कांग्रेसको महाधिवेशन जुनसुकै हालतमा पनि भदौमा हुन्छ

|

काठमाडौं : पछिल्लो समय नेपालको राजनीति थप संकटतर्फ उन्मुख भइरहेको छ। संसद् विघटनदेखि पुन:स्थापनासम्म आइपुग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पूर्णरूपले मौन देखिएको थियो। पार्टीको एक पंक्तिले केपी शर्मा ओलीको कदमलाई विरोध गरे पनि सभापति शेरबहादुर देउवा भने मौन बसे।

ओली सरकारविरुद्ध कांग्रेसले कडा कदम चाल्नुपर्ने कांग्रेसभित्र आवाज उठिरहेको छ। पार्टी पंक्तिमा त्यो आवाज उठाउनेमध्ये नेता प्रदीप पौडेल पनि एक हुन्।

कांग्रेसले ओलीको कदमलाई आक्रमक रूपमा प्रस्तुत हुन नसकेको पौडेल स्वीकार गर्छन्। संविधान र लोकतन्त्र वैकल्पिक सरकार निर्माण गर्ने सन्दर्भमा यदि सहमति जुट्न सक्छ भने नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरामा उनले जोड दिन्छन्।

यदि कांग्रेसको पहल सम्भव भएन भने विकल्प खोज्ने सन्दर्भमा कसैको नेतृत्वमा सरकार बनाएर अगाडि जान सक्ने उनको बुझाइ छ। कांग्रेसको नतृत्‍वमा  सरकार निर्माण गर्नेदेखि समयमै महाधिवेशन हुनेबारे पौडेलसँग थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

मुलुकलाई जारी राजनीतिक संकटबाट निकास दिन कांग्रेससँग भएको दृष्टिकोण के हो?

मुलुकमा जुन परिस्थिति उत्पन्न भएको छ, त्यो परिस्थिति तत्कालीन नेकपाले दुईतिहाइ बोक्न नसकेकाले उत्पन्न भएको हो। जनताको विश्वास प्राप्त गरेको दलले जनविश्वासअन्तर्गत काम गर्न नसक्दा अहिलेको परिस्थिति आएको हो।

कांग्रेस  प्रतिपक्षमा बस्ने गरी जनताबाट म्याण्डेड प्राप्त गरेको पार्टी हो। कांग्रेसले प्रतिपक्षको भूमिका नै प्रभावकारी बनाउन चाहन्थ्यो। हामीले पाँच वर्षमा सत्तामा जाने पहलसम्म गरेको स्थिति थिएन। तर, तत्कालीन नेकपाभित्रको विग्रहका कारण पार्टी फुट्यो।  

हाम्रै नेतृत्वमा सरकार बन्छ भने ठिक छ। नत्र हामीबाहेक अन्य कसैको नेतृत्वमा सहमति बढ्छ भने हामी तयार छौं भनेर हामीले भनिरहेका छौं। 

संविधान र लोकतन्त्र जोगाउन कांग्रेसले राजीनामा माग गरेको छ। वैकल्पिक सरकार निर्माण गर्ने सन्दर्भमा यदि सहमति जुट्न सक्छ भने नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका निम्ति हामीले पहल गर्ने भनेका छौं।

यदि त्यो पहल सम्भव भएन भने विकल्प खोज्ने सन्दर्भमा हामी कसैको नेतृत्वमा सरकार बनाएर अगाडि जान सक्छौं भनेर भनिरहेको  स्थिति हो। 

नेपाली कांग्रेसभित्र गुटगत विवाद अहिले सरकार परिवर्तनसम्म आइपुगेको देखियो, सरकारमा जान तपाईंहरूलाई केले रोकिरहेको छ?

सरकारमा जुनसुकै मूल्य चुकाएर पनि जानुपर्छ भन्ने हाम्रो भनाइ होइन। खाली विकल्प दिने सन्दर्भमा यदि नेपाली कांग्रेसको नेतृत्वमा सहमति जुट्न सक्छ भने हामीले त्यसका लागि तयार छौं भनेर भनेका हौँ।

मूलत:  कांग्रेसले नेतृत्व लिन खोज्दा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्छ। जसपाले कांग्रेसको नेतृत्व स्वीकार गर्छौ भन्न सक्न पर्‍यो। यसले मात्र नेतृत्व स्वीकारको परिस्थिति निर्माण हुन सक्छ। कांग्रेस एक्लैले सरकारको नेतृत्व गर्छु भनेर वैधानिक हिसाबले संख्या पुर्‍याउने अवस्था छैन।

त्यसकारण कांग्रेसको सरकार गठनका लागि अन्य दलले सहयोग गर्नुपर्ने स्थिति छ। त्यो सहयोग गर्ने वातावरण नबनेको कारणले रोकिएको हो। हामीले हाम्रो पार्टीको सरकार निर्माणका लागि सबै उपाय अवलम्वन पनि गरिरहेका छैनौं। सहमतिको आधारमा अगाडि बढ्ने हो। हाम्रै नेतृत्वमा सरकार बन्छ भने ठिक छ। नत्र हामीबाहेक अन्य कसैको नेतृत्वमा सहमति बढ्छ भने हामी तयार छौं भनेर हामीले भनिरहेका छौं। 

पार्टी सभापति शेरबहादुर देउवाले केही दिनअघि सरकारमा जान हतार छैन, तर परिआए छाडिन्न भन्ने अभिव्यक्ति दिनुभयो, केपी शर्मा ओलीलाई अप्ठ्यारो नबनाउने, अरूले बनाए त्यसैमा अवसर छोप्ने योजना हो?

प्रधानमन्त्री केपी ओलीलाई अफ्ठेरो बनाउने नबनाउने भन्ने सन्दर्भ छँदै छैन। हामीले उहाँको राजीनामा माग गरेका छौं। नैतिक तथा राजनीतिक मान्यताका आधारमा प्रधानमन्त्री कुर्सीमा बसिरहन पनि मिल्दैन।

प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्छ। उहाँले राजनीतिमा नैतिकता पनि जोडिएको हुन्छ भन्ने सन्देश दिनुपर्छ। त्यसैले, राजीनामा माग्ने पार्टीले कसरी सहयोग पुर्‍याउँछ। उहाँलाई सहयोग पुर्‍याउने कुनै कारण नै छैन। उहाँले निर्वाचित संसद् विघटन गर्नुभएको थियो। अदालतले असंवैधानिक भनिदिएको छ। असंवैधानिक कदम चाल्ने व्यक्ति  प्रधानमन्त्रीको पदमा बसिरहन मिल्दैन।

त्यसैले उहाँलाई सहयोग पुर्‍याउने मनशाय हाम्रो छैन। जति सक्दो उहाँ प्रधानमन्त्रीको पदबाट बाहिरिनुपर्छ भन्ने हाम्रो आशय हो।  नेपाली कांग्रेस सरकारमा जान जुन खालको वातावरण अथवा गणित हुनुपर्ने हो त्यो नहुँदा हामीले चाहेर मात्र हुने कुरा भएन नि। अहिले हामी प्रतिपक्ष भएको कारण आक्रामक हुन जरुरी छ।

हाम्रो रणनीति बदल्न जरुरी छ। सबै विषय उठाउन जरुरी छ। एउटा प्रतिस्‍पर्धी राजनीतिक दलले गरेको गलत कार्यलाई ‍औलाएर विरोध गर्न जरुरी छ। हामीले पार्टीभित्र पनि यो विषय उठान गरिरहेका छौं। 

प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको, सदनमा नागरिकका आवाज उजागर गराउनुपर्ने दल कांग्रेस चरम विवाद र गुटगत अभ्यास झांगिएका कारण आफैँ प्रतिरक्षात्मक बनेको भन्दै आलोचना भइरहेको छ, यो आलोचनालाई तपाईं खण्डन गर्न सक्नुहुन्छ?

अहिलेको परिस्थिति बुझ्ने सन्दर्भमा जति आक्रमक हुनुपर्ने हो। त्यसो हुन नसकेको कुरालाई मैले स्वीकार्नुपर्छ। तर, कांग्रेसले विषय नै उठाएन भन्ने चाहिँ हुँदै होइन। विषय उठाएर त्यसलाई टुंगोमा पुर्‍याउन सकेन।

कांग्रेसको उपस्थितिमा लोकतान्त्रिक मूल्य र मान्यताहरूमाथि प्रहार हुँदै गयो। विधि र व्यवस्थामाथि प्रहार हुँदै गयो। कांग्रेसको उपस्थितिले ती गतिविधिहरूलाई  रोक्न र निषेध  गर्न  सकेन। यो एउटा गम्भीर विषय हो। प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरिसकेपछि हामी आन्दोलनलाई सडक केन्द्रित  गरेर आक्रामक बन्न सकिन्थ्यो। त्यसपछि अदालतले संसद् विघटनलाई असैवंधानिक ठहर गरिसकेपछि हामीले  ओलीले राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौं भनेर अडान लिन सक्नुपर्थ्यो।

हाम्रो सभापति, वरिष्ठ नेताहरू त्यो विषयमा प्रखर रूपमा बोल्न सक्नुपर्थ्यो। हामीले विषय त उठायौं। तर, उठाएर परिणाममुखी बनाउने गरी आक्रामक हुन सकेनौं। अब हामीले रणनीति बदल्नुपर्छ।  नेकपाले दुईतिहाइको नेतृत्व लिन नसकेको, नेपालमा संविधान जारी भइसकेपछि पनि समाधान दिन नसकेको र मुलुकलाई एउटा मौकाबाट चुकेको कुरालाई जनताका बीचमा लैजानुपर्छ। यो सबै समस्याको समाधान निर्वाचन हो। जसले बहुमत ल्याएको थियो। त्यसले नेतृत्व लिन सकेन। अब नयाँ निर्वाचनले समाधान लिन सक्छ।

नयाँ  निर्वाचनको हकमा हाम्रो कुरा के हो भने संवैधानिक व्यवस्थाभित्र बसेर र संसदको बाँकी अवधि चल्न दिएर चुनाव गर्ने। तर, नयाँ निर्वाचन ओलीको नेतृत्वमा  सम्भव छैन।  किनकि उहाँबाट निष्पक्ष निर्वाचन हुनै सक्दैन। ओलीको काम गर्ने शैली हामीले हेरेका छौं। निष्पक्ष निर्वाचन सुनिश्चित हुने गरी संवैधानिक व्यवस्थाभित्र बसेर छिटो निर्वाचन गरेर अगाडि बढ्ने नेपाली कांग्रेसको अवधारणा हो। 

तपाईंहरू पार्टी हाँक्न युवा नेतृत्व आवश्यक रहेको बताउनुहुन्छ, तर सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच हुने लडाइँमा थिचिनुहुन्छ, यो अलमलबाट तपाईंहरू कहिले उम्कने?

हामीले सान्दर्भिक रुपले उठाइरहेका छौं।  हामी युवाले आवश्यक हस्तक्षेप गर्न सकेका छैनौं। परिणाममुखी हुनेगरी विचारहरूलाई  सम्प्रेषण गर्ने अथवा निर्णयमा पुर्‍याउने काम गर्न सकिरहेका छैनौं। 

भदौमा पनि महाधिवेशन भएन भने पार्टीको वैधता नै समाप्त हुन्छ। भदौमा जुनसुकै हालतमा पनि महाधिवेशन हुन्छ। हामीले यसका लागि तयारी गरिरहेका छौं। निर्वाचन समितिको संयोजक बुधबार नै छनोट गरिसकेका छौं।

यो आफ्नो ठाउँमा छ। यद्यपि विषय उठाउन, बहस गर्न छोडेको अवस्था होइन। नेपाली कांग्रेसले संस्थागत हिसाबले जे निर्णय गरेको छ, त्यो निर्णय नै कांग्रेसको आधिकारिक धारणा हो। अहिले केपी ओलीको विकल्प कांग्रेसले संस्थागत निर्णय गरेर खोजेको अवस्था छ। 

तर, कुन नेताले कसरी प्रस्तुत गरिरहेको छ वा अभिव्यक्ति दिने सन्दर्भमा जनतालाई बुझाउन सक्यौं वा सकेनौं भन्ने एउटा विषय हुन  सक्छ। तर, युवा नेताहरूको पहलमा नै  कांग्रेसले संस्थागत हिसाबले निर्णय गरिरहेको छ।

केपी ओलीका गलत रवैयाका विषय उठाइरहेका छौं। विभिन्न विधेयकहरू जसले लोकतन्त्रमाथि प्रहार गरेको थियो। ती विधेयक रोक्ने काम गरेका थियौं। भ्रष्टाचारका मुद्धाहरू छानविन हुनुपर्छ भनेर भनिरहेका छौं।

दुईतिहाइको सरकारले अध्यादेशमार्तफ कानुन बनाउने कुरा आफैँमा गलत छ र ति विधेयकले अस्थिरता निम्त्याउने निश्चित छ भनेर कार्यान्वयनबाट रोक्यौँ।  संसद् विघटनका कुरालाई पनि हामीले विरोध गरिरहेका छौं। यसलाई आक्रामक  बनाउन सकेनौं। यो रणनीतिबाट हामी चुकेका छौं। यसमा हाम्रो मुल  नेतृत्वको कमजोरी देखिन्छ।

लोकतन्त्र र संविधानको कुरा गर्नुहुन्छ।  लोकतान्त्रिक भनिएको पार्टीले भ्रातृ संस्थाहरू नै गठन गर्न सकेको छैन, भएका पनि लथालिंग छन्‌, किन यस्तो?

भ्रातृ संस्था तिनका विधानअनुसार चल्नुपर्छ। त्यसमाथि हस्तक्षेप गर्ने होइन कि तिनीहरूको भ्रातृ संगठन चल्ने वातावरण निर्माण गर्ने सन्दर्भमा पार्टीले भूमिका खेल्नुपर्छ। समन्वय गर्नुपर्छ। 

हामीले भ्रातृ संगठन नै नेतृत्वतिर ल्याउन लाग्यौं। नेतृत्व हामीले ल्याउने होइन कि नेतृत्व त्यही जमिनबाट आउने स्थिति ल्याउनका निम्ति काम गर्नुपर्छ। केही कुरा त्रुटि भएका छन्। यसलाई हल गर्नुपर्छ। 

लोकतान्त्रिक भनिएको पार्टीभित्र तपाईंहरूले लोकतन्त्रको अभ्यास किन गर्न सक्नुभएन ?

विधि व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा आन्तरिक लोकतन्त्रलाई विकसित र प्रभावकारी बनाउने क्रममा त्रुटिहरू देखिएका छन्। पार्टीभित्र उठेका मुख्य विषयहरू नै ती विषयहरू पर्दछन्।

ती विषय प्रभावकारी कार्यान्वयन गर्ने विधि व्यवस्थाअनुसार पार्टी सञ्‍चालन गर्ने, आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने सन्दर्भमा हामीले सच्याउनुपर्ने थुप्रै विषयहरू छन्। हामीले बहस सञ्‍चालन गरिरहेका पनि छौं। 

कांग्रेसको महाधिवेशन अनेक वहानामा तारन्तार सार्ने गरिएको छ, यो संस्कार जस्तै भइसक्यो, भदौमा तोकिएको महाधिवेशन हुन्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ?

भदौमा पनि महाधिवेशन भएन भने पार्टीको वैधता नै समाप्त हुन्छ। भदौमा जुनसुकै हालतमा पनि महाधिवेशन हुन्छ। हामीले यसका लागि तयारी गरिरहेका छौं। निर्वाचन समितिको संयोजक बुधबार नै छनोट गरिसकेका छौं।

हामीले झण्डै  साढे ६ लाख क्रियाशील सदस्यता इन्ट्री  गरिसकेका छौं। डेढ लाखको हाराहारीमा बाँकी छ। समस्याहरू हल गर्दै महाधिवेशनको तयारी गरिरहेका छौं। तल्लो तहदेखि केन्द्रको सभापतिसम्म सबै इमान्दार हुने हो भने महाधिवेशन हुन्छ, हुनैपर्छ। महाधिवेशन नभएमा पार्टीको वैधतामा नै संकट आउने भएकोले महाधिवेशनको विकल्प नै छैन। सबैले आफ्नो जिम्मेवारी पूरा गर्‍यो भने महाधिवेशन हुन्छ। 

महाधिवेशनमा तिनै अनुहार हुन्छन् कि नयाँ अनुहार पनि देखा पर्छन्? 

अहिले प्रशस्त नयाँ  अनुहारहरू आउनेछन्। कांग्रेसमा कार्यशैली परिवर्तन गर्नुपर्छ। एजेण्डा सान्दर्भिक बनाउनुपर्छ। नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने कुरा अगाडि ल्याउनुपर्छ भन्ने व्यापक ढंगले कुरा उठिरहेको छ। यसले गर्दा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन परिस्थिति बनाउँछ भन्ने मेरो बुझाइ हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.