पाँच सय कटेपछि निषेधाज्ञा तयारी, प्रहरीले गर्दैछ निगरानी

|

चितवन : चितवनमा कोरोनाका नयाँ संक्रमित ह्वात्तै बढेका छन्। पछिल्लो तीन दिनमै यहाँ १२६ जना नयाँ संक्रमित थपिएका छन् भने जम्मा १० जना मात्रै निको भएर घर फर्किएका छन्। एक संक्रमितको मृत्यु भएको छ।

सोमबार मात्रै ७८ जना संक्रमित थपिएका छन्। हाल जिल्लामा ३९२ जना सक्रिय संक्रमित छन्, जसमध्ये ३५८ संक्रमित होम आइसोलेसनमा छन्। ३४ जना संक्रमित मात्रै अस्पतालको आइसोलेसनमा छन्।

जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० पुगेपछि निषेधाज्ञा लगाउन सिसिएमसीले सिफारिस गरेको छ। चितवनमा पनि केही दिनभित्रै संक्रमितको संख्या पाँच सय नाघ्ने देखिएको छ।

जिल्लामा होम आइसोलेसनमा बस्नेहरूबाट अन्यमा संक्रमण सर्ने जोखिम देखिएको छ। होम आइसोलेसनमा बस्नेलाई प्रहरीले निगरानी गर्ने भनिए पनि त्यो प्रभावकारी देखिएको छैन। होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी गर्न स्थानीय तहमा त्यसको संयन्त्र बनेका छैनन्।

होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई प्रहरीले निगरानी गरिरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्। ‘अहिले त उहाँहरुलाई प्रहरीले निगरानी गर्नुभएको छ। डिसिसिएमसीको निर्णय र भोलि हामीसँगको बैठकपछि संक्रमितको कन्ट्याक ट्रेसिङको काम सुरु गर्छौं’, उनले भनिन्।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले कोरोना नियन्त्रण र संक्रमितको व्यवस्थापनका विषयमा छलफल गर्दै छ। चितवन सहित विभिन्न जिल्लाका समेत गरी भरतपुर अस्पतालमा ४३ जना संक्रमित छन्। तीमध्ये लक्षण देखिएका २५ जना संक्रमित आइसोलेसन कक्षमा छन्।

एचडियूमा ९ जना र अक्सिजनको मात्रा बढी चाहिने ३ जना संक्रमित एसएसएमसी र आइसियूमा ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्। भरतपुर अस्पतालमा संक्रमितलाई राख्न १० बेडको आइसियु, २५ बेडको एचडियु र ७५ बेडको आइसोलेसन कक्ष तयार गरिएको छ। 

चितवन मेडिकल कलेज (सिएमसी)मा १७ संक्रमित छन्। आइसोलेसनमा १३ जना, आइसियूमा तीन जना र भेन्टिलेटरमा एक जना संक्रमित छन्। पुरानो मेडिकल कलेजमा एचडियुमा ८ जना, आइसियूमा दुई जना र भेन्टिलेटरमा एक जना गरी जम्मा ११ जना संक्रमित छन्। पुष्पाञ्जली अस्पतालमा दुई जना संक्रमित रहेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.