कडा लक्षणसहितका संक्रमित फेला परेसँगै अक्सिजन माग बढ्यो

|

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिएको छ। स्थिति खराब हुँदै गएपछि सरकारले परीक्षण दायरा पनि बढाउँदै लगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भए/नभएको पत्ता लगाउने परीक्षण गर्न आवश्यक कीट खरिद प्रकृया अघि बढाएको छ।

मन्त्रालयका अनुसार हाल डेढ महिनालाई पुग्ने परीक्षण कीट छ। तर, कीट पुग्ने मात्रामा स्टक राख्ने योजना भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार हाल ४ लाख पीसीआर कीट मौज्दात छ। तीन लाख कीट खरिद गर्ने प्रकृयामा सरकार रहेको उनले बताए। 

यस्तै, हाल प्रदेश र केन्द्रमा गरी १ लाख एन्टिजेन टेष्ट कीट रहेको समेत उनले जानकारी दिए। उनका अनुसार सेभ द चिल्ड्रेनले दिएको ३५ हजार, यूएनडीपीले दिएको २२ हजार र सरकारसँग बाँकी रहेको गरी अहिले देशभर १ लाख एन्टिजेन कीट मौज्दात छ।

एक हप्ताभित्र १ लाख ५५ हजार एन्टिजेन कीट खरिद गरिने प्रकृया अघि बढाइएको र ती कीट केही दिनमै आउने ढुंगानाले जानकारी दिए। यस्तै, करिब ५ हजार व्यक्तिमा युके भेरियन्टको कोरोना संक्रमण भए/नभएको परीक्षण गर्ने पीसीआर टेष्ट कीट पनि केही दिनमा आउने उनको भनाइ छ।

हाल कोरोना उपचार तथा व्यवस्थापनमा खटिने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई आवश्यक एक लाख पीपीइ केही दिनमै आउने उनले जानकारी दिए।

नेपालमा पनि पछिल्लो समय मृत्यु हुने संक्रमितको संख्या पनि उकालो लागेको छ। पछिल्लो १० दिनमा मात्र संक्रमितको मृत्युदर पाँच गुणाले बढेको छ।

मन्त्रालयको तथ्यांकअनुसार कोरोना निको हुने दरभन्दा संक्रमण संख्या अधिक छ। १० दिन अवधिमा १६ हजार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अक्सिजनको मौज्दात पनि बढाइँदै

कडा खाले लक्षणसहितका संक्रमित बढ्दै गएपछि पछिल्लो समय नेपालमा अक्सिजन माग बढ्न थालेको छ। अक्सिजनको मौज्दात बढाउन मन्त्रालयले गृहकार्य अघि बढाएको छ।

भारतमा कडा लक्षणसहितको संक्रमण दिनदिनै बढ्दै गए भोलि यहाँ पनि त्यस्तै अवस्था आउनसक्ने अनुमानसहित सरकार अक्सिजन मौज्दात राख्ने तयारीमा जुटेको हो।

कोरोना संक्रमितलाई अक्सिजन अतिआवश्यक पर्छ। कोरोनाका बिरामीलाई लक्षित गर्दै तत्काल थप २० हजार थान सिलिन्डर ल्याउन मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ। जसका लागि मन्त्रालयले अक्सिजन उद्योगीसँग छलफलसमेत गरिसकेको छ।

अहिले दैनिक ५ देखि ६ हजार सिलिन्डरसम्म अक्सिजन ग्यास भर्ने गरिएको छ। तर, उद्योगीहरूले अहिले नै दैनिक ८ हजारसम्म सिलिण्डरसम्म उत्पादन गर्नसक्ने क्षमता रहेको बताएका छन्‌। मन्त्रालयले दैनिक १२/१५ हजार सिलिन्डरसम्म उत्पादन गर्न यसअघि नै निर्देशन दिइसकेको छ।

पछिल्लो केही दिनयता कोरोना संक्रमण ह्वात्तै बढेको छ। अघिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। सो अवधिमा ३१ सय २२ जनामा संक्रमण भेटिएको छ।

हाल नेपालमा १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन्। 

 मन्त्रालयले यही अनुसार संक्रमण बढ्दै गए अबको केही दिनमा अस्पतालमा शय्या नपाइने मन्त्रालयले जानकारी दिइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.