'गत वर्ष संक्रमित भएकालाई भन्दा यसपालिकालाई बढी अक्सिजन'

|

काठमाडौं : उपत्यकाका चोक-चोकमा घर जान मानिसको भीड लाग्न थालेको देखिन्छ। यसको एउटै कारण हो, सरकारले जारी गरेको निषेधाज्ञाको डर।

संक्रमण दर छिटो-छिटो फैलिएपछि सहरमा बस्नेलाई समेत यसको डर हुन थालेको छ। राजधानीमै कोरोना संक्रमणको भयावह अवस्था आउन थालेपछि सरकारले निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ। जसका कारण उपत्यकाबासीमा त्यसपछि हुने अभावबाट जोगिन दुई दिनको समय दिएर 'लकडाउन' गर्ने निर्णय गरेको हो। 

निषेधाज्ञा र संक्रमणको डरले उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ। सरकारले गाउँ प्रवेश मात्रको अवसर दिएको छैन, रोग र भोक दुवैलाई एकसाथ अवसर दिएको छ।

कोभिड-१९ तीव्र रुपमा फैलिएपछि वैशाख १६ गतेबाट उपत्यकाका तीनै वटा जिल्लामा कडाइका साथ निषेधाज्ञा लागु गर्दैछ। तीन वटै जिल्ला प्रशासन कार्यालय र मन्त्रिपरिषद बैठकले गरी दुई साताका लागि निषेधाज्ञा गरेको हो।

कोरोना संक्रमण बढेपछि सिसिएमसीले लकडाउन तथा अन्य विभिन्न गतिविधि नियन्त्रण गर्न सिफारिस गरेको थियो।

पछिल्लो समय मुलुकभर संक्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालमा संक्रमितले बेड पाउन छाडेका छन्। कतिपय संक्रमित अस्पताल परिसरमा बसी उपचार गराउन बाध्य छन्। यहीँ समयमा सहरमा बसेर काम गरी खानेहरू कोरोनाबाट सुरक्षित हुन गाउँतर्फ प्रस्थान गरेका छन्।

सहरको तुलनामा गाउँमा संक्रमितको संख्या कम रहेको छ। नागरिकलाई सहर छोड्ने अवसर दिँदैमा कोरोना नियन्त्रण हुन सक्दैन। कोभिड नियन्त्रणका लागि कार्य नीति तथा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने अवस्थासमेत आएको छ।

नागरिकलाई घर नपठाउन, जहाँ बसेका छन त्यहीँ सुरक्षित स्थानमा राख्न र आवश्यक उपचार तथा नियन्त्रण गर्न प्रभावकारी ठोस योजना ल्याउन सरकारसँग विज्ञहरूले माग गरेका छन्।

'मानिस गाउँ जाँदैमा कोरोना नियन्त्रण हुँदैन'

जनस्वास्थ्य विद डा. समीरमणि दीक्षितका अनुसार गत वर्षकै महामारीले पनि सरकारले केही सिक्नुपर्थ्यो। अस्पतालमा बेडको अभाव छ त्यसको कसरी परिपूर्ति गर्न सकिन्छ त्यसमा सरकारले ध्यान दिनुपर्नेमा उनले सुझाव दिए।

'उपत्यका छोड्नु नागरिकको रहर होइन, सामाजिक, आर्थिक र विभिन्न कारण छन, 'उनले भने, 'दुई साताका लागि लकडाउन भनेकाले काम गर्न पाउँदैनन्। आर्थिक अभाव हुन्छ बरु गाउँमा सुरक्षित हुने आशामा उनीहरू गइरहेका छन्।'

छिटोछिटो संक्रमण फैलँदा उपत्यकामा रहेका मानिसलाई गाउँ पठाइरहेको पनि उनले बताए। काठमाडौंमा गत वर्ष पनि अहिलेजस्तै महामारी रहेको उनको भनाइ छ। तर सबैलाई गाउँ पठाएर कोरोना नियन्त्रण नहुने उनको दाबी छ। त्यसका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन उनले सुझाव दिए। उनले भने, 'सबै नागरिक महामारीमा आफै सचेत हुनुपर्छ।'

सरकारले ७ दिन लकडाउन गरेर र पुनः खोल्दै सर्वसाधारणको जनजीवन सहज बनाउनुपर्ने दीक्षितले धारणा राखे। सदाका लागि लकडाउन गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने उनको धारणा छ।

गत वर्षभन्दा यसपटक कोरोना महामारीमा केही कुराले फरक छ। लकडाउन, कोभिड, मृत्यु र संक्रमित संख्या पनि उस्तै छ। गत वर्ष भने संक्रमितलाई अक्सिजन दिनुपरेको थिएन, तर यसपटक अक्सिजनको माग धेरै भइसकेको उनले बताए। सरकारले विगतबाट सिकेन, तर कोरोनाको आगतलाई स्वागत गरेको उनको भनाइ छ।

'भारतीय उडान बन्द गरी नाकामा कडाइ हुनुपर्छ'

उपत्यका छोडेर गाउँ गएकाहरूले सामान्य सावधानी नअपनाए गाउँ पुनः संक्रमणको केन्द्रबिन्दु बन्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बासुदेव पाण्डे बताउँछन्। उनका अनुसार गाउँमा टाढाटाढा घर हुन्छ हिँडडुल नगरे समस्या हुँदैन। गाउँमा गएर पनि ज्येष्ठ नागरिकलाई भेटघाट गर्न थाले भने संक्रमण फैलने उनले बताए। 

दोस्रो चरणको भाइरस फैलन सक्ने सम्भावना हुँदाहुँदै पनि सरकारले बेवास्ता गरेको पाण्डेको बुझाइ छ। भारतको उदाहरण दिँदै उनले भने, 'भारतमा संक्रमण फैलिएपछि नाकामा कडाइ गरिनुपर्थ्यो,' उनले थपे, 'बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखेर परीक्षण गरी आइसोलेट गरिनुपर्थ्यो।'

लुकीछिपी प्रवेश गरेका नागरिकलाई निगरानी गर्नुपर्ने भन्दै त्यसो नगरेकोमा सरकारप्रति उनले आक्रोश पोखे। 

पाण्डेले भारतबाट भइरहेको उडानलाई रोक्न नसक्दा संक्रमण फैलिएको बताए। कोरोना नियन्त्रण गर्न सरकारको तर्फबाट भएका कार्यादेशलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। नयाँ भाइरस भएकाले समयमा रोकथाम तथा नियन्त्रण गर्न सरकार गम्भीर नभएको उनले सुनाए।

'जनस्वास्थ्यको मापदण्ड पालना गरौ '

मानिसहरूको गाउँमा भीड बढ्दा कोरोना फैलने त्रास बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. सागर कुमार राजभण्डारी बताउँछन्।

उनले भने, 'गाउँमा गए पनि जोखिम उमेर समूहका मानिसदेखि टाढा बस्नुपर्छ। जनस्वास्थ्यका मापदण्ड पालना गरी मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। खोप लगाउने संक्रमण भए पनि जोखिम कम हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.