'सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सचेतनामूलक सूचना मात्र सम्प्रेषण गर्नु आवश्यक '

|

काठमाडौं : यतिबेला भारतमा कोरोनाका कारण मृत्यु भएका धेरैको शव खुला स्थानमा एकै पटक जलाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सद्वारा सम्प्रेषित उक्त तस्वीर भाइरल भएको छ।

भारतमा काेराेना संक्रमण तीव्र रुपमा फैलिएको छ। संक्रमितले उपचार नपाएको र अस्पताल बाहिर उपचार गराउन बाध्य भएका दृश्यहरु पनि सामाजिक र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती देखिन्छन्। अस्पतालमा उपचार पाउन तथा घाटमा शव जलाउन लाइन बस्नुपर्ने बाध्यता छन्।

नेपाली सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले पनि एकैदिनमा धेरै संख्यामा शव अन्त्येष्टि गरिएको उक्त तस्वीर प्रयोग गरी नेपाल सरकारलाई सचेत गराएका थिए। 'समयमा सचेत बनौँ, कोरोनालाई सामान्य नठानौँ ' जस्ता स्टाटस लेखिएका थिए।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिइरहेको छ। दैनिक संक्रमित हुनेकाे संख्या तीन हजार नाघेकाे छ भने मृत्यु हुनेकाे संख्या पनि दिनहुँ बढिरहेकाे छ। जसले गर्दा सर्वसाधारणमा त्रास पैदा भएको छ। पश्चिम नेपालको बाँके जिल्ला गत वर्षको जस्तै यसपालि पनि कोरोनाको हटस्पट बनेकाले सर्वसाधारणमा त्रास हुनु स्वभाविक हो।

संक्रमण बढेपछि अस्पतालमा बेडको अभाव भएको छ। कतिपय संक्रमितहरू सघन उपचार कक्ष (आइसियू) मा राख्नुपर्ने कोभिड अस्पतालको आकस्मिक उपचार गराउन बाध्य छन्। कोरोनाको त्रासले अस्पतालका चिकित्सकलाई सर्वसाधारण नागरिकले बेड,आइसियू पाइन्छ या पाइदैन भनेर फोन गर्न थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. सागरकुमार राजभण्डारी कोरोना लाग्नु अघि धेरै मानिसको मनमा त्रास पैदा भइसकेको बताउछन्। सामाजिक, आर्थिक रुपमा ठूलो क्षति हुन सक्ने त्रासमा आमसर्वसाधारणको मनमा डर पसेको हुन सक्ने उनकाे भनाई छ।

केही जिल्लामा कोरोना तीव्र गतिमा फैलिएकाले त्यही अवस्था आफूहरुले पनि भाेग्नु पर्छ की भनेर राजधानी उपत्यकावासी त्रसित बनेका छन्। 'कोभिड फैलिदै गएकाले धेरैलाई मनोसामाजिक परामर्शको जरुरी रहेको छ,' डा. राजभण्डारीले भने,' कोभिड संक्रमण हुँदैमा अवस्था गम्भीर भइहाल्दैन। सघन कक्षमा उपचार गराई निको भएर घर गएका उदाहरण हामीसँग प्रशस्तै छन्। बेड पाइन्छ कि पाइँदैन भनेर फोन गर्न थालेका छन्। रोग भन्दा कोभिड फोबिया अर्थात डर धेरै भइसक्यो।'

एकै परिवारका धेरै मानिसहरू संक्रमित भएकाले त्रास फैलिँदै गएको छ। संक्रमित भएपछि सरकारी अस्पतालमा बेड नपाउने र निजी अस्पतालमा धेरै खर्च हुने भएकाले धेरै मानिस डराएको हुन सक्ने राजभण्डारीले बताए छ।

नेपालगञ्जको अस्पतालमा संक्रमित भरिएर बेडको अभाव भएको उदाहरण दिँदै डा.राजभण्डारीले भने,'बाँकेमा दुई वटा मात्र कोभिड उपचार केन्द्र छन्। त्यहाँ भएको निजी अस्पतालले उपचार गरेका छैनन्। संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र नभएकाले त्यस्तो समस्या भएको हो।'  काठमाडौं तथा अन्य सहरमा सरकारी तथा निजी अस्पतालले पनि कोभिड संक्रमितका उपचार गराइरहेका छन्।'

संक्रमितको संख्या बढेर अस्पतालमा बेड नपाउने केही हदसम्म समस्या भएको उनले बताए। सरकारलाई समयमा अस्पतालमा बेडको संख्या थप्न र आइसोलेसन बनाउन उनले सुझाव दिए।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले सर्वसाधारणमा सकारात्मक र त्रास नफैलिने खालका समाचार तथा सामग्री संप्रेशण गर्न उनले सुझाव दिए। संकटमा मानिसलाई खुसी प्रवाह गर्न सक्ने साधनहरू उपलब्ध गराउन उनले आग्रह गरे।

डा. राजभण्डारीको भनाई छ,'कोरोनाको शतप्रतिशत खोप बनेको छैन। अहिले देखिएको संक्रमण तीव्र रुपमा फैलिएको र मृत्युदर बढेकाले मानिस डराएका हुन्। सम्बन्धित निकायले यस विषयमा ध्यान दिनुपर्छ।'

रोग हाम्रै वरिपरी छ, सुरक्षित बनाैं

अघिल्लो लकडाउन वा पहिलोपटक फैलिएको संक्रमणमा भन्दा यसपटक धेरै मानिसमा चिन्ता बढन सक्ने मनोविद् वासु आचार्य बताउँछन्। भारतमा धेरै संक्रमितको मृत्यु र काेराेना छिटोछिटो फैलिएका कारण यसपटक मानिसमा त्रास बढेको हुन सक्ने उनले बताए।

संकटमा मानिस डराउँछन् त्यसलाई धेरै ठूलो मान्न नहुने मनोविद् आचार्यको भनाइ छ। मरिन्छ वा केही भइहाल्छ भन्ने कुराहरु मनमा खेलेका कारण चिन्ता बढेर पनि चिकित्सकलाई फोन गरीरहेको हुन सक्ने उनले बताए।

'रोग वरिपरी आइसकेको छ। यसबाट कसरी सुरक्षित हुन सकिन्छ त्यसमा ध्यान दिनुपर्छ,' आचार्यले भने,' कोरोनालाई स्वीकार्न सक्नुपर्छ। सावधानी अपनाए लाग्दैन भनेर सोच्नुपर्छ। सुरक्षित हुने आधारभूत उपायहरुको अवलम्बन गर्नुपर्छ।'

' परीक्षण गरी आइसोलेसनमा बस्नु '

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका डा. प्रवीण नेपालले एक दिनमा करिब ३५ देखि ४० वटा सम्म फोन कल बेड छ कि छैन भनेर आउने गरेको बताए। बिरामी भएर फोन गरेको हुन सक्ने उनी बताउँछन्। कसैले पनि बिरामी नभएर वा नडराएर त्यतिकै फोन नगर्ने उनकाे बुझाई छ।

'संक्रमण दर बढ्दा मानिसमा डर पस्नु स्वभाविक हो,' डा. नेपालले भने,'परीक्षण गरेर संक्रमण पुष्टि भएमा आइसोलेट भई बसेमा निको हुन्छ।' मुख्य कुरा जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने उनको भनाइ छ। पछिल्लो समय देखिएको संक्रमण तीव्र रुपमा फैलिएको र निको हुन ढिलो भइरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.