|

धनकुटा : एकजना विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ता धनकुटा नगरभरिका विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने भएको छ।

धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी) को बुधबार बसेको बैठकले विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाई विधिको उपयोग गरी शैक्षिक गतिविधि संकलन गर्ने निर्णय गरेको हो।

परीक्षा संचालन भइरहेको विद्यालयको हकमा भने स्वास्थ्यका मापदण्ड कडाइका साथ पूर्णरूपमा पालना गरी परीक्षा संचालन कार्य निरन्तर गरिनेछ।

संक्रमण भेटिएका विद्यार्थीको सम्पर्कमा रहेका १६ जनाभन्दा विद्यार्थीहरुमा सो रोगसँग मिल्दोजुल्दो लक्षण रहेको पाइएकाले संक्रमण अझ फैलन सक्ने सम्भावना रहेको हुँदा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै निर्णय गरिएको धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए।

नगरभरिका १० वडामा ५३ वटा सामुदायिक तथा संस्थागत विद्यालय संचालनमा छन्। उनले आगामी १७ गते शुक्रबारसम्म स्थिति हेरेर भौतिक रुपमा पठनपाठन गर्न खुला विद्यालय खुलाउने वा निरन्तर दिने निर्णय पछि लिइने बताए।

धनकुटामा रहेका सामुदायिक एवं निजि शैक्षीक संस्थाहरुमा समेत रुघा, खोकी र ज्वरोको प्रकोप बढेर विद्यालयमा विद्यार्थी न्यून भएपछि नगरपालिकाले गरेको निर्णय सही भएको गोकुण्डेश्वर बालमन्दिर माविका प्रधानाध्यापक दामोदर मिश्रले बताए।

सदरमुकाम स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स क्याम्पसमा एच चौथो वर्षमा अध्ययनरत २० वर्षीय विद्यार्थीमा वुधवार लक्षण सहितको कोरोना संक्रमण भेटिएको थियो। उनलाई केहिदिन यता उच्च ज्वरो र निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले बताए।

वुधवार हेल्थ साइन्स क्याम्पसका १७ र भर्ना भएका दुई गरी १९ जनाको पिसिआर परीक्षण गरिएको उनले बताए। विद्यार्थीलाई संक्रमण पुष्टि भएपछि अनिश्चित कालसम्मको लागि हेल्थ साइन्स बन्द गरिएको क्याम्पस प्रशासन प्रमुख खगेन्द्रप्रसाद घिमिरेले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.