|

म्याग्दी : नेपाली समाजमा चल्तीको एउटा उखान छ “काम कुरो एकातिर,कुम्लो बोकी ठिमीतिर।” ठ्याक्कै यही उखान चरितार्थ भएको छ म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू कार्यालयको सबैजसो काम ठप्प पारेर 'बिनाउद्देश्य' यतिखेर मुस्ताङ भ्रमणमा छन्। चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा १५ प्रतिशत मात्र विकास बजेट खर्च गरेको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी घुम्न निस्किएका हुन्।

गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको १० लाख विनियोजन भएको स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न छिमेकी जिल्ला मुस्ताङका स्थानीय तहसँग अन्तरक्रिया गर्ने बहानामा उनीहरू मुक्तिनाथ तीर्थयात्रा र कोरोला नाकाको भ्रमणमा निस्किएका हुन्।

बुधबार साँझ मुक्तिनाथ पुगेका उनीहरूले उपल्लो मुस्ताङस्थित कोरोला नाकासम्म पुगेर वैशाख ११ गते फर्कने कार्यक्रम बनाएका छन्। महिनौंअघि काम सकेका उपभोक्ता समिति र निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको यो भ्रमणलाई 'कुबेलाको भ्रमण'को रुपमा आलोचना, विरोध र टिप्पणी हुन थालेको छ।

गत फागुनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी सरुवा भएर गएपछि डेढ महिनासम्म प्रशासनिक नेतृत्वविहीन बनेको थियो। चैत २० गते मुख्यमन्त्री कार्यालय पोखराबाट सुरुन शर्मा पौडेल उक्त ठाउँमा आएका थिए।

पौडेलले कार्यालयमा बसेर नियमित काम गर्न नसक्दा गाउँपालिकाका पदाधिकारी, जनप्रतिनिधिदेखि राजनीतिकर्मी र सरोकारवालाहरूले उनको कार्यशैलीको विरोध जनाएका थिए। 

उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका अध्यक्षसहित कार्यपालिकाका १२ जना सदस्य सहभागी भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेलसँगै करिब दुई हप्ताअघि मात्रै मुस्ताङ घुमेर फर्केका लेखाअधिकृत जय सुवेदी, शिक्षा शाखाका भरत पुन र अन्य दुई कर्मचारी पनि सहभागी छन्।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका अध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा सहभागी भएनन्।

छैन बजेट खर्च

वैशाखको सुरुमा प्राप्त विवरणअनुसार पुँजीगत (विकास बजेट) तर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन गरेको अन्नपूर्णले जम्मा दुई करोड ३५ लाख १६ हजार ४०० रुपैयाँ अर्थात १५ प्रतिशत बजेट खर्च गरेको छ। जुन अवस्था लाजमर्दो मानिएको छ।

त्यसैगरी ९ महिनाको अवधिमा चालुतर्फ २९ करोड ५६ लाख ७५ हजार ६३० रुपैयाँ बजेट विनियोजन गरेकोमा ९ करोड ५० लाख २६ हजार ५६ अर्थात् ३२ प्रतिशत खर्च गरेको छ। अन्य स्थानीय तहहरूले पुँजीगततर्फ सरदर ३० प्रतिशत बजेट खर्च गर्दा सबैभन्दा कम विकास बजेट परिचालन गर्नेमा अन्नपूर्ण गाउँपालिका पहिलो नम्बरमा आउँछ।

‘वार्षिक कार्यक्रम र स्विकृत बजेट अनुसार कार्यापालिकाको बैठकले निर्णय गरेर मुस्ताङका सबै स्थानीय तहमा अन्तरक्रिया गर्न आएका हाैं’, प्रमुख प्रशासकीय शर्माले भने, ‘म आएपछि पनि आएका उपभोक्ता समिति, निर्माण व्यवसायी र आपूर्तिकर्तालाई भुक्तानी गरेका छौं। आज पनि दुई वटा चेकमा हस्ताक्षर गरेर आएको हो। लेखाको सर पनि आएको हुनाले अब दुई दिन आर्थिक र प्रशासनिक काम हुँदैन। सम्पर्क गरेकालाई ११ गतेपछि आउन भनेका छौं।’

अन्नपूर्ण–८ राम्चेको एक उपभोक्ता समितिका पदाधिकारीले दुई महिनाअघि नै काम सके पनि कहिले प्रशासकीय अधिकृत नहुने र आएपछि पनि बैठक, गोष्ठी, तालिमको बाहनामा कार्यालयमा नबसेकाले भुक्तानी नपाउँदा निर्माण सामग्री बिक्रेता र मजदुरलाई ज्याला दिन नसकेको गुनासो गरे।

गाउँपालिकाको वडा नम्बर ३ को अर्को उपभोक्ता समितिका पदाधिकारीले पनि छिटो काम गर्न दबाब दिएका काम गरेको महिनौं बिते पनि कर्मचारी र जनप्रतिनिधिले भुक्तानीमा चासो नदिई घुमफिरमा निस्कनु लापरबाही, जवाफदेहिताको कमी र अराजकताको उपज भएको बताए।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्रशासकीय र लेखा अधिकृतलाई कामको चाप भएको बेला भ्रमणमा नजान भनेको नमानेका प्रतिक्रिया दिए। भ्रमणमा सहभागी वडा न. २ का अध्यक्ष ओमप्रकाश फगामीले कार्यवाहकलाई जिम्मा दिएर आएकाले वडाको नियमित काममा असर नपर्ने प्रतिक्रिया दिए। उपभोक्ता समितिहरूलाई सम्बन्धित वडाका अध्यक्षहरूले व्यवस्थापन गरेका उनको भनाइ थियो। 

गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा न. ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। गाउँसभाका एक सदस्यले जनताको सेवा र काम गर्न छाडेर गरिएको भ्रमणले बजेट सकिए पनि उपलब्धि र प्रतिफल नदेखिने बताए।

अन्नपूर्णमा पछिल्लो समय कर्मचारीहरूको अराजकता र लापरबाही बढेको गुनासो बढेको छ। बिदा हुनुभन्दा एक दिनअघि नै कार्यालयबाट निस्कने केही कर्मचारी बिदा सकिएको भोलिपल्ट दिउँसो दुई बजेतिर कार्यालयमा हाजिर हुने गरेका पनि सेवाग्राहीहरू गुनासो गर्छन्। यसैगरी एकै जना कर्मचारीले एकै महिनामा २४ दिन सम्मको भ्रमण भत्ता खाएका महालेखा परीक्षकको टोलीले औंल्याइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.