|

भक्तपुर : भक्तपुरको प्रसिद्ध एवम् धार्मिक महत्वको तान्त्रिक नाच नवदुर्गा देवगण सम्बन्धी ‘नवदुर्गा नाच राष्ट्रिय फोटो प्रतियोगिता–२०७८’ हुने भएको छ। सम्पदा संरक्षणको लागि फोटोग्राफी भन्ने नाराका साथ स्थापित संस्था किपा : ग्राफी भक्तपुरले अनलाइनमार्फत फोटो संकलन गरी सो प्रतियोगिता गर्न लागेको हो।

कार्यक्रमको बारेमा जानकारी दिन रफत सञ्चार क्लब भक्तपुरमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष अच्युत प्रजापतिले भक्तपुरको जिवित देवताका रुपमा पुजिँदै आएको नवदुर्गा नाचको फोटोहरु प्रतियोगितामा समाबेश गरिने जानकारी दिए। प्रतियोगितामा सहभागी फोटोमध्ये प्रथम,  द्वितीय र तृतीय हुने फोटोलाई नगद पुरस्कार समेत व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी फोटोग्राफरहरू मध्ये उत्कृष्ट एक सय वटा फोटोका फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिने छ। साथै सर्वोत्कृष्ट १० फोटोका फोटोग्राफरलाई मायाको चिनोसहित सम्मान गरिने छ भने सर्वोत्कृष्ट १० मध्येबाट पहिलो हुने फोटोलाई नगद ३० हजार, दोस्रो हुनेलाई नगद २० हजार र तेस्रो हुनेलाई नगद १० हजार पुरस्कार समेत प्रदान गरिने अध्यक्ष प्रजापतिले बताए।

प्रतियोगितामा सहभागी हुन चाहने फोटोग्राफरले आफुले खिचेको दुई वटा फोटो क्याप्सनसहित किपा : ग्राफीको वेभसाइटमार्फत पठाउनुपर्ने छ। यसअघि कुनै प्रतियोगितामा पुरस्कार जितेको फोटो यो प्रतियोगितामा मान्य नहुने आयोजकले जनाएको छ। प्रतियोगितामा सन् २०१५ यताको फोटो समावेश गर्न सकिने छ।

प्रतियोगिताको लागि आगामी बैशाख १५ गतेदेखि फोटो पठाउन सकिने व्यवस्था छ भने जेठ मसान्तसम्म प्रतियोगीले फोटो पठाइसक्नु पर्ने व्यवस्था गरिएको छ। भक्तपुरको नवदुर्गा देवगण नाँच नेपालको धेरै पुरानो नाँच मध्ये एक हो।

यो नाँच लिच्छवीकालदेखि निरन्तर चल्दै आएको विश्वास गरिन्छ। तान्त्रिक विधिबाट सञ्चालन हुने यो नाँच १६ औं शताब्धीमा प्रार्दुभाव भएको मानिन्छ। यो नाँचलाई नेपाल अधिराज्यभर परिचित बनाउन फोटो प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक रमिति किसीले जानकारी दिइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.