|

सत्यराज सिंह

बझाङ  : भारतबाट घर फर्केका बझाङ जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भयो। उनी भारतको तामिलनाडुबाट चैत २९ गते बझाङ आएका थिए।

उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो। संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहोलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।

कोभिड १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्‍चालनमा ल्याइएका आइसियु र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन् ।

आइसियु र भेन्टिलेटर सेवा सञ्‍चालनमा नआँउदा अस्पतालले जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेका जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए।

जिल्लामा संक्रमितको संख्या बढ्दै गए पनि जनशक्ति नहुँदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीको भनाइ छ।

नयाँ वर्षका लागि घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण देखियो । आइतबार जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिकाका र जयपृथ्वी नगरपालिकाका दुई जनामा कोरोनाको जस्तो लक्षण देखिएपछि परीक्षण गर्दा दुवै जनामा कोरोना कोरोना पोजेटिभ देखियो।

जिल्ला अस्पतालमै कार्यरत एकजना महिला स्वास्थ्यकर्मीमा पनि कोरोनाका लक्षणहरू देखिए। परीक्षण गर्दा संक्रमण पुष्टि भयो । ती स्वास्थ्यकर्मीमा यसअघि पनि कोरोना पोजेटिभ देखिएको थियो।

कोभिडविरुद्धको पहिलो मात्रा भ्याक्सिन लगाइसकेकी उनलाई पहिलाभन्दा कडा खालका लक्षणहरू देखिएको छ। सबैजना अहिले जिल्ला अस्पतालमा छन्।

ियु र भेन्टिलेटर थन्किए

बझाङका १२ वटै स्थानीय तहको पहलमा स्थापना गरिएको पिसिआर प्रयोगशाला र प्रदेश सरकारले सहयोगमा सञ्‍चालनमा ल्याइएका आइसियु र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालनमा ल्याउन नसकेर त्यसै थन्किएका छन् ।

सेवा सञ्चालनका लागि चार जना कर्मचारी आवश्यक पर्ने र सबैको सेवा सुविधा अस्पताल विकास समितिले व्यहोर्न सम्भव नभएपछि सेवा बन्द गरिए जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।

उनले भने, 'अस्पतालमा उपलब्ध जनशक्ति र सीपकै भरमा भेन्टिलेटर सञ्चालन गर्न सम्भव भएन। आइसीयु र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन। सुरुमा अस्पतालले सेवा सुविधा व्यहोर्ने गरी कर्मचारी माग गरेका हौँ। कोही पनि आएनन्' उनले थपे, 'दुर्गम भनेपछि कसैले आउन मान्दैनन्। प्रदेश सरकारले अस्पतालमा कस्तो जनशक्ति आवश्यक छ भनेर माग गरेको छ। आवश्यक जनशक्ति मागका लागि पत्र पठाउने तयारीमा छौँ। प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्न सके चाँडै सञ्‍चालनमा आउँछ।' जनशक्ति नहुँदा जडान गरिएका उपकरण पनि प्रयोग गर्न नपाएको उनको दुखेसो छ।

सुदूरपश्चिममा कोरोनाको नयाँ संक्रमितको संख्या बढदै गएको छ। रोजगारीका लागी भारत गएकाहरु घर फर्कन थालेसँगै कोरोना संक्रमण देखिन थालेको छ। यही दरमा संक्रमित थपिँदै गए प्रदेशमा उपलब्ध स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्ने चिकित्सकहरु बताउँछन्।

सुदूरपश्चिमका विभिन्न अस्पतालहरुमा जडान गरिएका आइसियु र भेन्टिलेटर पनि प्रयोगविहीन छन्। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका १० वटा अस्पतालमा भेन्टिलेटर र आइसियु जडान गरेको थियो। तीमध्ये सेती प्रादेशिक अस्पताल, टीकापुर, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आइसियु र भेन्टिलेटर सञ्‍चालनका लागि दक्ष जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको अस्पतालहरूले जनाएका छन्।

प्रदेशका ६ पहाडी जिल्ला अस्पतालहरुमा जडान गरिएका आइसियु र भेन्टिलेटर उपकरण प्रयोगमा आउन सकेका छैनन्। पाँच महिनाअघि प्रदेश सरकारको सहयोगमा पहाडी जिल्लाका अस्पतालहरूमा अध्याधुनिक उपकरणसहितका आइसियु र भेन्टिलेटर जडान गरिएको थियो। संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरु भरिन थालेका छन्।  संक्रमण दर यहि गतिमा बढे केहि दिनमा उपचारका लागि आइसीयु र भेन्टिलेटरको अभाव हुने स्वास्थ्यकर्मी बताउँछन्।

संक्रमितको उपचारका लागि रेफरल अस्पताल तोकिएको सेतीको कोरोना अस्पतालमा अहिले २१ जना संक्रमितको उपचार भइरहेको छ।

देशभर उपकरण संचालनका लागि दक्ष प्राविधिक जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए। उनले भने, 'भेन्टिलेटर र आइसियु चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ। जुन देशभर कमै मात्रामा छन्। सबै ठाँउमा जनशक्ति पुर्‍याउन पनि सम्भव छैन।'

संक्रमण फैलन थालेकाले केही हदसम्म नियन्त्रणका लागि आइसियु र भेन्टिलेटर सञ्चालनका लागि जिल्लामा भएका डाक्टर र स्टाप नर्सलाई कम्तीमा पनि तीन महिनाको सानो प्याकेजको तालिम सञ्‍चालन गर्नुपर्ने उनले जोड दिए।

संक्रमणको अवस्था सामान्य नभएकाले यस विषयमा मन्त्रालयमा छलफल भइरहेको पनि उनले सुनाए। एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन नभए पनि कार्यरत चिकित्सकलाई छोटो अवधिको तालिम दिएर ती उपकरण सञ्चालन ल्याउने गरी नीतिगत निर्णय गर्न मन्त्रालयसँग माग भइरहेको पनि उनले सुनाए।

अहिले गड्डाचौकी र गौरीफन्टा नाका भएर नेपाल भित्रने अधिकांश पहाडी जिल्लाहरूमा दिन दुईगुणाका दरले संक्रमित बढिरहेकाले बच्ने उपायहरु अपनाउनुबाहेक अर्को विकल्प नभएको उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.