'अक्सिजन नपाइने त्रासमा ग्राहकले आफैं राख्न थाले सिलिण्डर'

|

काठमाडौं : गत वर्ष भन्दा यसपटक देखिएका संक्रमितलाई इमर्जेन्सीमा भर्ना भएदेखि अक्सिजन दिनुपरेको देशभरका विभिन्न कोभिड अस्पताल चिकित्सकहरूले बताउन थालेका छन्।

पछिल्लो समय भारत लगायत अन्य मुलुकमा नयाँ भेरियन्ट भाइरस देखिएपछि संक्रमण छिटो फैलन थालेको छ। यूके भेरियन्ट भाइरस पनि नेपालमा पुष्टि भइसकेको छ। नयाँ भाइरस तीव्र रुपमा फैलिएपछि संक्रमितहरू गम्भीर हुन थालेका छन्।

अस्पतालमा भर्ना भएका संक्रमितहरूलाई अक्सिजन दिनुपर्ने र निको हुने समय पनि ढिलो रहेको छ। भाइरस परिवर्तन भएकाले संक्रमितमा अक्सिजनको कमी, निमोनिया र खोकी अत्यधिक लाग्ने गरेको छ।  

बूढानीलकण्ठ नगरपालिका रमण सिंह (परिवर्तन नाम ) बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको इमर्जेन्सीमा भर्ना भए। त्यहाँ भएका चिकित्सकले शरीरमा अक्सिजनको र ब्लड प्रेसर जाँच गरे। उनको शरीरमा अक्सिजन कमी भएकाले इमर्जेन्सीबाट अक्सिजन दिन थालियो।

अहिले दिनप्रतिदिन देखिएका नयाँ संक्रमितहरूमा अक्सिजन कमी भइ अस्पताल भर्ना हुने क्रम बढीरहेको छ। इमर्जेन्सीमा भर्ना भएका रमणको पनि अक्सिजन कमी भएको थियो।

देशभरका कोभिड अस्पतालमा भर्ना भएका संक्रमितहरु लक्षण सहित भर्ना भएपनि उनीहरुको मुख्य समस्या अक्सिजनको कमी हुने गरेको देशभर रहेका कोभिड अस्पतालले जनाएका छन्।

बाँकेको भेरी अस्पतालमा पनि इमर्जेन्सीमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन दिएर राखिएको छ। पूर्णरुपमा शरीरमा अक्सिजनको कमी भएर संक्रमित आउने गरेको अस्पतालले जनाएको छ।

मोरङ विराटनगरस्थित कोशी कोभिड अस्पतालमा इमर्जेन्सीदेखि आइसोलेसनमा राखिएका संक्रमितहरूमा सबैमा अक्सिजनको कमी देखिएको छ।

नयाँ भर्ना भएका सबै संक्रमितमा अक्सिजन कमी र पुरै शरीर कमजोर भइ आइसियूमा राख्नुपर्ने संक्रमित आउन थालेको अस्पतालका मेसु डा. चुमनलाल दास बताउँछन्।

'आइसोलेसनमा भर्ना भएको केही दिनमा नै छिटो-छिटो आइसियूमा लानु परिहेको छ,' उनले भने,'आइसियू पनि सबै भरिभराउ छन्। विगतमा देखिएका संक्रमितमा भन्दा अहिले देखिएका संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।'

'रेमडिसिभर र प्लाज्मा थेरापीले पनि काम गरेन'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. सागर कुमार राजभण्डारीका अनुसार ५-६ महिना अगाडि भर्ना हुने संक्रमित भन्दा अहिले देखिएका संक्रमितको स्वास्थ्य अवस्था गम्भीर हुने गरेको छ। रेमडिसिभर, प्लाज्मा थेरापी र अक्सिजन थेरापीले पनि काम गर्न छाडेको उनले बताए।

'निमोनिया हुने भएका कारण संक्रमितमा अक्सिजनको कमी भइरहेको छ,' डा. राजभण्डारीले भने,'  धेरैको मृत्यु निमोनियाकै कारण र फोक्सोको ड्यामेज भएर भएको छ।'

उनका अनुसार युवा उमेरकालाई बढी मात्रामा अक्सिजन दिएर राख्नुपरेको छ। विगतमा वृद्धहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि मात्र अक्सिजन दिने गरिएको उनले जानकारी दिए।

राजभण्डारीले अस्पतालको टयांकीमा राखिएको अक्सिजन ३ महिना सम्म पुग्थ्यो, अहिले भने १५ दिनमै सकिने गरेको बताए। संक्रमितको अवस्था अनुसार अक्सिजनको खपत भइरहेको उनले जानकारी दिए।

कतिपय संक्रमितलाई २ देखि ४ लिटर पनि जरुरी हुने गरेको उनले बताए। धेरैलाई ६० लिटर पनि दिइ राख्नुपरेको उनले सुनाए। बाहिर दिएका अक्सिजनले काम नगर्ने भएमा भेन्टिलेटरमा राखी उपचार गर्ने गरिएको उनी बताउँछन्।

'यसपटकका संक्रमितमा अक्सिजनको जरुरी'

जनस्वास्थ्यविद् डा. समीर दीक्षितले पनि भाइरसले स्वरुप परिवर्तन गरेका कारण संक्रमितको स्वास्थ्य अवस्था चाँडै गम्भीर हुन थालेको बताए। उनले भने,'गत वर्ष देखिएको भाइरस कमजोर भएर होला अक्सिजनको धेरै कुराहरु सुनिएको थिएन। यसपटक अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजनको जरुरी रहेको छ।'

संक्रमण फैलने क्रम तीव्र रहेको दीक्षितको भनाइ छ। संक्रमणदर र मृत्युदर बढ्नुले अहिले देखिएको भाइरसले अझ बढी भयावह बनाउन सक्ने उनले आशंका व्यक्त गरे। 'कोरोना नियन्त्रणको मुख्य उपाय मास्क लगाउने र खोप लगाउने हो,'दीक्षित भन्छन्,'मास्कको उचित ढंगले प्रयोग गरेमा र सरकारले जतिसक्दो खोपलाई प्राथमिकतामा राखेर आयात गर्न सकेमा अझैं पनि कोरोना नियन्त्रण गर्न सकिन्छ।'

डा. दीक्षितले पछिल्लो समय देखिएका भाइरसहरु छिटोछिटो सर्ने भएकाले सावधानी अपनाउनु देखि बाहेक अन्य विकल्प नरहेको बताए। उनले सामाजिक दूरी कायम गर्न असम्भव भए पनि सबैलाई मास्क लगाउन आग्रह गरेका छन्।

'अक्सिजनको उत्पादन गरिरहेका छौ'

हिमाल अक्सिजन ग्यासका निर्देशक अभिक ज्योतिका अनुसार मुलुकभर २५ वटा अक्सिजन ग्यास उद्योग छन्। काठमाडौंमा मात्र ९ वटा उद्योग रहेका छन्। भारतीय सञ्चार माध्यममा अक्सिजनको अभाव भएको समाचार बाहिर आएपछि नेपाली जनतामा केही त्रास फैलिएको हुन सक्ने उनको दाबी छ।

'देशभरका उद्योगले प्रतिघण्टा २ हजार भन्दा बढी क्युविक मिटर अक्सिजन उत्पादन गरिरहेको छन्,'ज्योतीले भने,' दैनिक हिमाल अक्सिजन कम्पनीले १४ हजार बढी क्युविक उत्पादन गरिरहेको छ।' नेपालमा कुनै पनि हालतमा अक्सिजनको अभाव नहुने उनले प्रस्ट पारे।

भारतमा अभाव भएको हल्लाले नेपाली ग्राहकले साना खालका सिलिन्डर खरिद गरेर राखेकाले अभाव हुन सक्ने ज्योतीले बताए। अनावश्यक सिलिन्डर खरिद नगर्न उनले आग्रह गरे।

कम्पनीको क्षमता अनुसार ५० देखि ६० प्रतिशत अक्सिजन उत्पादन भइरहेको उनले जानकारी दिए। उनले भने,' उद्योग र अस्पताललाई अक्सिजन प्रदान गर्दै आएका थियौ। अक्सिजन वितरणको पहिलो प्राथमिकतामा मेडिकल क्षेत्रलाई राखिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.