विश्लेषक भन्छन् : अहिलेकै अवस्थामा एक हुने सम्भावना देखिँदैन

|

काठमाडौं : सत्तारूढ नेकपा एमालेको विवाद अब करिब-करिब मिल्ने सम्भावना टर्दै गएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई ‘बाइपास’ गरेर निरन्तर अगाडि बढ्न थालेपछि एमाले एकताको सम्भावना टर्दै गएको हो। 

ओली र नेपाल समूह दुवैले आ-आफ्नो अडान नछाडेपछि एमाले विभाजनको अन्तिम कसरतमा छ। अनौपचारिक रूपमा दुवै पक्षले तल्लो तहसम्म कमिटी गठन गरेको भए पनि पार्टी विभाजनले औपचारिकता भने पाएको छैन। ओलीको एकलौटी निर्णय रोक्न माग गर्दै नेपाल समूहले सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्मको ढोका ढकढक्याइसकेको छ।  

तर, दोस्रो तहको दबाबपछि ओली र नेपालबीच बुधबार र बिहीबार बसेको वार्ताले एमाले एकताको सम्भावना करिब टर्दै गएको देखिएको छ। 

अडान कायमै

पार्टी एकताको पहल गर्नुपर्नेमा अध्यक्ष ओलीले नेपाल समूहलाई उल्टै पेलेर जाने रणनीति छाडेका छैनन्। बिहीबारको बैठकपछि 'कुराकानीमा कुनै प्रगति छैन' भन्ने प्रतिक्रिया दिएर निस्केका नेता नेपालले जनकपुर पुगेर ओली पार्टी एकताको पक्षमा नरहेको तर्क गर्न भ्याए। 

‘उहाँले धरहरा भन्दै मलाई आफ्नो दम्भ देखाउनुभयो। मैले ०७५ जेठ २ को अवस्थामा फर्काऊँ। पार्टीलाई एकताबद्ध बनाऊँ। मिलेर जाऊँ। क-कसलाई थप्नुपर्छ छलफल गरौं भनेको हुँ। केपी ओली कुनै पनि हालतमा एकताको पक्षका हुनुहुन्न। उहाँको अहंकार, दम्भ देखाइरहनुभएको छ। हामीले कुनै पनि हालतमा आन्दोलन छोड्दैनौँ। पार्टी छोड्दैनौँ। लोकतन्त्र छोड्दैनौँ। संघीयता त्याग्दैनौँ’ शुक्रबार नेता नेपालको भनाइ थियो। 

तर, ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा पार्टी एकता जोगाउन आफू लचिलो भए पनि माधव नेपाल एकताको पक्षमा नरहेको तर्क गरिरहे। 

‘यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरूले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन: विभाजित भयो। मलाई साधारण सदस्यबाट समेत हटाउनुभयो। म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराईलगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें। तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभूति देखिँदैन।’ बैठकमा अध्यक्ष ओलीको भनाइ थियो। 

वामदेवको ‘इन्ट्री’ !

शुक्रबारको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले एकलौटी निर्णय गरे। नेपाल समूहका नेताबाहेकको स्थायी कमिटी गठन बनाए। त्यति मात्रै नभएर पार्टीमा नेताहरूको जिम्मेवारीसमेत हेरफेर गरिदिए। माओवादी केन्द्र छाडेर आफ्नो कित्तामा उभिएका नेताहरू अटाएको कमिटीमा नेपाल पक्षका कोही अटाएनन्।

तर, ओलीले कामको विरोध गर्दै एमाले एकता अभियान चलाइरहेका वामदेव गौतमलाई भने कमिटीमा ल्याए। तर, उनले आफू एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष भएकाले ओलीले राखेको स्थायी कमिटीको अर्थ नहुने भन्दै आफ्नो धारणा सार्वजनिक गरे। 

बिहीबार साँझ ओलीसँग डिनर मिटिङ गरेका गौतमले नेपालसँग बिहानै टेलिफोन गरेर ओलीविरुद्ध मिलेर लडौँ भन्ने प्रस्ताव गरेको नेता नेपालले जनकपुरमा खुलाए। 
त्यहाँबाट फर्केलगत्तै नेपाल र गौतमबीच भेटवार्ता भयो। त्यसो त साबिकको नेकपाभित्रको विवादमा पनि अस्थिर बनिरहेका नेता गौतमले पछिल्लो समय एकता अभियान भन्दै तल्लो तहसम्म आफ्नो कमिटी विस्तार गरिसकेका छन्। 

यता, गौतम पनि ओलीले एकलौटी गरेको निर्णय फिर्ता गर्नुपर्ने पक्षमा छन्। पार्टीभित्रको विवादको क्रममा सबै निर्णायक भूमिकामा देखिने गौतम पछिल्लो समय कतै खुलेका छैनन्। तर, सार्वजनिक कार्यक्रममा ओलीविरुद्ध खुलेरै विरोध गर्दै आइरहेका छन्। 

नेपाल पक्षको बटमलाइन 

नेकपाको एकता भंग भएपछि ओलीसँग असन्तुष्ट रहेर एमालेमा फर्किएको नेता नेपाल समूहको बटमलाइन ०७५ जेठ २ नै छ। तर, ओलीले प्रचण्ड–माधवले आफूविरुद्ध मोर्चाबन्दी गरिरहेको बेलामा आफूलाई सहयोग गरेका माओवादी नेतालाई एमालेको केन्द्रीय कमिटीमा राखे। 

तर, नेपाल समूहले पार्टी एकताको एक मात्रै आधारको रूपमा पार्टीलाई एकता हुनुअघिकै अवस्थामा फिर्ता ल्याउनुपर्ने अडान राखेको छ। ओलीले नेपाल समूहले पार्टी फुटाएर जान खोजेको आरोप लगाइरहे पनि एमालेको उपाध्यक्षसमेत रहेका नेता भीम रावल ओलीले पार्टी फुटाउन खोजेको आरोप लगाउँछन्।  ​

उनले भने, ‘उहाँले हामीलाई पार्टी फुटाउन खोज्यो भनिराख्कअमः छ। तर, हामीले होइन उहाँले पार्टी फुटाउन खोज्दै हुनुहुन्छ। हामी कुनै पनि अवस्थामा एमाले छाड्दैनौँ।’ उनी ओलीले गरेको अवैधानिक निर्णय फिर्ता भए पार्टी एक हुने तर्क गर्छन्। 

‘उहाँले हामीलाई अलग पार्टी चलाएको आरोप लगाइराख्नुभएको छ। तर, हामीले अलग पार्टी होइन। ओलीले बालुवाटारबाट गुट चलाउँदै हुनुहुन्छ। उहाँले बालुवाटारबाट गरेको महाधिवेशन आयोजक कमिटी र स्थायी कमिटीका साथै अन्य निर्णयहरू अवैधानिक छ’ नेता रावलले भनेका छन्। 

निरन्तर एकलौटी निर्णय 

ओलीले फागुन २३ गते अदालतले पार्टी साबिकको अवस्थामा फर्काएपछि नेता नेपाल समूहबिना ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय गरिरहे। ओलीले फागुन २८ बालुवाटार बैठकमा आफ्नो पक्षका नेताहरूलाई बोलाएर माओवादीबाट आफूलाई साथ दिएका २३ नेतालाई केन्द्रीय कमिटीमा ल्याए। जुन बैठकमा माधव समूहलाई बोलाइएन। तर, माधव नेपालसँगको भेटमा ओलीले आफूले बैठकमा बोलाएको जिकिर गरिरहे। 

‘मैले तपाईंहरूलाई बैठकमा बोलाएको थिएँ। तर, तपाईंहरू आउनुभएन। तपाईंहरूको मोबाइल बिग्रेछ कि के हो भन्नुभयो। हामी सबैको मोबाइल कहिल्यै एकैपटक बिग्रन्छ? जाली कुरा पनि कति गर्न सकेको’ शुक्रबार जनकपुरमा पुगेका नेता नेपालको भनाइ थियो। 

ओलीले त्यति मात्रै नभएर नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुपाललाई  स्पष्टीकरण सोधेपछि चित्तबुझ्दो जवाफ नपाएको भन्दै ६ महिनालाई निलम्बनसमेत गरे। ओलीले २४१ को केन्द्रीय कमिटीलाई २६४ पुर्‍याएर केन्द्रीय आयोजक कमिटी रूपान्तरण गरे। अध्यक्ष र महासचिवको पद मात्रै राखेर अन्य सबै पद खारेजसमेत गरे। 

ओलीको एकलौटी बैठकले पार्टीको विधान संशोधन कार्यदल निर्माण गरेर विधान संशोधनसमेत गरे। त्यस्तै, दोस्रो चरणमा माधवसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। उनीहरूले केही सांसदबाहेकले जवाफ फर्काइसकेका छन्। 

स्पष्टीकरण सोधिएका सांसदहरूको जवाफ सफ्ट आएको निष्कर्षसहित अब कारबाही प्रक्रिया अगाडि बढाउने जिम्मेवारी शुक्रबारको बैठकले स्थायी कमिटीलाई दिइएको छ। 

‘स्पष्टीकरण सोधिएका नेताहरूको जवाफ सफ्ट आएको छ। स्थायी कमिटीले त्यसबारे निर्णय गर्छ। स्पष्टीकरण सोधिएका केही नेताहरूलाई मात्रै कारबाही हुन्छ’ एक नेताले भने, ‘आत्मालोचनासहित फर्के उहाँहरूलाई पार्टीको काम लगाउन पनि सकिन्छ।’

यस्तै, ओली समूहले इतरको स्थायी कमिटी गठन गरे छन्। भने, नेताहरूको समेत कार्यविभाजन हेरफेर गरेका छन्।

‘मिल्ने सम्भावना कमै देखिन्छ’

एमालेभित्र चर्किँदै गइरहेको विवाद मिल्ने सम्भावना कमै मात्रै देख्छन् राजनीतिक विश्लेषक हरि रोक्का। उनी भन्छन्, ‘प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय गरिराख्नुभएको छ। त्यसैले गर्दा मिल्ने सम्भावना कमै देखिन्छ। तर, राजनीति हो त्यसमा भर नहुन पनि सक्छ। दुवै पक्षले केही पछि हटे एकता नहोला भन्‍न पनि सकिन्‍न।’ एकताको लागि प्रधानमन्त्री ओलीले नै भूमिका खेल्नुपर्ने उनी बताउँछन्। 

‘माधव समूहले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरिराख्नुभएको छ। तर, ओली आफ्नो निर्णयबाट पछाडि फर्किने पक्षमा हुनुहुन्‍न’ उनी भन्छन्, ‘दुवै पक्षको यस्तै अडान रहे एकता सम्भव छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.