारी नभएको बरु आफूले पनि यसबारे बुझ्न खोजेको प्रतिक्रिया दिए। भने, 'दुई जना मान्छे बाटोमा अकस्मात् भेट भयो भने उनीहरूले के कुरा गरे त्यसलाई के भन्ने, मलाई यसबारे केही जानकारी छैन। म त्यहाँ थिइनँ।'

उनको भनाइबाट पनि के स्पष्ट हुन्छ भने आजको 'मेरियट भेटघाट'मा पार्टीका दोस्रो तहका धेरैजसो नेतालाई यसबारे पूर्वजानकारी थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.