|

काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा केही दिन अघि स्टाटस लेखे,' उपत्यका बाहिरबाट आउनुभएको विरामीलाई आज उपत्यकाभित्र ५-६ वटा अस्पतालमा करिब १ घण्टा प्रयास गरियो, कोभिड आइसियु बल्लबल्ल सौभाग्यले प्राप्त भयो, अन्तिममा खालि वाला।

अवस्था नाजुक छ। उपत्यका बाहिरबाट उपत्यकाभित्र अस्पतालमा आइसियु बेडका लागि सोधपुछ र खोजी ब्यापक भएको छ। आफू सुरक्षित रहि बाचौँ र अरूलाई बचाऔँ।'

नेपालगञ्जस्थित भेरी अस्पतालका मेसु डा.प्रकाश थापाले पनि पोखरेलकै जस्तो पीडा पोखे,'स्थिति नियन्त्रण बाहिर। कोभिड को लागि छुट्टाएर राखिएका सम्पूर्ण १४२ बेडहरु पूर्णरुपमा भरिभराउ छन्। जटिल प्रकारका संक्रमित बिरामीको आउने क्रम जारी छ।

हामी मूकदर्शक भएर बस्ने बाहेक केही गर्न सक्ने अवस्था छैन। हरेकले आफ्नो ठाउँ बाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ। आउँदा दिन हरु अझै भयावह हुने देखिन्छ। हामी हाम्रो तर्फ बाट सतप्रतिशत दिन्छौं। हरेक नागरिकले आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।'

केही सातादेखि नेपालमा तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसले भयावह रुप लिँदै गएको छ। कोरोनाको दोस्रो वेभ फैलिएपछि देशभरका अस्पतालमा संक्रमित थपिने र बेड नपाउने अवस्था भइसकेको छ। दैनिक २ हजार भन्दा बढी संक्रमित थपिइँरहँदा संक्रमितले बेड पाउन छाडिसकेका छन्।

केही सरकारी अस्पतालले संक्रमितका लागि उपचारका नयाँ बेड थप्ने योजना समेत बनाएका छन्। संक्रमितको संख्या निरन्तर बढ्दाे छ, तर गम्भीर प्रकृतिका संक्रमितले बेड पाउन छाडे। उपत्यका बाहिरका कोभिड अस्पतालमा संक्रमितहरू भुइँमा बसी उपचार गराउन बाध्य छन्। केहीले भने अस्पतालमा अक्सिजनको लेभल परीक्षण गर्दै होम आइसोलेसनमा बस्न थालेका छन्।

पोखरेलको स्टाटसमा भनेजस्तै अस्पतालमा संक्रमितका लागि बेडको अभाव र थापाले भनेजस्तो मूकदर्शक हुनुबाहेक अन्य विकल्प नरहने अवस्था आइसकेको छ।उपत्यका लगायत देशभरका अन्य जिल्लामा कोभिड संक्रमितका लागि अस्पतालमा बेड उपलब्ध हुन छोडिसकेको छ। अधिकांश अस्पतालका आइसियु र कोभिडको आइसोलेसन समेत भरिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा गरी ११ सय ८० आइसियु र ५ सय १२ भेन्टिलेटर छन्। आइसियुमा १ सय ५० भन्दा बढी र भेन्टिलेटरमा ५० भन्दा बढी उपचाररत छन्। मुलुकभर रहेका अधिकांश कोभिड अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्। सरकारले कोभिड संक्रमितका उपचारका लागि थप रणनीति नबनाए संक्रमणले जटिल रुप लिने विज्ञहरूले बताउन थालेका छन्।

'आवश्यक पूर्वाधार निर्माण गरौं'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. सागरकुमार राजभण्डारीका अनुसार अस्पतालमा संक्रमित भर्ना गरेर मात्र हुँदैन, आवश्यक पूर्वाधार पनि निर्माण गर्नुपर्छ। कोरोना कसरी नियन्त्रण गर्न सकिन्छ त्यसमा सरकारले समयमा ध्यान दिनुपर्ने उनी बताउँछन्।

लक्षित समूहलाई खोप लगाउन डा. राजभण्डारीले सुझाव दिए। खोपको आयात बढाएर सबैमाझ खोप पुर्‍याउनलाई उनले आग्रह गरे। अस्पतालमा बेड थप्ने र आइसोलेसन बनाउने प्रक्रियालाई अगाडि बढाउनु पर्ने उनले धारणा राखे।

' सबैले जनस्वास्थ्यको मापदण्डको पालना गर्नुपर्छ,' उनले भने,' धेरै मानिस आत्तिएका छन्। धेरै मानिसले अस्पतालमा बेड र आइसियु पाइँदैन होला भन्दै डराएर फोन गरिरहेका छन्।' भारतमा अक्सिजनको अभाव भएको भन्दै धेरैले डराएर फोन गरिरहेको उनको भनाइ छ। कोभिडका कारण धेरै चिन्तामा र मनोवैज्ञानिक त्रासमा रहेको उनले प्रस्ट पारे।

'लकडाउन गरी स्रोतसाधनको प्रयोग गरौं'

गत वर्षदेखि कोभिड महामारी सुरु भएपछि भेन्टिलेटर बैंकको स्थापना गरी भेन्टिलेटर अभाव भएका ठाउँमा पुर्‍याउँदै आएका डा. विशाल ढकाल भन्छन्' निजी तथा सरकारी अस्पतालले कोभिड संक्रमितको उपचारका लागि बेड थप गर्नैपर्छ।'

आइसोलेसन निर्माण गरेर परीक्षण गरी कोरोना पुष्टि भएकालाई आइसोलेट गर्न ढकाल सुझाउँछन्। दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेकाले हरेक अस्पतालले कोभिडको उपचार गर्दिन भन्न नपाउने उनले बताए।

'संक्रमण नियन्त्रण गर्न मानिसको आवागमन रोक्नुपर्छ,' ढकाल भन्छन् ,'सम्भव भएसम्म लकडाउन गरी भएका स्रोतसाधनको प्रयोग गर्ने र अक्सिजन अभाव भएमा कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसमा अहिलेदेखि सम्बन्धित निकायले ध्यान दिनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.