|

सिन्धुपाल्चोक : शिवश्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाको व्यवसायिक उत्पादन सुरू भएको छ। बिहीबार एक कार्यक्रमका बीच सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाको व्यवसायिक उत्पादनको सुभारम्भ गरे।

निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजनाले वैशाख २ गते उत्पादन केन्द्रीय प्रशारण लाइनमा जोडेको थियो। सम्पुर्ण परीक्षणका प्रकृया सकेर आयोजनाले बिहीबारबाट व्यवसायिक उत्पादन सुरू गरेको हो।

नेपाल–चीन सीमावर्ती भोटेकासी गाउँपालिका–४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको शिवश्रीका अध्यक्ष बच्चु पौडेलले बताए। हिउँदको सुख्खा मौसम भएकाले आयोजनाबाट तत्काल साँढे तीन मेगावाट विद्युत उत्पादन भइरहेको उनले जानकारी दिए।

‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ’ अध्यक्ष पौडेलले भन,‘प्राधिकरणले हिउँदमा सात र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत खरिद गर्ने छ।’ अध्यक्ष पौडेलका अनुसार उत्पादित विद्युत बिक्रीबाट महशुलबापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ।

फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट दुई हजार पाँच सय मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोला छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पुर्याइएको आयोजना निर्धारित समय भन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो। २०७३ भित्र सक्ने गरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो।

२०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भोटेकोसी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पुर्याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको शिवश्रीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले बताए। निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको कसजूले जानकारी दिए।

निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको उनले बताए। शिवश्रीका अनुसार सिटिजन बैँक लिमिटेडको अगुवाइमा विभिन्न १२ बैंक तथा बित्तिय संस्थाले आयोजनामा तीन अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।

स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत सेयर बितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को एक अर्ब ४७ करोड रुपैयाँ लगानी रहेको अध्यक्ष पौडेलले जनाए। शिवश्री र विद्युत प्राधिकरणबीच २०६७ मा पीपीए (विद्युत खरिद सम्झौता) भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.