|

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नयाँ टी–२० ब्याटिङ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले छलाङ मारेका छन्। उनको टी–२० वरीयता निकै सुधार भएको छ।

घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको वरीयतामा उल्लेखीय सुधार भएको हो। शनिबार सम्पन्न मलेसिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी–२० सिरिजमा उनी सर्वाधिक रनकर्ता बनेका थिए।

उनले पाँच म्याचमा २ सय ७८ रन बनाए। सिरिजमा क्रमशः ६२, अविजित ६१, ६२, १६ र ७७ रनको उत्कृष्ट पारी खेल्दै नेपाललाई सिरिज जिताउन कुशलको भूमिका अहम् रह्यो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सार्वजनिक गरेको टी–२० क्रिकेटको ब्याटिङ वरियतामा कुशल ६१औँ स्थानमा उक्लिएका छन्। उनले ३२ स्थान सुधार गर्दै ६१औँ स्थानमा उक्लिएका हुन्। उनको रेटिङ ४ सय ४२ रहेको छ। उनी यसअघि ९३औं स्थानमा रहेका थिए।

टी–२० सिरिजका पाँच खेलमा कुशलले ४ अर्धशतक बनाएका थिए। कुशलको यो डेब्यु सिरिज थियो। डेब्यू सिरिजमै लगातार तीन टी–२० अन्तराष्ट्रियमा खेलमा अर्धशतक बनाउने कुशल विश्वकै पहिलो ब्याट्सम्यानसमेत हुन्।

नयाँ वरीयतामा नेपालका पूर्व-कप्तान पारस खड्काको वरीयता भने घटेको छ। पारस ८८औं स्थानमा रहेका छन्। त्यस्तै, नयाँ वरीयतामा नेपाली टिम कप्तान ज्ञानेन्द्र मल्ल पनि टप–१०० भित्र समावेश भएका छन्। उनी नयाँ वरियताको ९४औँ स्थानमा छन्।

टी–२० वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान कायमै छन्। वरियताको दोस्रो स्थानमा अष्ट्रेलियाका आरोन फिन्च रहेका छन्। पाकिस्तान टिमका कप्तान बाबर आजमलाई पछि पार्दै फिन्च दोस्रो स्थानमा उक्लिएका हुन्। बाबर तेस्रो स्थानमा झरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.