|

काठमाडाैं : मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ।

टियू क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थान रहँदै फाइनल पुगेको हो। नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनायो।

खराब सुरुवात गरेको मलेसियाले पहिलो तीन ओभरमा नै दुई विकेट गुमाइसकेको थियो। पहिलो ओभरको चौथो बलमा साद अजिजलाई गुमाएको मलेसियाले तेस्रो ओभरको तेस्रो बलमा अनवर अरुदिनलाई गुमायो।

मलेसियाका लागि अमिनउद्धिन रम्लीले सर्वाधिक ४१ रन बनाए, यस्तै अहमद फाइज मोहम्मद नुरले ३१ रन बनाएका थिए। त्यस्तै फित्री शामले १४, विरन्दीप सिंह १३, मुहम्मद वाफिक १२, अइनुल हाफिजले ११ मा आउट भए।

त्यस्तै  शर्विन मुनियान्दी ३ तथा धिरेन्द्रन मोगन २ रनमा आउट हुँदा अनवर रहमान २ रनमा अविजित रहे।

सन्दिप लामिछाने, कमल सिंह ऐरी, र सोमपाल कामीले समान ३–३ विकेट लिए। सुशन भारीले १ विकेट लिए।

कमल सिंह ऐरीको टि–२० क्रिकेटमा डेब्यु गरेका हुन्। उनले डेब्यु खेलमै ३ विकेट लिएका हुन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।

नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेर फाइनल पुगेको नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ। मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ। अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.