|

काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा माधव-झलनाथ समूहका ३२ सांसदलाई सोधिएको स्पष्टीकरणलाई विश्लेषण गर्ने र निर्णय लिने जनाइएको छ। 

माधव-झलनाथ समूहलाई पार्टीले सोधेको स्पष्टीकरण र सो समूहले दिएको जवाफबारे पनि बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। एमालेले माधव-झलनाथ समूहका  २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई अन्तिम स्पष्टीकरण सोधेको छ। 

माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९  नेताले बिहीबार स्पष्टीकरणको जवाफ पठाइसकेको भट्टराईले बताए। तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणमा आज बुझाउने अन्तिम म्याद छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पाँच र संघीय संसदका २७ जना सदस्यलाई वैशाख ६ गते स्पष्टीकरण सोधेका थिए। 

बैठकमा पार्टीको दशौं महाधिवेशनको तयारीका लागि पनि छलफल हुने  भट्टराईले बताए।  यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले आगामी मंसिरमा गर्ने भनिएको पार्टी महाधिवेशनको कार्ययोजना एमालेले तयार पारिसकेको छ। 

जसअनुसार जेठ मसान्तभित्र सबै प्रदेशदेखि स्थानीय तहसम्मका कमिटीलाई पूर्णता दिने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा तथा पालिका अधिवेशन र जिल्ला अधिवेशन गरिसक्ने एमालेको योजना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.