|

भक्तपुर : भक्तपुरमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि यहाँका स्थानीय तहहरूले गत साल बनाएका आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याउन थालेका छन्‌।

​जिल्लाको मध्यपुर थिमि, चाँगुनारायण र भक्तपुर नगरपालिकाले आइसोलेसन केन्द्र पुन: सञ्चालनमा ल्याइसकेका छन्‌। नगरपालिकाहरूले आइसोलेसन वार्डका साथै जटिल र गम्भीर प्रकृतिका बिरामीहरूका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) समेत सञ्चालनमा ल्याएका हुन्‌।

​मध्यपुर थिमि नगरपालिकाले वडा नं. ९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। त्यस्तै, १४ शय्याको एचडीयू समेत सञ्चालनमा ल्याएको छ।

यसअघि कोरोनाको पहिलो लहरको महामारीका बेला नगरपालिकाले सोही स्थानमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरेको थियो । सो केन्द्रले गत वर्ष कोरोना संक्रमितलाई आइसोलेट गरी नगरमा कोरोना नियन्त्रण र संक्रमितको उपचारमा उल्लेख्य कार्य गरेको थियो।

यसपटक कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा कडा र बढी संक्रामक भएको तथा जटिल तथा गम्भीर प्रकृतिका बिरामीको संख्या बढेकाले आइसोलेसन केन्द्रमा शय्याको संख्या पहिलेको तुलनामा वृद्धि गरेको र एचडीयू समेत सञ्चालनमा ल्याएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। ‘७० शय्याको आइसोलेसन केन्द्रसहित १४ शय्याको एचडीयू समेत सञ्चालन गरेका छौं,’ उनले भने। 

नगरपालिकाले ७ वटा भेन्टिलेटरसहित ९ शय्याको आइसीयु समेत सञ्चालन गरेको छ। जटिल प्रकृतिका बिरामीका लागि अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी भएको नगरप्रमुख श्रेष्ठले बताए। त्यसका लागि नगरपालिकाले बजेट समेत निकासा गरिसकेको उनले जानकारी दिए। नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सञ्चालन गरिरहेको छ। सो अस्पतालमा पीसीआर ल्याब समेत सञ्चालन गरिरहेको छ। 

त्यसैगरी, चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा एक सय शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। घरमा बस्न सक्ने वातावरण नभएका कोरोना संक्रमितहरूका लागि विशेष प्राथमिकताका साथ आइसोलेसन केन्द्र सञ्चालन गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

उनले जटिल प्रकृतिका संक्रमितलाई भने अस्पतालमा रिफर गरी पठाउने व्यवस्था गरिएको बताए। आइसोलेसन केन्द्रमा रहेका संक्रमितलाई सामान्य औषधी उपलब्ध गराउनुका साथै स्वास्थ्यकर्मीको सेवा समेत प्रदान गरिने उनले बताए।

भक्तपुर नगरपालिकाले पनि वडा नं. ९ ब्रम्हायणीस्थित आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याएको छ। नगरभित्र कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेसँगै नगरबासीलाई आइसोलेसनमा राखी उपचार गर्न र कोरोना संक्रमण नियन्त्रणका लागि आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिकाले २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको छ।

भक्तपुर नगरपालिकाको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी)ले विश्वव्यापी रुपमा नयाँ भेरियन्टसहित कोभिड–१९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा कोभिड संक्रमण रोकथामको लागि नगरभित्र क्रियाशील राजनैतिक दलहरू, विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक संगठनहरू, टीम/क्लब, पुस्तकालय, सहकारी तथा वित्तीय संस्थालगायत सरोकारवाला सबैमा जनचेतनामूलक गतिविधि गरी सहयोग गर्न आह्वान गरेको छ। 

सीएमसीको बुधवार सम्पन्न बैठकले नगरभित्र रहेका सबै पार्टी प्यालेसहरू, संग्रहालय, सिनेमा हल, प्रशिक्षण केन्द्रहरू, जिमखाना, मनोरञ्जन स्थलहरूलगायत बन्द गर्ने र कुनै पनि किसिमको भिडभाड हुने भोजभतेर, चाड, पर्व वा मेला नगर्न तथा विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र र यस्ता कार्यमा १५ जनाभन्दा बढी सहभागिता नहुने गरी कार्य सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरूमा आग्रह गर्ने निर्णय पनि गरेको छ। 

बैठकले कोभिड संक्रमणबाट जनतालाई सुरक्षित गर्न प्रत्येक नागरिक घरबाट बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न माइकिङ लगायत सञ्चारमाध्यमबाट सम्पूर्ण नागरिकहरूलाई आग्रह गर्ने निर्णय गरेको छ। 

यसैगरी, भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्य केन्द्रबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउनेको संख्या १७ हजार ७०८ जना पुगेको छ। दोस्रो डोज लगाउनेको संख्या ७०१ जना रहेको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.