|

काठमाडौं : कोरोनाको दोस्रो लहर निकै संक्रामक र घातक बन्दै आएको र यही अवस्थामा संक्रमण बढ्दै गए हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने स्वास्थ्यविद्‍ले बताइरहेका छन्।

जुन कुराको पुष्टि हाम्रोमा दैनिक बढ्दै गएको नयाँ संक्रमितको संख्याले पनि पुष्टि भइरहेको छ। यसरी निकै जटिल बन्दै गएको कोरोनाको दोस्रो लहरको समयमा सरकार भने आफै नियमको पालना गरेको पाइँदैन।

हाल कोरोनाको उपचार गर्न भनेर छुट्याइएका अस्पातलहरूमा संक्रमणबाट गम्भीर भएका बिरामीहरूले भरिभराउ छन्। पछिल्लो समय सबैभन्दा धेरै संक्रमित देखिएको काठमाडौं  सबैभन्दा धेरै गम्भीर अवस्थामा पुगेका संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका कोरोनाको उपचार हुने १२ वटा विभिन्न अस्पतालमा ७७ जना आइसियुमा र ४० जना भेन्टिलेटरमा र ३९६ जना आइसोलेसनमा छन्। बिहीबार ५२ जना आइसियुमा र ३८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत थिए। हिजोभन्दा आज उपत्यकामा गम्भीर प्रकारका संक्रमित बढ्दै भएको तथ्यांकले देखाएको छ।  

कोरोना संक्रमितको उपचार गर्दै आएका चिकित्सकले पनि कोरोना संक्रमण  निकै घातक हुदै गएको बताइरहेका छन्।

सवारी समयदेखिनै कोरोना संक्रमितको उपचार गर्दै आएका डा. अनुप बास्तोलाले सामाजिक सञ्जाल मार्फत गत वर्षको भन्दा निकै जटिल र आइसियु र भेन्टिलेटर अभाव भएको भन्दै उनले समाजिक सञ्जालमास सबैलाई सचेत रहन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘ विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन।

अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ। हामी एकदमै डरलाग्दो अवस्थाको संघारमा छौं। घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था? जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ ।‘यसले पनि संक्रमणको जोखिम धेरै जोखिम रहेको पुष्टि हुन्छ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै सरकार

यस्तोबेला सरकार आफैँले भने जनस्वास्थ्यको मापदण्ड पालना गरेको छैन। आज मात्रै प्रधानमन्त्रीले सो नियमको उल्लंघन गर्दै सयौँको सहभागितामा सार्वजनिक समारोहबाटै धरहराको उद्घाटन गरे।

यतिमात्र होइन हिजो मात्रै उनले बालुवाटारमा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्‍न गरे। जुन उपत्यकामा संक्रमण बढ्दै गएको वेला प्रधानमन्त्रीले नै मापदण्ड पालना नगरेको उदाहरण हो।

विज्ञहरूले भने सकभर भिडभाड नगर्न सुझाव दिइरहेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलका अनुसार अहिले संक्रमण कडा लक्षणसहितको र छिटो सर्ने देखिएको हुँदा सकेसम्म भिडभाड भेटघाट कम गर्नुपर्ने बताउँछन्। उनले भने, ‘हाम्रोमा संक्रमण फैलँदो छ यस्तो बेला विभिन्न बहानामा हुने भेटघाट सभाहरूले संक्रमणलाई झन् फैलाउन मद्दत गर्छ।'

यसअघि वैशाख सात गते संक्रमण बढ्दै गएको भन्दै सरकारले धेरै मानिस भेला भएर सार्वजनिक कार्यक्रम गर्न नपाउने, विवाह व्रतबन्धमा  २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.