जाेखिम बढ्याे, बढेन डर

|

काठमाडौं : नेपालमा पछिल्लो मसय कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएसँगै मृत्यु हने संक्रमितको संख्या पनि बढ्दो छ। सरकारले कोरोनाको परीक्षण दर बढाएसँगै संक्रमितको संख्या पनि बढेको हो। पछिल्लो १० दिनमा संक्रमित र मृत्यु दर पाँच गुणाले बढेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना निको हुने दर भन्दा संक्रमण संख्या अधिक छ। १० दिनको अवधिमा १६ हजार तीन सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वैशाख २ गते पाँच सय ३४ जनालाई संक्रमण पुष्टि भएकोमा शनिबार दुई हजार ६ सय १९ मा कोरोना पुष्टि भएको छ। यस अवधिमा दुई हजार ६ सय ७६ जना मात्र संक्रमण मुक्त भएका छन्। यस अवधिमा ७६ हजार तीन सय १४ जनामा कोरोना परीक्षण गरिएको छ। 

शनिबार संक्रमण दरसँगै मृत्यु दर पनि बढेको छ। २ गते पाँच सय ३४ जनामा कोरोना पुष्टि हुँदा पाँच जनाको मृत्यु भएको थियो। शनिबार दुई हजार ६ सय १९ जनामा पुष्टि हुँदा १४ जनाको मृत्यु भएको छ। समुदायमा कोरोना फैलिसकेकाले, कन्ट्याक ट्रेसिङ र परीक्षणको दायरा बढाउन स्वास्थ्य विज्ञहरूको सुझाव छ। गत वर्षको भन्दा यो वर्ष देखिएको संक्रमणले भयावहको रुप लिन सक्ने विज्ञले चिन्ता व्यक्त गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेर बहादुर पुनले अहिले कोरोना सुरुवाती चरणमा रहेको तर समयमै सावधानी नअपनाइए स्थिती भयाभह हुन सक्ने बताए। ‘मनिसमा डर कम छ तर कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ। संक्रमणको गति यसरी नै फैलिने हो भने स्थिती सम्हाल्नै नसकिने अवस्था आउन सक्छ’ डा. पुनले भने। उपत्यका लगायत बाहिरी जिल्लाका हरेक मानिससँग आफू सम्पर्कमा रहेको भन्दै पुनले प्रत्येक परीवारका एकदेखि दुई जनालाई संक्रमण भएको बताए। ‘समुदायमा संक्रमण फैलिएको छ। परीक्षण गरी आइसोलेट हुनुपर्छ।

नेपालको पश्चिमी क्षेत्रमा बढी यूके भेरिएन्ट भाइरस फैलिएकोले अहिले सरकार र जनता दुवै सजग नभए मुलुकले नराम्रो नोक्सान व्यहोर्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन्। यसपटक गत वर्ष देखिएको भन्दा फरक भाइरस रहेकोले तिव्र रुपमा संक्रमण फैलिएको उनको भनाइ छ।

‘भारतमा देखिएको भाइरस नेपालमा प्रमाणित भइसकेको छैन’ डा. कोइरालाले भने,‘यहाँ यूकेमा देखिएको भाइरस मात्र अहिले सम्म प्रमाणित भएको छ। फैलने गति बढेको छ।’ उनले भाइरस फैलिने दर अनुसार मृत्युदर भने कम रहेको बताए। अहिले देखिएका संक्रमितको संख्या बढी भएपनि संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउन नसक्ने कोइरालाको दाबी छ। डब्बल म्युटेन्ट भाइरस कम रहेको उनको दाबी छ।

भारतमा डब्बल म्युटेन्ट भाइरस देखिएको छ। सरकारले खोप अभियानलाई निरन्तरता, परीक्षणको दायरा बढाउन, जनस्वास्थ्यमा मापदण्ड तथा अस्पतालमा बेडको संख्या बढाउने कुरालाई प्राथमिकतामा राख्न उनले सुझाव दिएका छन्। केही समय संक्रमणको दर कम हुँदा नेपालमा कोरोना हटेको जस्तो सरकारले सोचेकाले पुनः संक्रमण फैलिएको कोइरालाले बताए।

‘सरकारले संक्रमण दर घट्दा अस्पतालमा बेड निर्माणको कार्यलाई निरन्तरता दिएको भए अहिले जस्तो सङ्कटोन्मुख अवस्था हुदैन थियो’ कोइरालाले भने। संक्रमणको अवस्था थामिनसक्नु भएमा केही समयको लागि सर्वसाधारणको आवागमनलाई रोक लगाउन उनले सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.